दीपक मनाङे असन्तुष्ट, वनमन्त्रीबाट राजीनामा


पोखरा ।

 राजीव गुरुङ उर्फ दीपक मनाङेले गण्डकी प्रदेश सरकारमा वनमन्त्रीको पद अस्वीकार गरेका छन् । सोमबार एमालेलाई सरकारमा सहभागी गराउनेक्रमा मन्त्रिमन्डल हेरफेर गर्दा मनाङेलाई दिइएको थियो ।

यसअघि भौतिक योजना मन्त्रालय रहेका मनाङेले वन मन्त्रालय दिएकोप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् ।

एमालेलाई सरकारमा सामेल गराउन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई वन मन्त्रालयमा पठाएका थिए । तर, उनले त्यसमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् । मनाङेले सम्हाल्दै आएको भौतिक मन्त्रालय एमालेका प्रकाशबहादुर केसीले पाएका छन् । 

यस अघि एमालेले  मनाङे र फणिन्द्र देवकोटालाई सरकारमा सामेल गराउन नहुने भन्दै सरकारमा जान आनाकानी गरिरहेको थियो । तर मुख्यमन्त्री पाण्डेले आइतबार दुई मन्त्रालय फुटाएर भागबन्डा मिलाउँदै एमालेलाई सरकारमा सामेल गराउने वातावरण मिलाएका थिए । 

मुख्यमन्त्री पाण्डेले मनाङे र देवकोटाले आफूलाई संकटमा साथ दिएको भन्दै काँग्रेसको कोटाको मन्त्री दिएर सरकारमा निरन्तरता दिएका थिए ।