सत्ता गठबन्धनलाई सांगठनिक जोखिम व्यवस्थापनमा चुनौती

1.79k
Shares

काठमाडौं ।

आम निर्वाचन २०७९ मा पहिलो र दोस्रो सिट पाएका नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य भएसँगै दुवै दलमाथि आइपर्ने जोखिम व्यवस्थापनको चुनौती थपिएको छ।

मुख्य प्रतिस्पर्धी दलबीचको सत्ता सहकार्यले आगामी निर्वाचनसम्म एक अर्काप्रतिको इमानदारिता र आपसी सहिष्णुता कायम राख्दै जस–अपजस दुवैले बराबर लिनुपर्ने बाध्यात्मक अवस्थाले उनीहरूमाथि सांगठनिक चुनौती बढेको हो ।

को पहिलो हुने भन्ने राजनीतिक लडाइँमा आपसी आरोप प्रत्यारोपसहित एकअर्काप्रतिका कमीकमजोरीलाई छताछुल्ल बनाउने बानी परेका दलबीचको सत्ता सहकार्यले तल्लो तहका नेता कार्यकर्तालाई भाषणको मसला अभाव हुन थालेको कार्यकर्ताहरूले स्वीकार गरेका छन्।

सत्तारोहणका उपायहरू खोज्दै जनमतमा पहिलो हुने प्रतिस्पर्धात्मक शक्ति संघर्षमा रहेका दुई दलको मिलनले भूगोलको राजनीतिमा अप्ठ्यारो पर्ने विभिन्न तहका नेताहरूले टिप्पणी गरेका छन्। सरकारमा सँगै भएपछि आपसी मतभिन्नता राख्न असहज हुने र आफ्ना एजेन्डा हराउने जाने उनीहरूमाथि डर बढेको छ। आगामी निर्वाचनसम्म आम कार्यकर्तामाझ के भनेर जाने भन्ने अन्योलता देखिन थालेको नेताहरूले टिप्पणी गरेका छन्।

सत्ता सहयात्राको मुख्य दल नेपाली कांग्रेसका सहमहामन्त्री पाण्डेले एमालेसँग मिलेर सरकार बनाउनु आफैँमा जोखिम भएको बताउनुभयो। उहाँले पार्टीको केन्द्रीय समिति बैठकमा दुवै दलबीच हुने तल्लो तहका द्वन्द्वलाई कसरी व्यवस्थापन गर्दै जाने भन्ने विषय गम्भीर भएको बताउनुभयो। पाण्डेले भन्नुभयो– ‘सहकार्य र प्रतिस्पर्धाको स्पष्ट सीमांकन दुवै पार्टीले गर्नुपर्छ । ८४ को चुनावको व्यवस्थापन र त्यतिन्जेलको सत्ता सञ्चालनको सहकार्यलाई मिलाएर जानुपर्ने चुनौती पनि हामीमाझ छ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका पाण्डेले दलबीच आपसी भिडन्त नै हुने भएकाले ८४ मा पुग्दा नपुग्दै सहकार्यलाई पनि सँगसँगै जानुपर्ने भन्दै आफूहरू खुकुरीको धारमा हिँडिरहेको टिप्पणी गर्नुभयो। यसमा दुवै दलबीच गम्भीर सल्लाह गरेर जानुपर्ने उहाँको भनाइ थियो।

एमाले र कांग्रेसबीच जुनसुकै क्षेत्रमा भएका असमझदारीलाई मिलेरै हटाउनुपर्नेमा मन्त्री पाण्डेको जोड छ। गत निर्वाचन परिणामअनुसार ८८ सिटसहित नेपाली कांग्रेस संसद्को पहिलो र नेकपा एमाले ७८ सिटसहित दोस्रो दल हुन्।

यिनै दुई दलबीच लामो समयदेखि चुनावी प्रतिस्पर्धा हुँदै आएको छ। समानुपातिकको मतसमेत एमाले कांग्रेसको हाराहारीजस्तै छ । संसद्का ठूला दल मिलेर सरकार बनाइहाल्नुपर्ने कुरामा दुवै दलका दोस्रो पुस्ताका नेताहरू सकारात्मक थिएनन्। यद्यपि, संसद्को तेस्रो (३२ सिट) दल नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धन परिवर्तन गरिरहने र मुलुकको राजनीतिक व्यवस्थामाथि नै प्रश्न उठ्ने गरी अस्थिरता देखिएपछि यो अवस्था आएको नेताहरूले बताएका छन्।

बितेका डेढ वर्षमा माओवादी अध्यक्ष पुष्पकमलल दाहाल ‘प्रचण्ड’ले चार पटकसम्म सत्ता साझेदारी परिवर्तन गर्ने मुख्य भूमिकामा रहेका कारण ठूला दुई दल मिलेर मुलुकमा स्थिरता, सुशासन र सेवाप्रवाहमा चुस्त ल्याउने विश्वासका साथ अघि बढेको नेपाली कांग्रेसका प्रमुख सचेतक एवं गृहमन्त्री रमेश लेखकले बताउनुभयो।

उहाँसहितका केही नेताहरूको विशेष पहलमा असार १७ गते मध्यरातमा कांग्रेस–एमालेबीच सत्तासहकार्य गर्ने गरी सहमति भएर अहिलेको सरकार बनेको हो। कांग्रेस र एमालेको सरकार बनेपछि आत्मविश्वास बढेको भन्दै राष्ट्रिय राजनीतिमा विश्वासको वातावरण सिर्जना गरेको गृहमन्त्री लेखकले बताउनुभयो।

‘दुई दलको समीकरण, सरकारको निरन्तरता र सहमति कार्यान्वयनमा कांग्रेसको इमानदार प्रयत्न रहनेछ’, उहाँले भन्नुभयो– ‘कांग्रेस र एमाले मिलेर बनेको सरकारले पनि काम गर्न नसके मुलुक गम्भीर मोडमा पुग्नेछ। मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका निम्ति नेपाली कांग्रेस र एमाले मिलेको सरकार गठन भएको हो। जनताका माझमा जाँदा दुवै दलले जस अपजस लिनुपर्छ र चुनावी प्रतिस्पर्धाका सवालमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्छ।’

खुला लोकतान्त्रिक प्रतिस्पर्धाका मुख्य ठूला दलहरूबीच सत्ता सहकार्य व्यावहारिक र सैद्धान्तिक हिसाबले समेत नमिल्ने भए पनि मुलुकको अस्थिर राजनीतिक अवस्थालाई स्थिरतामा बदल्नका लागि वर्तमान कांग्रेस–एमालेबीच सत्ता सहयात्रा भएको नेकपा एमालेका एक पदाधिकारीले बताए।

उनले भने– ‘हामी कांग्रेस–एमालेबीच सत्तामा मिलेर जाँदा भोलि आउन सक्ने राजनीतिक प्रतिस्पर्धामासमेत केही समस्याहरू देखा पर्छन् भन्ने कुरा ठीक हो । तर, मुलुकको परिस्थितिलाई हेरेर दुई ठूला दलबीच सरकार बनाउने सहमति भएको र सोही सहमति कार्यान्वयन गर्नुपर्ने हामीमाझ राजनीतिक रूपमा बाध्यात्मक अवस्था छ।’