एकीकृत समाजवादीको बागलुङ जिल्ला कमिटी एमालेमा समाहित


बागलुङ ।

नेकपा एकीकृत समाजवादीको बागलुङको पुरै जिल्ला कमिटी एमालेमा समाहित भएको छ । बिहीबार एक कार्यक्रमका बीच समायोजन कार्यक्रम गरेर एकीकृत समाजवादीका नेताहरूलाई एमालेले पार्टीमा भित्र्याएको हो । 

एकीकृत समाजवादी बागलुङ जिल्लाका सम्पूर्ण जनसंगठन र पेशागत संगठनहरू पनि एमालेमा समाहित भएको एमालेले जनाएको छ । कार्यक्रममा एकीकृत समाजवादी बागलुङका अध्यक्ष लाल बहादुर थापाले एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसीलाई माइन्यूट हस्तान्तरण गरेका थिए । एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले एकिकृत समाजवादीका जिल्ला अध्यक्ष लाल बहादुर थापा र केन्द्रीय सदस्य श्रीप्रसाद शर्मासहितको टीमलाई पार्टीमा स्वागत गरेका छन् ।

एमालेकी केन्द्रीय पोलिट्व्यूरो सदस्य एवं जिल्ला इन्चार्ज मन कुमारी केसी, जिल्ला अध्यक्ष हिराबहादुर केसी र सचिव गणेश बहादुर थापामगर तथा एकीकृत समाजवादीका केन्द्रिय सदस्य श्रीप्रसाद शर्मा, जिल्ला अध्यक्ष लालबहादुर थापा र सचिव भरत पुरी बिहिवार संयुक्त विज्ञप्ति जारी गर्दै समाहित भएको घोषणा गरेका छन् ।

एमालेमा समाहित भएका नेकपा एसका विभिन्न तहमा रहेका नेताकार्यकर्ताहरूलाई विधानका परिधिभित्र रहेर पूर्ववत् जिम्मेवारीमा पुनस्र्थापित गर्ने र नयाँ जिम्मेवारी दिनुपर्नेलाई पार्टीका स्थापित मुल्य, मापदण्ड र योग्यताका आधारमा उपयुक्त एवं यथोचित जिम्मेवारी प्रदान गर्ने गरी एकीकरण गरिएको विज्ञप्तिमा जनाइएको छ । 

एमालेका तर्फबाट मनकुमारी केसी, डा. सुर्य पाठक, इन्द्रलाल सापकोटा हिरा केसी र गणेश थापा तथा एकीकृत समाजवादीको तर्फबाट श्रीप्रसाद शर्मा, लालबहादुर थापा र भरत पुरी रहेको कार्यदल गठन गरेको छ । 

नेकपा एमालेका इन्चार्ज गुरुङले विशेष कारणले बाहिर रहेका कमरेडहरु आफ्नै घरमा फकिएको र दाजुभाइबीच भेट भएको बताउँदै अब पछाडि नफर्किएर कम्युनिष्ट आन्दोलनलाई थप उचाइमा पुर्‍याउन अगाडि बढ्नुपर्ने बताए ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य श्रीप्रसाद शर्माले नेतृत्वले जुन उद्देश्यले एमालेबाट विद्रोह गरेर समाजवादीको जन्म भएको थियो त्यसको औचित्य प्रमाणित गर्न नसकेको कारण आफू एमालेमा फर्किएको बताए ।

जिल्ला अध्यक्ष लाल बहादुर थापाले अलग अलग रुपमा रहेर कम्युनिष्ट आन्दोलन अगाडि बढ्न नसक्ने भएकोले सिंगो जिल्ला कमिटीलाई एमालेमा समायोजन गरिएको बताए ।