मुख्य सचिव अर्यालको पदबहालीसँगै दर्जनौ प्रतिवद्धता

प्रधानमन्त्री कार्यालयलाई सेन्टर अफ एक्सलेन्स बनाइने, संघीय निजामती सेवा ऐन ल्याइने

10.15k
Shares

काठमाडौं ।
नवनियुक्त मुख्य सचिव एकनारायण अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई ‘सेन्टर अफ एक्सलेन्स’ मा रुपान्तरण गरी सरकारको कामकारवाहीलाई प्रभावकारी, जनप्रिय र नतीजामुखी बनाइने बताएका छन् ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्य सचिवको पदबहाली गरेलगत्तै सरकारका सचिव लगायतका उच्च पदस्थ अधिकारीहरुसँगको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मुख्य सचिव अर्यालले आफु सदैव टिमवर्कमा काम गर्ने भएकाले त्यसका लागि सबै सचिवहरुबाट इमानपुर्वक सहयोगको आवश्यकता पर्ने बताए ।

‘प्रधानमन्त्री कार्यालयलाई सेन्ट्रल अफ एक्सलेन्स’ बनाउने भनेर विगतमा हामीले काम गरेका थियौ । त्यो रिपोर्टको संयोजन म आफैले गरेको थिएँ अब त्यसलाई कार्यान्वयन गरिने छ र प्रधानमन्त्री कार्यालयलाई सेन्ट्रल अफ एक्सलेन्स बनाएर सरकारको कामकारवाहीलाई शसक्त बनाइने छ । ’मुख्य सचिव अर्यालले भने ।नेपाल सरकार कार्य विभाजन नियमावली २०७४ अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अवशिष्टसहित ४८ वटा कार्यजिम्मेवारी रहेको उल्लेख गर्दै उनले सोही जिम्मेवारी अनुसार काम गरेर प्रधानमन्त्री कार्यालयलाई सेन्टर अफ एक्सलेन्स बनाइने बताए ।

‘काम गर्न नसक्नेहरुलाई प्रधानमन्त्री कार्यालयमा राखिने छैन् । मलाई छिटो परिणाम चाहिन्छ । त्यसैले यहाका सबै परिणाममुखी बन्नु पर्छ ।’मुख्य सचिव अर्यालले भने । मुख्य सचिव अर्यालले अब आफुले कुनै पनि हालतमा संघीय निजामती सेवा ऐन ल्याएरै छोड्ने उद्घोष समेत गरे । संघीय निजामती सेवा ऐन ल्याउने विषय आफ्नो पहिलो प्राथमिकतामा पर्ने उद्घोष गर्दै उनले भने ‘यसका लागि प्रधानमन्त्री , मन्त्री, संसदीय समिति र सांसदहरुसँग आवश्यक समन्वय गरेर संघीय निजामती सेवा ऐन कुनै पनि हालतमा ल्याइने छ । ’

संघीय शासन प्रणाली आएको ९ वर्ष वितिसक्दा समेत शासन प्रणाली अनु्सार निजामती प्रशासन हाँक्ने संघीय निजामती सेवा ऐन ल्याउन नसकेको भन्दै राजनीतिक र प्रशासनिक नेतृत्व माथि असक्षमताको आरोप लाग्दै आइरहेको छ । सम्भवत यस पक्षलाई नजीकबाट बुझेका मुख्य सचिव अर्यालले आगामी दिनमा असक्षमताको आरोपबाट बच्न संघीय निजामती सेवा ऐन जुनसु्कै हालतमा ल्याउने प्रतिवद्धता जनाएका हुन् ।

मुख्य सचिव अर्यालले चुनौतीका चाङबीच आफु मुख्य सचिव भएपनि चुनौतीलाई अवसरमा परिणत गर्न सक्ने आत्मविश्वास आफुमा भएको स्पष्ट पारे । ‘चारैतिर धेरै चुनौती छन् तर चुनौतीलाई अवसरमा परिणत गरी परिणाम दिनु पर्छ यसका लागि टिमवर्कमा काम गरेर परिणाम निकाल्न दत्तचित्त भएर लाग्नेछु । ’मुख्य सचिव अर्यालको प्रतिवद्धता छ ।

