उत्कृष्ट कार्यसम्पादनका आधारमा अर्याल बने २७ औं मुख्य सचिव 


काठमाडौँ।

सरकारले २७ औ मुख्य सचिवमा वरिष्ठ सचिव एकनारायण अर्याललाई नियुक्त गरेको छ । 
 हाल गृहसचिव रहेका अर्याललाई यही १५ भदौ देखि लागू हुने गरी नेपालको २७ औं मुख्य सचिवमा नियुक्त गरिएको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई १६ भदौदेखि लागू हुने गरी मुख्य सचिव नियुक्त गरेको  एक मन्त्रीले जानकारी दिए ।

मुख्य सचिव लीलादेवी गड्तौलाले शुक्रबारदेखि अनिवार्य अवकाश पाउने भएकाले अर्याललाई नयाँ मुख्य सचिव बनाइएको हो ।मुख्य सचिवको दौडमा अन्य सचिवहरु दिनेश भट्टराई,  तोयानारायण ज्ञवाली, रामकृष्ण सुवेदी  लगायत रहेका थिए ।

सरकारले उत्कृष्ट  कार्यसम्पादनका आधारमा अर्याललाई मुख्य सचिव नियुक्त गरेको हो । निजामती सेवा ऐनमा बहालबाला सचिवहरु मध्ये कार्यसम्पादन  तथा ज्येष्ठताका  आधारमा एकजनालाई सरकारले मुख्य सचिव नियुक्त गर्न सक्ने प्रावधान रहेको छ । सो ऐन अनुसार उत्कृष्ट कार्यसम्पादनका आधारमा अर्याललाई मुख्य सचिव बनाइएको बताइएको छ । 

 अर्याल समकालीन सचिवहरुमध्ये निर्णय गर्न सक्ने, बोल्ड, कार्यसम्पादनमा अब्बल र कुशल समन्वयकर्ताको रुपमा रहेका छन् । उनी सेवा प्रवाह प्रभावकारी बनाउने र सुशासन कायम गर्ने सवालमा समेत नीकै संवेदनशील मानिन्छन् । हाल गृहसचिव रहेका अर्यालले यस अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रहेर सुधारका विभिन्न कार्यहरु गरेका थिए । कलकत्ताको महावाणिज्यदूत रहदा समेत उनले सफलतापूर्वक भूमिका निर्वाह गरेका थिए ।