पारा ओलम्पिकमा पलेशाले जितिन् ऐतिहासिक पदक


काठमाडौँ।

पेरिस पारालिम्पिक्समा कांश्य पदक जितेर पलेशा गोवर्धनले नेपाली खेलकुदमा नयाँ इतिहास रचेकी छन् । 

शुक्रवार भएको तेक्वान्दोको के – ४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समूह कांस्य पदक जित्दै पलेशा नेपाली खेलकुद इतिहासमा सबैभन्दा ठूलो पदक जित्ने पहिलो र अहिलेसम्मकै एकमात्र खेलाडी बनेकी छन् ।

कांस्य पदकका लागि भएको रिपाचेजमा पलेशाले सर्बियाकी मारिजा मिकेभलाई १५-८ अंकले हराउँदै नेपाललाई ऐतिहासिक पदक दिलाइन । यसअघि पलेशाले पेरिस पारालिम्पिक्स अन्तर्गत रिपाचेजको पहिलो खेलमा फ्रान्सकी सोफी काभरजानलाई २-१ को स्कोरमा पराजित गरेकी थिइन् ।

सेमिफाइनलमा पलेशा विश्व नम्बर एक खेलाडी ब्राजिलियन सिल्भाना मायारा कार्डोस फरनान्डेजसँग १०-८ ले पराजित भएकी थिइन्। शुक्रवार भएको क्वाटरफाइनलमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१-० को फराकिलो अन्तरमा पराजित गरेकी थिइन्।

त्यसअघि उनले चीनको ह्वाङझाउमा सम्पन्न चौथो एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी थिइन् । एसियाली पारा खेलकुदमा नेपालले जितेको यो पहिलो पदक थियो ।

दोस्रो पटक पारालिम्पिक्स खेलिरहेकी पलेशा गत संस्करण भने कांस्य पदकबाट चुकेकी थिइन् । उनले टोकियो ओलम्पिक्समा दुई बाउट जितेकी थिइन् ।‌ तर, कांस्य पदक भिडन्तमा चीनकी खेलाडीसँग पराजित भएकी थिइन् ।

नेपालले सन् १९६४ को टोकियोमा पहिलो पटक समर ओलम्पिक्समा सहभागिता जनाएको थियो । ६ दशकदेखि नेपालले ओलम्पिक्समा सहभागिता जनाउँदै आएपनि कुनै पनि खेलाडीले ओलम्पिक्समा एक खेल समेत जित्न सकेका थिएनन् । यो अवस्थामा पारा खेलाडी पलेशाले नेपाललाई पहिलो पदक दिलाएकी छन् ।