६० प्रतिशत आयोजनामा वातावरण र सामाजिक समस्या आउँछ : नवराज पोखरेल


दुई दशकभन्दा बढी समयदेखि विकास र वातावरण क्षेत्रमा काम गरिरहनुभएको नवराज पोखरेल वातावरण तथा सामाजिक सुरक्षणसम्बन्धी डिजाइन, कार्यान्वयन तथा अनुगमन कार्यमा विशेष दख्खल राख्नुहुन्छ । एसियाली विकास बैंक, विश्वबैंक समूहलगायत तथा नेपाल सरकारका दर्जनौ साना तथा ठूला आयोजनाहरुमा वातावरण र सामाजिक क्षेत्रमा कार्य गर्दै आउनु भएको छ । सडक, विद्युत् प्रसारण लाइन, जलविद्युत्, सिँचाइ विविध विकासे आयोजनाको आफ्नो विज्ञता प्रस्तुत गर्दै आउनुभएका पोखरेलले थाइल्यान्डको प्रिन्स अफ सोक्ला विश्वविद्यालयबाट विद्यावारिधीसमेत गरिरहनुभएको छ । नेपालका विकास निर्माणमा वातावरण र सामाजिक विषयका बारेमा पोखरेलसँग गरिएको कुराकानी ।

वातावरण र सामाजिक सुरक्षण के हो, विकास आयोजनाहरूमा यसको महत्व के छ ?

– वातावरण र सामाजिक सुरक्षण विकासलाई दिगो र जनमैत्री बनाउनका लागि अवलम्वन गरिने मूल मन्त्र हो । विकास निर्माण गर्दा प्राकृतिक, सांस्कृतिक, वातावरण तथा सामाजिक आर्थिक क्षेत्रमा पर्ने प्रभावहरुलाई सकेसम्म हटाउने, घटाउने र त्यो पनि गर्न नसके क्षतिपूर्ति दिने गरी आयोजनालाई कार्यान्वयन गर्नुपर्छ । त्यसको अनुगमन र लेखापरीक्षण पनि गर्ने गरिन्छ । नेपालको हकमा वातावरण संरक्षण ऐन र नियमावली चाहिँ यसका कानुनी निर्देशनात्मक अंग हुन् ।

नेपालमा यसको महत्वलाई कसरी हेर्नुभएको छ ?

– नेपाल होस् वा अन्य कुनै देश जहाँ विकास निर्माण हुन्छ, त्यहाँ यसको महत्व हुन्छ । नेपालको प्राकृतिक वातावरण, सामाजिक, आर्थिक र सांस्कृतिक अवस्था अझै विविधतायुक्त छ । भौगोलिक अवस्था तुलनात्मक रूपमा कमलो र कलिलो छ । हाम्रो भौगर्भिक अवस्थालाई हेर्ने हो भने अन्य ठाउँको भन्दा कलिलो भनेर बुझिन्छ । जैविक रूपमा सानै क्षेत्रभित्र पनि विविधतायुक्त छ । यो विशेषताले समग्र हाम्रो भूगोललाई जोखिमजन्य अर्थात् सजिलै क्षति हुने हो भन्ने कुरा बिज्ञानले भन्छ ।
अर्कोतर्फ विकास निर्माणका कार्य गर्दा भूगोल, भूउपयोग, जैविक तथा प्राकृतिक वातावरणलाई असर पर्छ नै । सँगसँगै हाम्रो समाज पनि विविधतायुक्त छ । जनसांखियी अवस्था पनि आदिबासी, दलित, पिछडिएको वर्ग सबैलाई एउटा समाज र समुदायभित्र अटाएको छ । यो विविधतायुक्त समाज र वातावरणलाई न्यायोचित रुपमा विकासको सकारात्मक र नकारात्मक प्रभावबाट भागीदार बनाउनको लागि पनि सुरक्षाको महत्व छ ।

सर्वसाधारणले बुझ्ने भाषामा सामाजिक सुरक्षण र यसको महत्वलाई बताइदिनुस् न ?

