एसिड पीडितलाई ११ वर्षपछि क्षतिपूर्ति


हेटौंडा ।

नेपालकी सम्भवतः पहिलो एसिड पीडितलाई अदालतको आदेशबमोजिम क्षतिपूर्ति उपलब्ध गराइने भएको छ। नेपाल सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की मकवानपुरे संघीय सांसद एसिड पीडित बिन्दवासिनी कंसाकारलाई भदौ १३ गतेको मन्त्रिपरिषद् बैठकले क्षतिपूर्ति रकम उपलब्ध गराउने निर्णय गरेको हो।

कंसाकारको उपचारमा खर्च भएको रकममध्ये फैसलाबमोजिम ‘मनासिब क्षतिपूर्ति’ रकम उपलब्ध गराउने र उक्त रकम प्रतिवादीबाट असुल गरी पीडित राहतकोषमा शोधभर्नाको व्यवस्था मिलाउने निर्णय गरिएको छ । उहाँको मुद्दामा जिल्ला अदालत मकवानपुरले फैसला सुनाएको थियो । जिल्ला अदालतले देशमै चर्चित उक्त मुद्दाका पीडकबाट १ करोड १४ लाख ८५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको थियो । साथै, पीडकलाई ज्यान मार्ने उद्योगअन्तर्गत ८ वर्ष कैद सजाय पनि तोकिएको थियो।

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै उहाँमाथि एसिड प्रहार गर्ने भारतको अमरापूर्वन–६ का राज भनिने दिलीपराज केशरीलाई दोषी ठहर गर्दै अदालतले उक्त क्षतिपूर्ति तोकेको थियो। तर, फैसला भएको लामो समय बितिसक्दा पनि उहाँले क्षतिपूर्ति रकम पाउन सक्नुभएको थिएन।

एसिड आक्रमणको मतियारका रूपमा आरोपी सञ्जयकुमार मण्डललाई २ वर्ष ६ महिना कैद र ४० हजार रुपियाँ जरिवानाको फैसला गरिएको छ । प्रतिवादी भारतीय नागरिक भएका कारण उनको नामको सम्पत्ति नेपालमा नरहेकाले सरकारले पीडितलाई राहतकोषबाट रकम उपलब्ध गराउनुपर्ने अदालतको भनाइ छ।

जिल्ला अदालतले ‘यो रकम सके अपराधीबाट भराउनू, उसले तिर्न नसके नेपाल सरकारले उपलब्ध गराउनू’ भनेर आदेश दिएको थियो’, कंसाकार भन्नुहुन्छ– ‘उपचारमा कति खर्च भयो–भयो, हिसाबकिताब छैन ।’ एसिड आक्रमणका कारण घाइते कंसाकारको हालसम्म करिब १ करोड १५ लाख खर्च भएको बताइएको छ । उहाँको उपचार जारी छ ।

एसिड प्रहार गरेर फरार केशरीलाई प्रहरीले बाराबाट पक्राउ गरेको थियो। उनी रेडकर्नर नोटिसमा परेका अभियुक्त थिए। प्रहरीले केशरीलाई बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ भलोहीमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो। बाराबाट पक्राउ गरेलगत्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरका ल्याइएको थियो।

२०७० वैशाख ९ गते बिहान करिब ११ बजे हेटौंडा–३ मा रहेको आफ्नै भाँडा पसलमा २१ वर्षकी कंसाकारलाई एसिड प्रहार भएको थियो । करिब २७ वर्षका केशरी उहाँको अनुहारमा एसिड फ्याँकेर फरार भएका थिए।

समानुपातिकतर्फ जनजाति महिलाको सूचीमा रहेकी उहाँ तत्कालीन सांसद ढाकाकुमार श्रेष्ठ कारबाहीमा परेपछि संसद्मा अटाउनुभएको हो।