अर्यालले आफुहरुले नैतिकता इमान्दारीता , स्वच्छता, पारदर्शीतालाई निजामती सेवाको मूल्य मान्यता भनेर बुझ्दै आएपनि पछिल्ला दिनमा यस्ता मूल्य र मान्यतामा धेरै नै क्षयीकरण हुदै गइरहेकाले यसको कारण पहिचान गरी छिटै समाधान खोज्नु पर्ने आवश्यकता औल्याए । ‘दुखका साथ भन्नुपर्छ जनता र निजामती कर्मचारीमा ठुलो ग्याप सिर्जना हुन गएको छ । यसलाई हामीले गम्भीर समीक्षा गर्न जरुरी छ । ’मुख्य सचिव अर्यालको जोड थियो ।

निजामती सेवा र हाम्रा कार्यशैलीमा परिवर्तन आएन भने यसको विकल्पको खोजी हुन सक्ने तर्फ सचेत पार्दै मुख्य सचिव अर्यालले भने ‘ जनसेवालाई आत्मसात गर्न सकेमा मात्रै हामी सफल हुन्छौ । अब अलिकति नयाँ किसिमले काम गर्नुपर्छ । हाम्रो भुमिका बाट हामी डेभियसन भइरहेका छौ । यस्तो प्रवृत्ति रोकिनु पर्छ । सबै निकाय बीच समन्वय गरेर अघि बढ्नु पर्छ र हरेक समय जनहीतमा जुट्नुपर्छ ।’ हामीले सेवा प्रवाह गर्ने महत्वपूर्ण कार्यालयलहरु जस्तो यातायात कार्यालय, मालपोत , नापी, राहदानी, वैदेशिक रोजगारका कार्यालयहरु , स्थानीय तहबाट हुने सेवा प्रवाहलाई प्रभावकारी र चुस्त दुरुस्त बनाउन सोही अनुसारका कार्ययोजनाहरु बनाउनु पर्छ ।

अहिले धेरै सेवा प्रवाह गर्ने निकायमा प्रभावकारी सेवा प्रदान नहुने र विचौलियावाद हावी छ । विचौलियामार्फत काम गराउनुपर्ने हुदा जनताहरु कर्मचारीहरुसँग वाक्क दिक्क देखिन्छन् । सोही तथ्यलाई बुझेका मुख्य सचिव अर्यालले सेवा प्रवाह देखि नीतिगत तहसम्ममा हुने विचौलियाप्रथालाई निषेध गरिने प्रतिवद्धता जनाउदै उनले भने ‘विचौलियालाई फाइदा पुग्ने गरी कुनै काम गर्नुहुदैन। म मेरो कार्यकालयमा जनहीत विपरित हुने, विचौलियालाई फाइदा पुग्ने गरी कुनै काम गर्न दिने छैन, सबै सचिवहरुले पनि यसैअनुसार काम गर्नुहुनेछ, विचौलियाप्रथा पूर्ण रुपमा निषेध गरिनेछ, त्यो मान्य छैन् । ’

मुख्य सचिव अर्यालले जनशक्ति र साधनस्रोतको समस्या छ भने त्यसलाई समाधान गरी सेवा प्रवाहलाई मूल मन्त्र बनाएर अघि बढ्न सचिवहरुलाई निर्देशन दिए । ‘ प्रधानमन्त्रीले सामाजिक सञ्जाल मार्फत म्ुख्य सचिवलाई बधाई दिने क्रममा सेवा प्रवाह प्रभावकारी बनाउनुपर्ने विषय उठान गर्नुभएको छ, यो मुख्य सचिव मार्फत सबै सबै सचिवको दायित्वको विषय प्रधानमन्त्रीले उठाउनु भएको हो, यसमा हामी सबै संवेदनशील भएर जनताको सेवामा जुटौ । ’मुख्य सचिव अर्यालले भने ।

