जुझारु युवा पत्रकार दीर्घको द्वन्द्व पत्रकारिकतासम्बन्धी पुस्तक विमोचन

द्धन्द्धग्रस्त नेपालको पत्रकारिता थाहा पाउने सजीव सन्दर्भ सामग्री


काठमाडौं ।
सुदुरपश्चिमको धनगढीबाट अढाई दशक देखि नेपाली पत्रकारितामा छाउँदै आइरहेका जुझारु युवा पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित ‘द्धन्द्ध पत्रकारिताको एक दशक’ नामक पुस्तक विमोचन भएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउबाले शुक्रबार काठमाडौमा एक कार्यक्रमका बीच सो संग्रहणीय पुस्तकको विमोचन गर्नुभएको हो ।


पञ्चायत ढलेपछि उदाएका पुस्ताका सदस्य दीर्घले त्यसपछि राज्य संचालनमा देखा परेका सबैखाले उतारचढावको भेलमा पौडिएर शसक्त पत्रकारिता गर्दै आइहरनुभएको छ । त्यही शसक्त पत्रकारिताकै क्रममा उहाँले एउटा सक्रिय संवाददाताका रुपमा सशस्त्र द्धन्द्धको पुरै अवधिमा देखेभेगेका क्षणहरुलाई समेटेर नेपाली पत्रकारितामा नयाँ आयाम दिने उद्धेश्य सहित सो पुस्तक प्रकाशन गर्नुभएको हो ।यद्यपि यो पुस्तक व्यक्तिगत संस्मरण मात्रै नभएर यसले नयाँ पुस्तालाई द्धन्द्धग्रस्त नेपालको पत्रकारिता कस्तो थियो भनेर थाहा पाउन एक सजीव सन्दर्भ सामग्रीको रपमा रहने विश्वास गरिएको छ ।


पुस्तकको विमोचन गर्दै नेपाली कांग्रेसका सभापति देउवाले दीर्घको यो पुस्तकले नेपाली समाजामा हिजोको द्धन्द्धग्रस्त अवस्थाको विश्लेषण गरी आगामी दिनमा त्यस्तो संकटपूर्ण र जोखिमको अवस्था आउन नदिन सबै पक्षलाई सचेत पार्ने विश्वास व्यक्त गर्नुभयो ।

विगतमा द्वन्द्वका क्रममा भएका घटनालाई बिर्सेर समृद्ध नेपाल निर्माणको अभियानमा जुट्न समेत देउवाले आग्रह गर्नुभयो । सङ्क्रमणकालीन न्याय (टीआरसी) विधेयक सर्वसम्मतिबाट पास भई प्रमाणीकरणसमेत हुनु द्वन्द्व व्यवस्थापनका लागि ठूलो उपलब्धि भएको बताउँदै देउवाले विगतका अनुभवसहित मुलुक विकासमा अघि बढिरहेकोमा खुशी व्यक्त गर्नुभयो ।


पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेकपा (एमाले)का सचिव लेखराज भट्टले यस्ता पुस्तकहरुले द्धन्द्धको चिरफार गर्दै द्धन्द्ध बढ्न नदिन सबै पक्षलाई प्रोत्साहित गर्ने भएकाले यस्तै प्रकृतिका पुस्तकहरु आगामी दिनमा पनि आउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य नैनसिंह महरले नेपालको द्वन्द्व अध्ययन गर्नेका लागि पुस्तक महत्वपूर्ण दस्तावेज साबित हुने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले नेपालको शान्तिप्रक्रियालाई मौलिक रुपमा टुङ्ग्याउन पत्रकारिता क्षेत्रको पनि ठूलो योगदान रहेको र प्रस्तुत पुुस्तकले युद्धका क्षणहरुलाई सजीव रुपमा उतारेको र पत्रकारिताका नयाँ पुस्ताका लागि किताबले गौरवपूर्ण सन्देश दिने बताउनुभयो ।

सो अवसरमा पुस्तकको समीक्षा र पुस्तकले दिएका विभिन्न सन्देशहरुको चर्चा गर्दै वरिष्ठ पत्रकारहरू कुन्द दीक्षित, बबिता बस्नेत लगायतले पुस्तक पत्रकारिताका विद्यार्थीका लागि महत्वपूर्ण गहना भएको बताउनुभयो । पुस्तकका सर्जक युवा पत्रकार उपाध्यायले माओवादी सशस्त्र द्वन्द्वका समयमा पत्रकारका भोगाइ, द्धन्द्धरत पक्षका क्रूरता, पीडा, यातना र अवस्थाको वर्णन गरिएको पुस्तक शान्ति पत्रकारिताको अद्भुत नमूना रहेको बताउनुभयो ।

मुलुकमा भएको १० वर्षे माओवादी द्वन्द्वको साक्षी र इतिहासका रुपमा रहेको पुस्तकमा घटनाको तिथि, मिति, स्थान, संलग्न व्यक्ति र भोगाइबारे सविस्तार समेटिएको छ । सङ्गम बुक्स पब्लिकेसन प्रालि द्धारा प्रकाशित १५४ पृष्ठको सो पुस्तकमा भुमिका सहितको टिप्पणी लेख्दै पत्रकार महासंघका पुर्व अध्यक्ष तारानाथ दाहालले पुस्तकलाई नेपाली राजनीति र पत्रकारिताको मात्रै नभएर नेपाली सभ्यताको नै सबैभन्दा कठिन समयको तस्वीरको रुपमा चित्रण गर्नु भएको छ ।

यसैगरी पत्रकार महासंघका अर्का पूर्व अध्यक्ष डा सुरेश आचार्यले यस पुस्तकलाई द्धन्द्ध पत्रकारिताको संष्लेसित इतिहासको रुपमा अथ्र्याउनुभएको छ । यस्तै पत्रकार महासंघका अर्का पुर्व अध्यक्ष विष्णु निष्ठुरीले पुस्तक नयाँ पुस्तालाई द्धन्द्धग्रस्त नेपालको पत्रकारिता बुझ्न एक सजीव सामग्रीको रुपमा रहने टिप्पणी गर्नुभएको छ ।

सो पुस्तकमा बिथोलिएको माओवादी आमसभा, पण्डौनले व्यहोरेको युद्ध,मुर्दा शान्तिमा बनबेहडा,सैन्य क्याम्पमा चार रात, आँखामा कैद आक्रमण, एफएम लुटिएको रात, निर्दाेष मारिएका दुई घटना, न्यायको अपूरो लडाई, धम्कीले नडगेको कलम, बम गोली सँग अभ्यस्त,कहिले मिल्ला न्याय, पत्रकारको सङ्घर्ष, देउवामाथिको त्यो आक्रमण लगायत शीर्षकमा त्यस बेलाको द्वन्द्वसम्बन्धी विभिन्न खाले कारुणिक र मार्मिक सहितका २४ घटना समेटिएका छन् ।