तीज महोत्सवमा गीत संगीत र हाँसोको बहार


काठमाडौं ।

कलरइसेन्स र नेचरइसेन्सको आयोजनामा मनोरञ्जनात्मक कार्यक्रमका साथ राजधानीमा २०औं तीज महोत्सव सम्पन्न भएको छ।
अग्रजदेखि नयाँ पुस्तासम्मका दर्जन कलाकारले गीतसंगीत र नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा गायक तथा मोडल दुर्गेश थापा, गायकद्वय चन्द्र शर्मा, नमराज ढुंगाना, गायिका निशा देशारलगायतले गीतसंगीत प्रस्तुत गरेका थिए। महोत्सवमा भारतबाट आएका कस्मोलोजिस्ट निरज कुमारले व्युटिसियनलाई फेसियलसम्बन्धी प्रशिक्षण दिएका थिए।

फिल्मकर्मी तथा सञ्चारकर्मी दिनेश डिसीले सहजीकरण गरेको महोत्सवको दोस्रो खण्ड मोडल प्रतीक्षा काफ्लेको नृत्यबाट शुरू भएको थियो भने मोडल तुलसा पहाडीले ताण्डप नृत्य प्रस्तुत गरेकी थिइन्। त्यसैगरी दिनेश काफ्लेले सामसामयिक विषयमा प्रहशन गरेर दर्शक हसाए। उनले विभिन्न नेताको क्यारिकेचर गरेर दर्शकलाई हसाएका थिए।

गायक नारायण थापाले आफ्नो नयाँ गीत तिमीलाई नै प्रस्तुत गरे भने गायिका सुजता केसीले तीज गीत र लोकगीत प्रस्तुत गरिन्। लोकगायक नमराज ढुंगानाले आफ्नो चर्चित गीत फुल फुल्यो अमला प्रस्तुत गरे। गायिका बिन्दु परियारले तीज गीतसहित पहिलो नम्बरमा, फर्कफर्क मायालुजस्ता गीतबाट दर्शक नचाइन्।

गायिका निशा देशारले आफ्ना दुई चर्चित गीत साउनको ठुलो झरी र ऐला लुवया गाएर सहभागीलाई हातमा ग्लास लिएर स्टेजमै चढेर नाच्न बाध्य बनाइन्। गायक चन्द्र शर्माले आफ्नो चर्चित गीत बाच्छीले धान खायो प्रस्तुत गरे। कार्यक्रममा हाँस्य अभिनेता जितु नेपालले प्रहशन प्रस्तुत गरेर हँसाए भने गायक दुर्गेश थापाले आफ्ना गीतबाट दर्शक नचाए।