तीन तहको सरकार बीच उचित समन्वय गरेर काम अगाडि बढाइने प्रतिवद्धता पनि उनले जनाए । तीन वटा सरकार सहकारी, सहअस्तित्व र समन्वयका आधारमा सञ्चालन हुनु पर्ने संवैधानिक स्प्रीट भएको उल्लेख गर्दै मुख्य सचिव अर्यालले सोही अनुसार सबै उच्च पदस्थहरुले आफ्ना कार्यहरु अगाडि बढाउनु पर्ने आवश्यकता औल्याए ।

अर्यालले नीजि क्षेत्र र सरकारबीच राम्रो समन्वय हुन नसकिरहेकाले नीजि क्षेत्रबाट कर्मचारी माथि धेरै नै गुनासो आउने गरेको तथ्य औल्याउदै त्यस्ता गु्नासाहरु आउन नदिन नीजि क्षेत्रसँग राम्रो समन्वय र हार्दिकतापुर्ण सम्वन्ध राख्नुपर्ने आवश्यकता औल्याए । ‘वैदेशिक लगानी र स्वदेशी लगानीको उचित वातावरण सिर्जना गर्न पनि नीजि क्षेत्रसँग हार्दिकतापुर्ण सम्वन्ध र समन्वय आवश्यक छ । यो विषय आर्थिक वृद्धि सँग पनि जोडिएकाले यसमा सरोकारवाला मन्त्रालयका सचिवहरुले विशेष ध्यान पु¥याउन जरुरी छ, म यसका लागि विशेष आग्रह गर्दछु । ’मुख्य सचिव अर्यालले भने ।

कैयौ उच्च पदस्थ कर्मचारीहरुमाथि दोहोरो चरित्र प्रर्दशन गर्ने गरेको र आफ्नो स्वार्थका लागि जस्तासुकै गलत संझौता गर्न पनि पछि नपर्ने गरेको अरोप लाग्दै आइरहेको छ । यस प्रति संकेत गर्दै मुख्य सचिव अर्यालले दोहोरो चरित्र प्रदर्शन घातक हुन सक्ने भएकाले त्यस्तो चरित्र प्रदर्शन नगर्न सबै सचिव लगायतका उच्च पदस्थहरुलाई चेतावनी दिए । ‘मैले अपेक्षा गर्ने भनेको इमान्दारपूर्ण सहयोगको अपेक्षा हो । तर कहिलेकाही के देखिन्छ भने दोहोरो चरित्र देखाउने तर त्यो घातक हुनेछ । मुख्य सचिवसँग एउटा, प्रधानमन्त्रीसँग अर्को र मन्त्रीसँग अर्को कुरा गर्ने बानी छ भने आजै देखि त्यस्तो बानी हटाउनुस, अन्यथा त्यस्ता प्रवृत्तिलाई कडाईका साथ निरुत्साहन गरिने छ ।

त्यस्तो प्रवृत्ति सह्य हुने छैन् । ’मुख्य सचिव अर्यालले चेतावनी शैलीमा भने । राष्ट्रसेवक कर्मचारीहरु राष्ट्रियताको भावनाले ओतप्रोत हुनुपर्नेमा पछिल्ला दिनमा कर्मचारीहरुमा त्यस्तो भावना विकास हुन नसकेको भन्दै आलोचना भइरहेको अवस्थामा मुख्य सचिव अर्यालले सार्वजनिक सेवामा काम गर्ने हामी कर्मचारीमा राष्ट्रियतामा क्षयीकरण हुनु दुखद भन्दै सबैजना राष्ट्रियताको भावनाले ओतप्रोत हुदै मुलुकको विकास,समृद्धि र सुशासनमा जुट्नु पर्ने आवश्यकता औल्याए । उनले प्रधानमन्त्रीको सुखी नेपाली समृद्ध नेपालको लक्ष्य पुरा गर्न समेत सबै राष्ट्रसेवकहरु एकजुट भएर कार्यथलोमा खट्नुपर्ने आवश्यकता औल्याए । उहाँले आगामी २२ भदौमा मनाइने निजामती सेवा दिवसका दिन निजामती क्षेत्रले सुधारका लागि विशेष सन्देश दिनुपर्ने बताए ।

