पूर्ण बहादुरको सारंगी तिहारलाई


काठमाडौं ।

सोसल–ड्रामा जनराको फिल्म पूर्ण बहादुरको सारंगी आगामी तिहारमा रिलिज हुने भएको छ। फिल्मको निर्माण समूहले कातिक १५ गते लक्ष्मीपूजाको दिनलाई रिलिज डेट तोक्दै यसको फर्स्ट लुक पोस्टर सार्वजनिक गरेको छ।

सार्वजनिक फस्ट लुक पोस्टरमा फिल्मका मुख्य पात्रको रूपमा अभिनय गरेका विजय बराल र प्रकाश सपूतलाई प्रस्तुत गरिएको छ। विजयको झुस्स दारी र जुंगामा क्लोजअपमा वान साइड फेस देखाइएको छ। उनको तस्वीरमुनि प्रकाश सपूत सरकारी स्कुलको ड्रेसमा हातमा मार्कसिट बोकेर उफ्रिँदै घरतिर कुँदिरहेका छन्।

सरोज पौडेलको लेखन र निर्देशनमा निर्माणाधीन फिल्ममा विजय र प्रकाशसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, श्याम केसी, जानवी पौडेललगायतले अभिनय गरेका छन्।

सेभेन सिस सिनेमा र बाँसुरी फिल्म्स्को ब्यानरमा विनोद पौडेल र प्रतीक सुवेदीद्वारा निर्मित फिल्ममा पटकथा र संवाद महेश दवाडी, संगीत प्रशान्त शिवाकोटी, सारंगी हेमन्त कान्छा रसाइली, स्वर प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधान, छायांकन शिवराम श्रेष्ठ र सम्पादन सुरेन्द्र पौडेलको रहेको छ। सोसल–ड्रामा जनरामा निर्मित फिल्मले गन्धर्व परिवारको कथा भन्ने बताइएको छ।