केन्द्रीय जेलमा कैदी र थुनुवा गरी १६०० बिरामी

क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी



काठमाडौं ।

नेपालकै सबैभन्दा पुरानो र ठूलो जेलको रूपमा रहेको जगन्नाथ देवलमा रहेका थुनुवा र कैदी गरी १६ सय जना एकैपटक बिरामी परेका छन् ।

सो जेलमा क्षमताभन्दा दोब्बर बढी कैदी र थुनुवा रहेका छन् । जेलमा रहेका कैदी र थुनुवा गरी ३ हजार ७ सय ५४ जनामध्ये एकैपटक १६ सय जना बिरामी परेको जेल प्रशासन स्रोतले जानकारी दिएको छ । जेल प्रशासनका अनुसार सो जेलको जम्मा क्षमता भने १५ सय जनाको मात्रै रहेको छ । तर, अहिले जेलमा क्षमताभन्दा दोब्बर बढी कैदीहरू राख्नुपरेको जेलका प्रमुख जेलर कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो । ‘क्षमताभन्दा बढी कैदीहरू राख्नुपरेकाले व्यवस्थापनमा समस्या पर्नु स्वाभाविक हो, विभिन्न समस्याका बाबजुद जेनतेन व्यवस्थापन गरिरहेका छौं’ –जेलर कटुवालले नेपाल समाचारपत्रसँग भन्नुभयो।

जेलर कटुवालका अनुसार सबैभन्दा बढी समस्या बिरामीहरूको उपचार र व्यवस्थापनमा पर्ने गरेको छ । अहिले कैदी र थुनुवा गरी १६ सय जना विभिन्न रोगका कारण बिरामी भएकाले उनीहरूको उपचारमा समस्या परिरहेको कटुवालले बताउनुभयो । बिरामीहरूलाई प्रारम्भिक उपचार जेलभित्रै गर्ने गरिएको छ तर गम्भीर रोग र दीर्घ रोगबाट पीडित बनेका बिरामीहरूलाई भने वीर, टिचिङलगायतका सरकारी अस्पतालमा लगेर उपचार गर्ने गरिएको छ।

सरकारी अस्पतालमा उपचार गर्न लैजाँदा पनि कैयौं कैदी र थुनुवाका आफन्तहरू उनीहरूको केयर गर्न नआउने भएकाले उपचारमा झनै समस्या पर्ने गरेको छ । ‘केहीका बाहेक धेरै बिरामीका आफन्तहरू अस्पतालमा आउँदैनन्, त्यसैले त्यहाँ उनीहरूको केयर गर्ने तथा सरसफाइ गर्नेजस्ता कार्यमा ठूलो समस्या उत्पन्न हुने गरेको छ’ –जेलर कटुवालले भन्नुभयो ।

जेल प्रशासनका अनुसार ठूलो संख्यामा बिरामी परेका कैदी तथा थुनुवाहरू मर्ने क्रमसमेत बढिरहेको छ । कतिपयको मृत्यु भएपछि समेत आफन्तहरू शव बुझ्न आउँदैनन् । जेलमा ७०–८० वर्ष पुगेका वृद्धाहरूसमेत बिरामी अवस्थामा मृत्यु कुरेर बस्न बाध्य रहेको बताइएको छ । जेल प्रशासनका एक अधिकारीका अनुसार कैदीका रूपमा रहेका र बिरामी परेका वृद्ध वृद्धाहरू मर्ने क्रम बढेको र दिनहुँजसो नै उनीहरू मर्ने गरेका छन् ।

दीर्घ रोग लागेर लामो समयदेखि बिरामी हुँदै आएका ७५–८० वर्षका वृद्धवृद्धाहरूलाई जेलबाट छुट्कारा दिने विषयमा माथिल्लोस्तरबाटै उपयुक्त निर्णय हुनुपर्ने जेल प्रशासका अधिकारीहरूको भनाइ छ । ‘त्यस्ता बिरामी वृद्धवृद्धाहरूलाई मुक्त गर्न सकिने विषयमा माथि जानकारी गराउँदै आएका छौं, तर कुनै सुनुवाई नहुँदा उनीहरू जेलभित्रै मृत्यु कुरेर बस्न विवश छन्’ –जेल प्रशासनका ती अधिकारीले बताए।

जेल प्रशासनका अनुसार दीर्घ बिरामीहरूलाई बाहिर लगेर उपचार गराउनुपर्ने हुँदा त्यसका लागि समस्या हुने गरेको छ । त्यहीँ राखेर उपचार गरिएकाहरूको हकमा पनि राम्रो उपचार हुन सकेको छैन । जेल प्रशासनका अनुसार हाल केन्द्रीय जेलमा रहेका ३ हजार ७ सय ५४ जनामध्ये २ हजार १९ जना कैदी र १ हजार ७ सय ३५ जना थुनुवा रहेका छन् । जसअनुसार केन्द्रीय बन्दीगृहमा १ हजार ९ सय ८६ जना र भद्र बन्दीगृहमा १ हजार २ सय ८१ जना र महिला बन्दी गृहमा ४ सय ८७ जना रहेका छन्। जेलमा विदेशी कैदी ३ सय २ जना रहेका छन्।

जेलर कटुवालका अनुसार जेलमा क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्दा खानेपानीको समस्या अत्यधिक छ। जेल प्रशासनले केयूकेएललाई जेलभित्र खानेपानीको सहज आपूर्ति गराउन बारम्बार आग्रह गरे पनि केयूकेएलले बेवास्ता गर्दै आइरहेको छ। जसका कारण कैदी र थुनुवाहरूको खानेपानीको ठूलो समस्या भोग्दै आइरहेका छन्।

भवन पनि अत्यधिक जीर्ण भएकाले भवन मर्मत सम्भार आवश्यक रहेको जेलर कटुवालले बताउनुभयो। यसै गरी बिजुलीको २ करोड रुपियाँ बक्यौता रहेको र सो रकम तिर्न समस्या परिरहेकाले मिनाहा हुनुपर्ने जेल प्रशासनले जनाएको छ।

जेलभित्र कैदीमैत्री वातावरण

केन्द्रीय जेलमा विविधखाले समस्या भए पनि जेल प्रशासनले त्यहाँभित्र कैदीमैत्री वातावरण सिर्जना गर्न दत्तचित्त भएर लागिरहेको बताएको छ । जेल प्रशासनका अनुसार त्यहाँभित्र कैदीहरूलाई उनीहरूले चाहेमा र आफैं खरिद गरेर ल्याएमा बेडरुमसम्मै टिभी जडान गर्न दिइएको छ । उनीहरू दिनहुँ टिभी हेरेर दिन कटाउने गरेका छन्।

यसै गरी जेलभित्र विभिन्न खेलहरू खेल्ने व्यवस्था मिलाइएकाले कैयौं कैदीहरू खेल खेलेर दिन बिताउने गरेका छन् । यस्तै, सिलाइ बुनाइको व्यवस्थासमेत गरिएको छ त्यहीँभित्र कपाल काट्ने नाउ पसलहरू कैदी स्वयम्ले सञ्चालन गरेको बताइएको छ।

यस्तै, पढ्नका लागि कैदीहरूले नै विद्यालय सञ्चालन गरेका छन्। जगन्नाथ मावि स्थापना गरी सो विद्यालयमा १ देखि १२ कक्षासम्म पठनपाठन गर्ने गरिएको जेल प्रशासनले जनाएको छ। कैदीहरूमध्येबाटै शिक्षकको व्यवस्था गरिएको छ र त्यहाँ अध्ययन गर्ने विद्यार्थीको संख्या २ सय ७८ जना रहेको छ।