घरज्वाइँले मनायो ५१औं दिन, ग्रस कलेक्सन साढे ५ करोड


काठमाडौं ।

मगर समुदायमा प्रचलित घरज्वाइँ संस्कृतिमा आधारित फिल्म घरज्वाइँले प्रदर्शनको ५१औं दिन मनाएको छ। फिल्म आईएनआई नयाँ बसपार्क, नयाँ बानेश्वर र बुटवलका तीन हल, गोंगबुस्थित बीएसआर मुभिज, सामाखुसीस्थित क्यूएफएक्सको सिटी स्क्वायर हल र नेपालगन्जको सिने रोयलमा ५१ दिनसम्म चलेको हो।

फिल्मले प्रदर्शनको ५१औं दिनको रेकर्ड राखेको अवसरमा शनिबार राजधानीमा खुशियाली मनाएको छ। प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा फिल्मका कलाकारले केक काटेर खुशियाली साटेका थिए। कार्यक्रममा फिल्मका कलाकार तथा प्राविधिकलाई मायाको चिनो प्रदान गरिएको थियो।

गत असार २८ गते रिलीजमा आएको फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, शिशिर बाङ्देल, अनु थापा, पुष्कर गुरुङ, .भोलाराज सापकोटा, खड्गबहादुर पुन, राज थापा मगर, कविता आले मगरलगायतका कलाकारले अभिनय गरेका छन्। अनिल बुढा मगरको लेखन तथा निर्देशनमा बनेको फिल्म साँढे दुई करोडको लागतम बनेको र यसले साढे ५ करोडको व्यापार गरेको जनाइएको छ।