गृहको संवेदनशीलतामाथि किन खेलवाड ?

गृह प्रशासन सुस्त, झन्डै दुई दर्जन अधिकारीहरू जगेडामा बस्न बाध्य



–सहसचिवहरूको आत्मबल घट्दै
–तीन जिल्ला लामो समयदेखि सीडीओविहीन
–गृह मन्त्रालयका विभिन्न ५१ वटा महत्वपूर्ण जिम्मेवारी

काठमाडौं ।

सरकारले गृह मन्त्रालयको संवेदनशीलतामाथि खेलवाड गरेको छ। गृहमन्त्री रमेश लेखकमाथि मन्त्रालयको संवेदनशीलतालाई आत्मसात् गरी अगाडि बढ्न नसक्दा पछिल्ला केही दिनदेखि गृह मन्त्रालय निकै सुस्त र आलोचित बन्न पुगेको आरोप लागेको छ।

गृहसचिव एकनारायण अर्याललाई सरकारले गत १३ भदौमा मुख्य सचिव बनाउने निर्णय गरेसँगै गृह मन्त्रालय सचिवविहीन हँुदै आएको छ । गृह सचिव अर्याललाई १५ भदौदेखि लागू हुने गरी मुख्य सचिव बनाइएको र उहाँको बिदाइ १४ भदौमा भएकाले सोही दिनदेखि नै गृहसचिव पद रिक्त हुँदै आएको हो।

गृह मन्त्रालय अत्यन्तै संवेदनशील निकायका रूपमा रहँदै आएको छ । मुलुकको समग्र शान्तिसुरक्षा तथा आन्तरिक सुरक्षा अवस्थालाई सुदृढ गर्ने, अपराध रोकथाम तथा नियन्त्रण गर्न मन्त्रालयका अधिकारीहरू २४ सै घण्टा खट्नुपर्ने हुन्छ। त्यसमा पनि अहिले बाढीपहिरोको सिजन भएको र जुनसुकै बेला पनि राष्ट्रिय विपत्ति आउने भएकाले गृह प्रशासन हरेक समय ‘स्ट्यान्डबाइ’ बस्नुपर्ने हुन्छ। तर, गृहसचिव नै नभएपछि यतिखेर समग्र गृहप्रशासन निकै सुस्त बन्न पुगेको अधिकारीहरूको भनाइ छ। सरकारले छिटोभन्दा छिटो गृहसचिव नियुक्त गरी गृह प्रशासनलाई चुस्त बनाउनुपर्ने सुझाव अधिकारीहरूको छ।

गृहमन्त्री रमेश लेखकले गृह प्रशासनमा अत्यन्तै महत्वपूर्ण भूमिकामा रहने कर्मचारीहरूको उचित व्यवस्थापन गर्न नसक्दा गृह प्रशासन कमजोर बन्दै गइरहेको गृहकै केही कर्मचारीहरूको दुखेसो छ। अझै तीन जिल्ला अर्घाखाँची, सिन्धुली र सिन्धुपाल्चोक लामो समयदेखि प्रमुख जिल्ला अधिकारीविहीन हुँदै आएका छन्। मन्त्री लेखक ती जिल्लामा समयमा नै प्रमुख जिल्ला अधिकारी पठाउनसमेत असफल हुँदै आउनुभएको छ।

गृहमन्त्रीले नयाँ सचिव ल्याउनसमेत पहलकदमी लिन सक्नुभएको छैन भने सहसचिव र उपसचिव गरी झन्डै २ दर्जन उच्च अधिकारीहरूलाई समेत उचित जिम्मेवारी दिन सक्नुभएको छैन । अहिले गृह मन्त्रालयमा जिम्मेवारी पाउन नसक्दा सहसचिव र उपसचिव गरी झण्डै दुई दर्जन अधिकारीहरू मन्त्रालय आउने र कामै गर्न नपाई त्यसै हाजिर गरेर फर्कन विवश बनेका छन् । नयाँ जोश जाँगर लिएर गृह प्रशासनमा छिरेका उनीहरू लामो समयदेखि कामविहीन हुन बाध्य हुँदा उनीहरूको आत्मबलसमेत दिनानुदिन खस्किँदै जान थालेको बताइएको छ ।