– सामान्यतया विकास निर्माणका कार्यहरु गर्दा त्यो विकास निर्माणका कार्यले स्थानीय सामाजिक, आर्थिक र सांस्कृतिक वातावरणमा पार्न सक्ने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै सकारात्मक प्रभावलाई आधिकारिक बनाउने कार्य नै सुरक्षण हो ।
यसमा स्थानीय भौतिक वातावरणजस्तै पानी, माटो, हावा, भू–बनोटदेखि बोटबिरुवा, वनजंगल, जनावर, पर्यावरणीय सन्तुलन अनि स्थानीय समुदाय, सस्कृति, आर्थिक अवस्थाजस्तै बिषयमा के कसरी प्रभाव पर्न सक्छ भनेर अध्ययन गरिन्छ । ती प्रभावलाई न्यूनीकरण गर्न के गर्न सकिन्छ भनेर योजना बनाएर ति योजनालाई कार्यान्वयन चाहिँ निर्माणको क्रममा गरिन्छ । सोही समयमा तिनीहरुको अनुगमन गरी कार्यान्वयन गरिन्छ । यसले आयोजना विकास निर्माणका कामप्रति स्थानीयको अपनत्वलाई बढाउँछ भने अर्कोतर्फ निर्माण कार्यलाई सन्तुलित रूपमा छिटो अनि दिगो बनाउँछ्र ।

नेपालमा सुरक्षणका अवसर र चुनौतीहरू के कस्ता छन्, कहिलेकाहीँ वातारण सुरक्षणलाई झन्झटिलो मानिने गरिएको छ । यस्तो किन र के कारण् ले होला ?

– झन्झटिलो देखिएको छ । किनभने समुदायसँग लिने स्वीकृति, कानुनी स्वीकृति अनि प्रशासनिक स्वीकृतिहरु सबै नै यही मूल्यांकनका अंग भएर रहेका छन् । ती सबै प्रक्रियाहरू पूरा गर्दै गर्दा यी सबैले लिने समय र सबै प्रक्रिया पूरा गर्दा झन्झटलाग्दो देखिएको हो । यसले मुलत सर्वसाधारण सरोकारवालालाई आधिकारिक जानकारी गराउने र तिनीहरुको अधिकार अनि वातावरण संरक्षणसँगै समतामुलक विकासको बाटो हिँडाउने भएको हुनाले यी सबैलाइ सँगै लिएर हिँड्दा झन्झटिलो देखिएको हो । तर, सुरक्षणलाई राम्रोसँग व्यवस्थित गर्दै आयोजनामा संलग्न गरेर लैजाँदा झन्झटिलो होइन कि अझै छिटो र सहज रुपमा सम्पन्न हुने गर्दछन ।
नेपालमा अहिले पनि ६० प्रतिशतभन्दा धेरै आयोजना वातावरण र सामाजिक क्षेत्रमा आउने विवाद र अप्ठ्यारोका कारण रोकिएर बसेका हुन्छन् । तर, तिनीहरुलाई राम्रोसग व्यवस्थित गरी सुरक्षणको मर्मलाइ सँगै लिएर हिँड्ने हो भने त्यस्ता अप्ठ्यारा र अवरोध हरु आउने नै थिएनन् ।

सुरक्षणले आयोजनालाई कसरी सहयोग गर्छ त ?

– सुरक्षण विकास निर्माणको चक्रसँगै जोडिएर आउने विषय हो । यसले आयोजनाको विकास क्रममा प्रस्तावित आयोजनाका कारण प्राकृतिक सामाजिक, आर्थिक र साँस्कृतिक वातारणमा कसरी प्रभाव पार्न सक्छ भनेर मूल्यांकन गर्छ । यसरी पर्न सक्ने प्रभावलाई न्यूनीकरण गर्दै आउन सक्ने अवरोध पहिले नै नियन्त्रण गर्ने भएकाले समुदायलाई उचित अपनत्व बढाउनको लागि सामुदायमा सहयोग कार्यक्रम गर्ने, लैंगिक, क्षेत्रीयलगायत समतामुलक कार्यक्रम लागू गरी तिनीहरुमार्फत समुदायलाई पनि आयोजनाप्रति सकारात्मक बनाउन मद्दत गर्दछ । निर्माण कार्य गर्दै गर्दा निर्माण सुरक्षा, सूचना प्रवाह, सरोकारवालासँग नियमित अन्तक्र्रिया निर्णय प्रक्रियामा सामवेशीता, गुनासो सुनुवाई संयन्त्र निर्माण गरी त्यसको परिचालनलगायतका कार्य गर्दा ति सबै कार्य आयोजनाका क्रस कटिङ क्षेत्र हुन् । यस्तो कार्यले आयोजना सञ्चालन गर्न सजिलो हुन्छ ।

आगामी दिनमा सुरक्षण कस्तो हुनु आवश्यक छ ?

– सुरक्षणलाई कानुनीरूपमा अझै सशक्त बनाउँदै अध्ययन चरणमा हुने गरेका झन्झटिलो प्रक्रियालाई सहज र सरल बनाउनुपर्ने हुन्छ । अन्तर्राष्ट्रियरूपमा अझै बैज्ञानिक बनाउँदै समग्र सरोकारवालालाई समेटेर लैजान सक्ने गरी ल्याउनुपर्छ ।