कांग्रेसले पारित गर्‍यो गठबन्धन नगरी चुनाव लड्नुपर्ने गगनको प्रतिवेदन


काठमाडौँ ।

नेपाली काँग्रेसले महामन्त्री गगन थापाको चुनाव अगाडि गठबन्धन गर्न नहुने प्रस्ताव पारित गरेको छ ।

आइतबार बसेको केन्द्रीय समितिको बैठकले ८४ को निर्वाचनमा कार्यकर्ताले रुखमा भोट हाल्न पाउने अवस्थाको सिर्जना हुने निर्णय गरेको हो ।

‘हामी भविष्यमा हुने आवधिक निर्वाचनहरूमा आफ्नै ताकतमा एक्लै लड्ने छौँ र हाम्रा मतदातालाई नेपाली काँग्रेसको चुनाव चिन्ह ‘रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौँ’, बैठकको निर्णयमा भनिएको छ ।

आजको बैठकको निर्णयमा भनिएको छ, ‘विगतमा पार्टीले विशेष राजनीतिक परिस्थितिमा अन्य दलहरूसँग निर्वाचन पूर्व गठबन्धन गरेर निर्वाचन लडे तापनि नेपाली काँग्रेस यस महासमिति बैठकबाट पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्दछ, ‘हाम्रो आफ्नै संगठनलाई थप ऊर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर नेपाली काँग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुनः स्थापित गर्नेछौँ । हामी भविष्यमा हुने आवधिक निर्वाचनहरूमा आफ्नै ताकतमा एक्लै लड्ने छौँ र हाम्रा मतदातालाई नेपाली काँग्रेसको चुनाव चिन्ह ‘रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौँ ।’