न्यूयोर्क फेसन विकमा नेपालकी स्मिता छनोट


काठमाडौं ।

विश्वचर्चित फेसन विक न्यूयोर्क कटोअर फेसन विक–२०२४ मा नेपाली फेसन डिजाइनर स्मिता राई पनि छनोट भएकी छन्।
स्मिता अमेरिकाको फेसन सिटीको रूपमा चिनिएको न्यूयोर्क सहरमा आगामी सेप्टेम्बर १४ देखि हुने न्यूयोर्क कुटोअर फेसन विकका लागि छनोट भएकी हुन्।

यससँगै अब फेसन डिजाइनर स्मिताले तयार पारेका क्रियटिभ परिहनमा हलिउडका चर्चित मोडलहरूले क्याटवाक गर्नेछन्।

विख्यात फेसन डिजाइनर तथा मोडलहरूको प्रस्तुति रहने उक्त फेसन सप्ताहको ४०औँ संस्करण न्यूयोर्कस्थित एन्जल ओरेन्सान्ज फाउन्डेशन हलमा आयोजना हुँदैछ। हलिउडकै चर्चित फेसन शोमध्ये पर्ने उक्त फेसन सप्ताहमा छनोट हुने स्मिता एकमात्र नेपाली फेसन डिजाइनर हुन्।

इटहरीकी स्मिताले नेपालको चर्चित फेसन इस्न्टिच्युट आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनबाट फेसन डिजाइनिङ कोर्ष गरेकी हुन्। आईआईएफटीबाट ग्राजुएट भएपछि फेसन डिजाइजिङमा सक्रिय रहेकी स्मिताले आईआईएफटीमार्फत नै नेपाललाई प्रतिनिधित्व गर्दै सो फेसन विकमा सहभागिता हुन हाल अमेरिकामा रही आफ्ना सिर्जना तयार पर्दैछन्।

आईआईएफटीका प्रबन्ध निर्देशक फुपू तेञ्जिङ शेर्पाले यो फेसन विकमा हरेक वर्ष आईआईएफटीका ग्राजुएट विद्यार्थीलाई सहभागिताका लागि अवसर दिइने बताए।