अनुदानको मकै फलेन, थाक्रेका किसान चिन्तित

846
Shares

धादिङ ।

दक्षिणी धादिङकाे थाक्रे गाउँपालिका वडा नम्बर ६ रानीबारी क्षेत्रमा पालिकाले वितरण गरेको मकै नफलेपछि यस वर्ष किसानहरु समस्यामा परेका छन् । 

थाक्रे गाउँपालिका वडा नम्बर ६ रानीवारिका किसानहरुले वडा कार्यालयकाे ५० प्रतिशत अनुदानमा लगाईएकाे मकै घाेगा लागेपछि सबै कुहिएर सखाप भएकाे किसानहरुले बताएका छन् । 

 बिरुवा उम्रिएपछि राम्रैसँग हुर्किए पनि दाना लाग्ने बेला घोगा नै कुहिएर गन्हाउन थालेपछि किसानहरु चिन्तामा परेका हुन् ।

पोलेर खान मिल्ने भएदेखि हरियो घोगा बेचेर नगद लिने किसानले अहिले आफैले समेत मकै चाख्न पाएका छैनन् । मकैको बोटमा घोगा कुहिएर गन्हाएकाले अहिले किसानहरु बारीमा जान नसक्ने अवस्था रहेको रानीवारिका किसान हरि थापाले बताए ।

वडा कार्यालयकाे बजेटमा पालिकाकाे कृषि शाखाले वितरण गरेको मकैको बीउ किसानले बारीमा लगाए । बिरुवा हुर्कदासम्म राम्रै देखियो । जब बोटले सुत्ला च्याप्ने बेला भयो जुगाँ चाही सेतो निस्कियो । थापा भन्छन् –‘घोगामा जब दाना लाग्न थाल्यो बोट कुहिन थाल्यो । घोगा नै कुहिन थाल्यो । केही दिनमा बोटै सुक्न थाल्यो ।’

स्थानीय सरकारले अनुदानमा उपलब्ध गराएर रानीवारिका किसानले लगाएको मकै सिपी जातको हो । अहिले मकैको बोटमै घोगा कुहिन थालेको छ । बारीमा जाँदा ढोड र मकैको घोगा कुहिएर जान समेत नसक्ने अवस्था रहेको थापाको भनाई छ ।

‘छ किलोग्राम मकैको बिउ लगाएकोमा पोलेर खाने मकै समेत नपाएको किसानहरुले सुनाएका छन् । वडा नम्बर ६ को रानीवारिका मात्रै ६० जना भन्दा बढी किसानले यही समस्या भोग्नु परेको छ ।

सबै ठाउँमा मकै भित्र्याएर कोदो लगाउने भेला भयो । परम्परागत मकैको बिउ लगाउनेहरुले पनि अघिल्लो वर्षहरुकै जस्तो मकै फलाएका छन् । अर्का किसान गुरुदत्त गर्तौलाले १८ रोपनी बारीमा आठ किलोग्राम सिपी ८०८ जातको मकै लगाएका रहेछन् । बिरुवा उम्रँदा उनको बारीमा पनि राम्रै थियो । सुत्ला पनि राम्रै देखियो ।

‘जब मकैमा दान लाग्न सुरु भयो । धानचमारा सुक्न थाल्यो । केही दिनमा बोट र घोगा कुहिन थाल्यो’, गर्तौला भन्नुहन्छ–‘ढोड र मकैको घोगा कुहिएर वारीमा पस्न सक्ने अवस्था नै छैन ।’

सेतो जुगाँ भएको मकैमा यो समस्या देखिएको गर्ताैलाको बुझाई छ । ‘मेरो वारीमा १५ देखि १८ क्वीन्टल मकै फल्थ्यो । यस वर्ष एक घोगा मकै घरमा ल्याउन पाइएन’, उनले भने ।

१४ रोपनी बारीमा सिपी ८०८ जातको छ किलो मकैको बिउ लगाएका  धन बहादुर थापाको पनि समस्या उस्तै छ । 
धेरै मकै फलाउने आशामा मकै नै भित्र्याउन नपाएको रानीवारिका किसान कृष्ण बहादुर थापाले गुनासो गरे । ‘भएजति बारी सबै ठाउँमा यही बिउ लगाएँ । अहिले पोलेर खान पनि पाइन’, कृष्णबहादुर भन्छन् –‘सरकारले हाम्रो मकैको क्षतिपूर्ति दिनु पर्छ, नत्र हामी भोकै पर्नेछौं ।’

गाँउपालिका मार्फत वडा कार्यालयले अनुदानमा उपलब्ध गराएको मकैमा समस्या देखिएको विषय वडा कार्यालय र गाउँपालिकामा पनि पुगिसकेको छ ।
वर्णशंकर (सिपी ८०८) जातको मकैको बिउ बाँढेको र मकै ढोड र घोगा नै कुहिएको किसानहरुको गुनासो पछि वडा अध्यक्ष हिरा बहादुर थापासंग बुझ्दा यसो भन्छन् । पालिकाको वार्षिक कार्यक्रममा वडा नं. ६ मा किसानहरुलाई ५० प्रतिशत मकैको बिउ कार्यक्रम राखे ।

वडा नम्बर ६ का वडा अध्यक्ष हिराबहादुर थापा भन्छन्–‘कृषि शाखामार्फत बिउ खरिद तथा वितरण गर्ने काम भएको हो । अहिले समस्या आएपछि स्थलगत अवलोकन गरेका छौ । हामी अनुसन्धानमै छौँ । अब के गर्दा किसानको हित हुन्छ भन्ने कुरामा पनि हामी गम्भीर भएर लागेका छौँ ।’

६ नम्बर वडा कार्यालयले यसवर्ष एक हजार दुई सय ३० किलोग्राम बिउ वितरण गरेकोमा तीन सय २० किलो बिउमा समस्या देखा परेको कृषि शाखा प्रमुख सौगात थापाको भनाई छ ।

मकैको बिउ सप्लार्यस कम्पनी कर्मा सिड र स्थानीय बिक्रेता वाग्ले एग्रोभेटलाई पत्राचार गरी कारण पत्ता लगाउन भनिएको कृषि शाखा प्रमुख थापाले जानकारी दिए  । बिउका खराबीको कारण भए किसानहरुले क्षतिपूर्ति पाउने व्यवस्था छ ।