मिसेस नेपाल वर्ल्ड छान्न अडिसन


काठमाडौं ।

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२४ छान्नका लागि भोलि शनिबार नयाँ बानेश्वारस्थित अर्याल इन्टरनेशनल होटलमा अडिसन हुने भएको छ।

आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले आगामी कातिक १० गते कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने मिसेस नेपाल वर्ल्ड २०२४ को विजेताले अमेरिकामा हुने मिसेस वल्र्डमा सहभागिता जनाउने अवसर प्राप्त गर्ने जानकारी गराए। यसका साथसाथै, सोही मञ्चमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेतासमेत चयन गरिने उनले बताए।

प्रतियोगिताका कोरियोग्राफर आश्विनीकान्त झाले मिसेस नेपाल वर्ल्डलाई यसपटक बृहत् ढंगले आयोजना गर्न लागेको बताए। आयोजक संस्थाका अनुसार मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलका विजेतालाई सिंगापुरमा हुने प्रतियोगितामा सहभागिताका लागि अवसर मिलाइएको छ।

रानी खरेलको संयोजनमा हुने प्रतियोगिताका लागि विभिन्न विधाका विज्ञले प्रशिक्षण दिनेछन्। अडिसनमा अभिनेताहरू सरोज खना, केदार घिमिरे, मिसेस नेपाल वल्र्ड २०२३ पृथिविया थापा, कोरियोग्राफर अश्विनी झा, सिप्रदी ट्रेडिङका महाप्रवन्धक युवराज बुढाथोकी, समाजसेवी राजेन्द्र तिवारी र इन्टरपेनर रञ्जन झा निर्णायक रहनेछन्।