दिनेश डिसी विकास बोर्डको अध्यक्ष 


चलचित्र विकास बोर्डको अध्यक्षमा फिल्म निर्देशक, अभिनेता तथा सञ्चारकर्मी दिनेश डिसी नियुक्त भएका छन्। बिहीबार राति बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो।

 सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षसमेत रहेका डिसीले यसअघि दुई पटकसम्म बोर्ड अध्यक्ष हुने अवसर अस्वीकार गरेका थिए। रेडियो, टेलिभिजन तथा स्टेज कार्यक्रमका कुशल सञ्चालक तथा स्टेसन मेनेजरको अनुभव संगाल्दै आएका उनी नेपाल चलचित्र निर्देशक समाजको अध्यक्ष भइसकेका छन्। 

उनलाई सरकारले दुई वर्षको कार्यकालका लागि अध्यक्ष नियुक्त गरेको हो। सानो पर्दाबाट अभिनय करियर सुरु गरेका उनले विभिन्न टेलिफिल्म, सिरियल र फिल्ममा अभिनय गरेका छन् भने फिल्म निर्देशनसमेत गरेका छन्। 

बोर्ड अध्यक्षमा डिसीसँगै  अभिनेत्री तथा निर्मात्री करिश्मा मानन्धर, सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक तथा डकुमेन्ट्री फिल्म निर्देशक राजेश थापा, फिल्म निर्देशक दीपा बस्नेत, बोर्डका पूर्वसदस्य प्रकाश भट्टराई र फिल्म निर्माता एवं बोर्डका पूर्वसदस्य अर्जनकुमार डंगोल (अर्जनकुमार) ले दरखास्त दिएका थिए। तीमध्ये डिसीका साथ थापा र बस्नेतको नाम मन्त्रिपरिषद्मा पेस गरिएको थियो।