यौन आरोप लागेपछि व्यान्डबाट हटाइए दक्षिण कोरियाली गायक


एजेन्सी ।

दक्षिण कोरियाली गायक ताएइललाई यौन अपराधको आरोप लागेपछि विश्व चर्चित के–पप ब्यान्ड एनसीटी (नियो कल्चर टेक्नोलोजी) ले समूहबाट हटाएको छ।

ताएइलको एजेन्सी एसएम इन्टरटेनमेन्टले एक्समा एउटा विज्ञप्ति जारी गर्दै यौन अपराधसम्बन्धी फौजदारी मुद्दामा ताएइलको नाम मुछिएका कारण एनसीटीका सदस्यले आफूलाई उनीबाट अलग्याएको विज्ञप्तिमा जनाएको छ।

ब्यान्डले ताएइलमाथि लागेको आरोप र सो आरोपको गम्भीरतालाई ध्यानमा राख्दै ताएइलले अब सो पप समूहमा नरहने निर्णय गरेको बताइएको छ। ताइएइलले भने आफूमाथि लागेको आरोपबारे सार्वजनिक रूपमा मुख खोलेका छैनन्। उनको एजेन्सीले भने प्रहरी अनुसन्धानमा आफूले पूरै सघाउने र अनुसन्धानपछि आएका विवरणबारे अन्य विज्ञप्ति जारी गरिने पनि बताएको छ।

ताएइलको कानुनी नाम मुन ताए–इल हो। यौन अपराधको सम्बन्धमा आफूले ताएइलमाथि अनुसन्धान गरेको सोलस्थित ब्याङबेय प्रहरी थानाले घोषणा गरेको थियो। केपप ब्वाइज ब्यान्ड एनसीटीले सन् २०१६ मा संगीत दुनियाँमा डेब्यू गरेको थियो। जसका उप समूहसहित २ दर्जनभन्दा धेरै सदस्य छन्। एनसीटीका कयौं चर्चित गीत बिलबोर्डको सूचीमा पनि परेका छन्।