नेपाल सरकार कार्यविभाजन नियमावली २०७४ का अनुसार अन्य मन्त्रालयको कार्यविभाजनमा नपरेका विषयसमेत हेर्ने गरी गृह मन्त्रालयका विभिन्न ५१ वटा महत्वपूर्ण जिम्मेवारी रहेका छन्। सो जिम्मेवारीअनुसार गृह प्रशासन सञ्चालन हुन सकेको छैन। सरकारले केही दिनअघि ठूलो संख्यामा सहसचिवहरूको सरुवा गर्दा चार जना सहसचिवलाई गृह मन्त्रालयमा ल्याएको थियो। गृह मन्त्रालयमा आउने चार जना सहसचिवमा रमेश ढकाल, डा. टोकराज पाण्डे, कृष्णप्रसाद लम्साल, ऋषिराम तिवारी रहनुभएको छ । त्यसअघि गृहमा आएका लालबाबु कवारीलगायतका अन्य केही सहसचिवहरू पनि हाजिर गर्दै फर्कने गरेका छन्।

उहाँहरू सँगै सरुवा भएर अन्य मन्त्रालय तथा निकायमा पुगेका सबैजसो सहसचिवहरूले जिम्मेवारी पाइसक्दा समेत गृह मन्त्रालयमा आएका उनीहरूले भने हालसम्म कुनै जिम्मेवारी पाउन नसक्नुले गृहमन्त्री निर्णय क्षमतामा कमजोर र सुस्त रहेको सन्देश गएको बताइएको छ।

‘गृह प्रशासन त झन् अरू मन्त्रालय भन्दा झनै चुस्त र गतिशील हुनुपर्ने हो उल्टै सुस्त देखिनु र दर्जनौं उच्च अधिकारीरुलाई जगेडामा राख्नुले गृह प्रशासन कमजोर भएको सन्देश गएको छ, जुन दुःखद् हो’ –गृह मन्त्रालयकै एक अधिकारीले नेपाल समाचारपत्रसँग भने ।

यद्यपि, गृहमन्त्री निकट स्रोतले भने गृहमन्त्री लेखकले अत्यन्तै सुझबुझका साथ गृह प्रशासन व्यवस्थापन गरिरहनुभएकाले केही ढिलाइ भएको दाबी गरेको छ । ‘अब छिटै व्यवस्थापन हुन्छ, केही जिल्लामा सीडीओहरू हेरफेरसमेत गर्नुपर्ने भएकाले एकैपटक गर्नका लागि आन्तरिक तयारी भएको हो, सहसचिवहरूको व्यवस्थापन र सीडीओको हेरफेर एकैचोटि हुन्छ, अब छिटै निकास आउला’ –गृहमन्त्रीनिकट स्रोतले नेपाल समाचारपत्रसँग भन्यो ।

गृह सचिव बन्न आधा दर्जन सचिव हानथापमा

गृह सचिव एकनारायण अर्याललेको मुख्य सचिवमा बढुवा भएसँगै रिक्त रहेको गृह सचिव नियुक्ति निकै पेचिलो र सकसपूर्ण देखिएको छ। मुख्य सचिवपछि सबैभन्दा आकर्षक र शक्तिशाली मानिएकाले पनि गृह सचिव बन्न धेरै सचिवहरूको रुचि रहने गर्छ । शक्ति र सत्तासँग अत्यधिक निकट हुन पाइने र ‘पावर एक्सरसाइज’ गर्न पाइने हुँदा पनि गृह सचिव बन्न धेरै सचिवहरूको हानथाप देखिएको छ ।

स्रोतका अनुसार गृहसचिव आफ्नो पोल्टामा पार्न शक्ति केन्द्रकहाँ दौडने क्रम शुरू भएको छ । जसअनुसार आधा दर्जन बढी सचिवहरू दौडधूप गरिरहेको पाइएको छ। गृहसचिव बन्न सचिवहरू विनोदप्रकाश सिंह, कृष्णहरि पुष्कर, हरि मैनाली, नारायणप्रसाद शर्मा दुवाडी, अर्जुन पोखरेल, गोकर्णमणि दुवाडी, मुकुन्द निरौलालगायतका सचिवहरू दौडधूपमा लागिरहेको बताइएको छ।

यिनैमध्येबाट एकले गृहसचिवको बाजी मार्ने निश्चित रहेको बताइएको छ। सम्भवतः आगामी मन्त्रिपरिषद् बैठकले नयाँ गृहसचिव नियुक्त गर्ने छ। त्यसैले पनि प्रतिस्पर्धामा रहेका सचिवहरूले शक्ति केन्द्रकहाँ धाउने क्रमलाई तीव्रता दिएका छन्।