अमेरिकावासीलाई छमछमी देउडामा नचाए नन्दकृष्णले


काठमाडौं ।

देउडा सम्राट नन्दकृष्ण जोशीले देउडा गीत पस्केर अमेरिकावासी नेपालीलाई नचाएका छन्। विभिन्न कार्यक्रममा सहभागी भई देउडा गीत संगीतको आनन्द दिलाउन हालै अमेरिका पुगेका देउडा गायक जोशीले विस्कान्सिन राज्यको मिल्वाकी शहरमा आयोजित गौरा पर्वमा आफ्ना आधा दर्जन देउडा गीत सुनाएर त्यहाँका नेपालीलाई मनोरञ्जन प्रदान गरेका हुन्।

उनले गौरा सामाज विस्कान्सिनको आयोजनामा हिन्दू मन्दिर परिसरमा आयोजित गौरा पुजन तथा देउडा कार्यक्रममा दउडा गाएर त्यहाँका नेपालीलाई मनोरञ्ज प्रदान गरे। त्यहाँ जम्मा भएका नेपाली कार्यक्रम अवधिभर उनको देउडा भाकामा उनीसँगै नाचेर र झुमेर रमाएका थिए।

गौरा सुदूरपश्चिमवासीले मनाउने प्रमुख चाड हो। कार्यक्रममा स्थानीय पण्डित जगदिश आचार्यले महिलाहरूलाई गौरामाताको पूजन गराएका थिए। गौरा पूजनपछि देउडा गायक जोशीले देउडा गीत संगीत प्रस्तुत गरेका थिए।

झन्डै ६ घण्टा चलेको कार्यक्रममा गायक जोशीले ओ बाँझ झुमरेली बाज, झुम्के डालीमाजस्ता आफ्ना लोकप्रिय देउडा सुनाएर त्यहाँका नेपालीलाई नचाएका थिए। गौरा समाजले सन् २०१६ देखि निरन्तर रुपमा गौरा पूजन तथा देउडा कार्यक्रमको आयोजना गर्दै आएको समाजसेवी तथा व्यवसायी गोविन्द फुलाराले बताए।