ललितपुर र पोखरा प्रिमियरमा मन पराइयो वर एन्ड बधु


काठमाडौं ।

आफ्ना हरेकजसो फिल्मको देश वा विदेशमा भव्य तरिकाले प्रिमियर शो गर्ने निर्माता निर्देशक मिलन चाम्सले पछिल्लो फिल्म वर एन्ड बधुको राजधानी र राजधानीमा छुट्टाछुट्टै प्रिमियर शो आयोजना गरेका छन्।

आज शुक्रबारबाट अल नेपाल रिलिजमा आउने फिल्मको मंगलबार पोखरा र बुधबार ललितपुरमा प्रिमियर शो गरिएको हो। ललितपुरको लबिम मलमा रेड कार्पेट मिरर वाल्क प्रिमियर शो गरिएको हो।

एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित फिल्मको ललितपुरमा आयोजित प्रिमियर शोमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले फिल्म हरेक कोणबाट उत्कृष्ट बनेको चर्चा गरे। ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पनि फिल्मको दृश्य, कथावस्तु, कलाकारको अभिनय र निर्देशकीय पाटोको तारिफ गरे।

निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले फिल्म हेरेर आँखा सितल भएको बताइन्। हास्य कलाकार केदार घिमिरेले फिल्म नै राम्रो बनेको बताए। नायिका मिरुना मगरले आँचल शर्मालाई उनको भूमिका निकै सुहाएको प्रतिक्रिया दिइन्। नायिका आँचल शर्माले फिल्म दर्शकका लागि विशेष खुराक हुने बताइन्।

निर्देशक चाम्सले फिल्म दर्शकलाई मन पर्ने विश्वास व्यक्त गरे। डेब्यु अभिनेता कर्माचार्यले फिल्मका लागि निकै मिहिनेत गरेको बताए। फिल्म हेरेका अधिकांशले नव–नायक विवेक कर्माचार्यको कामको पनि तारिफ गरे।

नेपाल, रोमानिया, फ्रान्स, इटाली र स्पेनमा छायांकन गरिएको फिल्ममा विवेक कमाचार्य, आँचल शर्मा, गरिमा शर्मा, विजय लामा, विजु पार्की, रवीन्द्र खड्का, किरण केसी, सरिता लामिछाने, हिमेश पन्त, कुसुम शर्मा, श्रृष्टि खड्का, दिनेश काफ्ले, यमन श्रेष्ठ, अंशु महर्जन, सिता न्यौपानलगायत कलाकारले अभिनय गरेका छन्।

जानुका थापाद्वारा निर्मित तथा अमित रिजाल कार्यकारी निर्माता रहेको फिल्ममा प्रदीप भारद्वाजको लेखन, अर्जुन पोखरेलको संगीत, रवीन्द्र न्यौपाने र अनिस स्याङ्देनको कोरियोग्राफी, सन्तोष लामाको कला निर्देशन, हिमाल केसीको द्वन्द्व निर्देशन, सुदीप बरालको छायांकन निर्देशन र मिलन श्रेष्ठको सम्पादन रहेको छ।