मुख्य सचिव अर्यालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राज्यव्यवस्था समिति र अन्य संसदीय समितिबाट आएका निर्देशनहरुलाई कडाईका साथ पालना गर्न सचिवहरुलाई निर्देशन दिए । ‘अख्तियारले भनेर अनुसन्धान भइरहेको छ भनेको आधारमा कुनै फाइल रोकियो भने त्यो राम्रो हुने छैन् । त्यसका कुनै गाँठो छ भने म फुकाउछु तर विभिन्न बहाना बनाएर महत्वपुर्ण काम र फाइलहरु रोक्ने काम नगर्नुस ।’उहाँले सचिवहरुलाई गम्भीर बन्न आग्रह गर्दै भन्नुभयो ।

‘कर्मचारीहरुले काम नगरेको कारणले आलोचना व्यहोर्नुपरेको हो । अर्को तर्फ वातावरण छैन भनौला, तर वातावरण त हामीले बनाउने हो । काम गरेर जनताको मन जित्ने काम हाम्रो हो । ’मुख्य सचिव अर्यालले भन्नुभयो ।‘अहिले धेरै साथीहरु काठमाडौमा थुप्रनुभएको छ । कार्यजिम्मेवारी अनुसार स्पष्ट काममा खट्नुपर्छ । काम नगर्नेहरुको खोजी गरेर आवश्यक कारवाही गर्नुपर्छ र जिम्मेवार बनाउनुपर्छ । ’उहाँले भन्नुभयो ।

‘मुख्य सचिवको धेरै जिम्मेवारी र दायित्व छ सोही अनुसार दण्ड र पुरस्कारको व्यवस्था हुन्छ ’

मुख्य सचिव अर्यालले कानुनले नै मुख्य सचिवलाई धेरै जिम्मेवारी र अधिकार दिएकाले सोही अनुसार काम हुने र दण्ड र पुरस्कारको व्यवस्था हुने बताउनुभयो । ‘मुख्य सचिव भनेको क्याविनेटमा प्रस्ताव लैजाने मात्रै होइन मुख्य सचिवको धेरै जिम्मेवारी भुमिका र दायित्व छ काम छ । त्यही कामको आधारमा आमकर्मचारी माथि दण्ड र पुरस्कारको व्यवस्था हुनेछ । ’उनले भने । अंग नपुगेको प्रस्तावहरु मन्त्रिपरिषद् कार्यालयमा नपठाउन आग्रह गर्दै उहाँले प्रस्तावको गाम्भीर्यता र आवश्यकताका बारेमा गहन छलफल मन्त्रालयस्तरमा नै गर्नुपर्ने आवश्यकता औल्याए ।

मुख्य सचिवका महत्वपूर्ण निर्देशन र प्रतिवद्धताहरु

–प्रधानमन्त्री कार्यालयलाई ‘सेन्टर अफ एक्सलेन्स’बनाइने
–संघीय निजामती सेवा ऐन छिटो ल्याइने
– काम गर्न नसक्नेहरुलाई प्रधानमन्त्री कार्यालयमा राखिने छैन्
–दोहोरो चरित्र प्रर्दशन असह्य हुने
– नैतिकता इमान्दारीता , स्वच्छता, पारदर्शीतामा क्षयीकरण रोकिनुपर्ने
– चुनौतीलाई अवसरमा परिणत गर्न सक्ने आत्मविश्वास
– जनता र निजामती कर्मचारीमा रहेको ठुलो ग्याप हटाउनुपर्ने
– जनसेवालाई आत्मसात गर्न सकेमा मात्रै हामी सफल
– विचौलियाप्रथा पूर्ण रुपमा निषेध गरिनेछ, त्यो मान्य छैन् । ’
– तीन तहको सरकार बीच उचित समन्वय गरिने
– नीजि क्षेत्रसँग हार्दिकतापुर्ण सम्वन्ध र समन्वय आवश्यक
–सुखी नेपाली समृद्ध नेपालको लक्ष्य पुरा गर्न प्रतिवद्ध
– अख्तियार, राज्यव्यवस्था लगायतका निर्देशनको पालना गरिने
– मु्ख्य सचिवको जिम्मेवारी र दायित्व अनुसार दण्ड र पु्रस्कारको व्यवस्था
– काम नगर्नेहरुको खोजी गरेर आवश्यक कारवाही