युएस ओपनमा जोकिभिच स्तब्ध, तेस्रो चरणमै बाहिरिए


काठमाडौं ।

पेरिस ओलम्पिकमा टेनिस स्वर्ण पदक जितेका नोभाक जोकोभिच युएस ओपनबाट बाहिरिएका छन् ।

नोभाक अष्ट्रेलियाका खेलाडी एलेक्सेई पोपिरिनसँग ४-६, ४-६, ६-२ र ४-६ को सेटमा पराजित भएसँगै युएस ओपनको तेस्रो चरणबाटै बाहिरिएका हुन् ।

यस वर्ष भएको विम्बल्डन ओपनको तेस्रो राउण्डमा जोकोभिच र पोपिरिनबीचको खेल भएको थियो, जसमा पोपिरिनले जोकोभिचसँग हार बेहोरेका थिए । तर युएस ओपनमा पोपिरिनले जोकोभिचलाई पराजित गर्दै प्रतियोगिताबाट बाहिर पठाएर सो हारको बदला लिएका छन् ।

एटीपी वरियतामा दोस्रो स्थानमा रहेका जोकोभिचलाई २८औं स्थानमा रहेका पोपिरिनले पराजित गरेका छन् । 

यस वर्ष, रोलान्ड ग्रोस र विम्बल्डन ओपन विजेता कार्लोस अल्काराजले पनि यूएस ओपनको दोस्रो चरणमा बोटिक भान डे जान्डस्चाल्पसँग हार बेहोरेका थिए । नोभाक यति छिट्टै युएस ओपनबाट बाहिरिएको सन् २०१७ यता पहिलो पटक हो ।