विवादित काफ्ले सीटीईभीटी उपाध्यक्षको दौडमा


काठमाडौं ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को उपाध्यक्ष बन्न तत्कालीन सदस्यसचिव जीवनारायण काफ्ले प्रधानमन्त्री सचिवालयदेखि उपप्रधानमन्त्री हुँदै मन्त्रीको घर चाहार्न थाल्नुभएको छ।

करिब अढाइ वर्ष सदस्य सचिवको कार्यकाल सम्हाल्दा विवादमा परेका काफ्ले प्रधानमन्त्रीको सचिवालयमार्फत् उपाध्यक्ष हुन लागिपर्नुभएको छ। सदस्य सचिव हुँदा नर्सिङमा आवेदन दिएका कलेजलाई सम्बन्धन दिलाइदिने भन्दै आर्थिक चलखेल गर्ने, केही कलेजको विषय परिवर्तन गराएका, ०५९ सालदेखि सम्बन्धन दिन नसकेका कलेजलाई आर्थिक मोलतोल गरी सम्बन्धन दिन खोजेकोलगायतका दर्जनौं आरोप लागेका र सीटीईभीटीको इतिहासमै बदनाम भएका काफ्ले शक्तिकेन्द्र धाउन थाल्नुभएको छ।

तत्कालीन शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको कार्यकालमा २०७८ सालमा नियुक्ति भएका काफ्लेले गैरकानुनी रूपमा विभिन्न प्रस्ताव ल्याएर पास गराएको आरोप लागेको छ । उच्चस्रोतका अनुसार काफ्ले सदस्य सचिव रहँदा जीवराज आश्रित प्रतिष्ठानले सञ्चालन गरेको नर्सिङ क्याम्पससँग आफैं आबद्ध भएको सिद्धार्थ पोलिटेक्निक सञ्चालन गरेको देखिएको थियो। एउटै भवनमा दुईवटा कलेजलाई सम्बन्धन दिएर सिद्धार्थ पोलिटेक्निकमा आफ्नो लगानी गरेको आरोप लागेको छ।


कोहलपुर, पोखरा, भरतपुरलगायतका जिल्लामा सञ्चालित कलेजलाई विषय परिवर्तन गरी आर्थिक लाभ लिएको आरोप काफ्लेमाथि छ । स्रोतका अनुसार हाल उहाँ उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, पूर्वमन्त्री पद्मा अर्याललगायतसँग नजिकको सम्बन्ध देखाएर उपाध्यक्ष हुने दौडमा लागेका छन्।

सीटीईभीटीका कर्मचारीहरू तत्कालीन प्रशासन विभाग रहँदा हरेक शुक्रवार अनुगमनका क्रममा उपत्यका बाहिर गएर कार्यालयसँग भ्रमणभत्ता र कलेज सञ्चालकसँग आर्थिक लाभ लिने गरेको व्यक्तिलाई उपाध्यक्षको जिम्मेवारी दिए संस्था नै धराशयी हुने बताउँदै आएका छन् ।

‘उनी त शक्तिकेन्द्रम्मा धाएर आर्थिक प्रलोभन देखाउन खप्पिस छन्, यहाँसम्म कि तत्कालीन उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई काका, तत्कालीन मन्त्री पद्मा अर्याललाई दिदी र तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई गिरीदाइको नाता लगाएर आफू अनुकूलको बनाउन माहिर छन् । अहिले पनि उपाध्यक्ष भएपछि आर्थिक लाभ लिन शक्तिकेन्द्रदेखि मन्त्रीसम्मलाई जस्तासुकै आश्वासन दिन पनि तयार छन्’ –सीटीईभीटीका पूर्वकर्मचारीको आरोप छ।


तत्कालीन उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीको चारवर्षे कार्यकाल सकिएपछि रिक्त रहेको सो पदमा नियुक्ति हुन पूर्वसदस्य सचिव काफ्ले पटकपटक शिक्षामन्त्री विद्या भट्टराईसँग भेट गरिसक्नुभएको छ । शिक्षामन्त्री अध्यक्ष रहने सीटीईभीटीमा सम्बन्धन दिने अधिकार उपाध्यक्षसँग हुन्छ । फेरि नयाँ सम्बन्धन दिएर आर्थिक लाभ लिन उपाध्यक्षको दौडमा लागेका छन्।


स्रोतका अनुसार पद पाए जुनसुकै पाटी आबद्ध हुन सक्ने आँट भएका काफ्ले उमेर हदका कारण कार्यकाल सकिएपछि पनि निषेधाज्ञा ल्याएर केही महिना सदस्य सचिवको कुर्सीमा बसेका थिए । २०८० साउन ४ गरे अवकास हुनुपर्ने उनी अदालतको आदेश र मन्त्रीपरिषद्ले आफूलाई चारवर्षका लागि नियुक्ति गरेको भन्दै अदालत गुहारेका थिए ।

परिषद्को उपाध्यक्ष हुन पूर्वउपाध्यक्ष खगेन्द्रप्रसाद अघिकारीसमेत लाग्नुभएको छ । अघिल्लो कार्यकालमा कलेजहरूसँग पैसा उठाएर अपग्रेडिङ गरेका आरोप लागेको थियो । काफ्लेले आर्थिक प्रलोभनमा कलेजहरूको अपग्रेडिङ गरेका थिए ।

अपग्रेडिङ गर्दा सदस्य सचिव काफ्लेले कलेजको हैसियतअनुसार रकम तोकेर संकलन गरेको आरोप छ । त्यस बेला तोकिएको रकम नदिनेको कलेजको अपग्रेडिङ रोकिएको कलेज सञ्चालकको आरोप छ । चिकित्सा शिक्षा आयोगले नर्सिङ भर्ना बन्द गराउँदा चुप लागेका सदस्यसचिव काफ्लेले विषय थप र अपग्रेडिङ गर्दा प्रतिकलेज ५ देखि १० लाख रुपियाँ लिएको आरोप लागेको थियो ।