अस्पतालजन्य फोहोर व्यवस्थापन अनुगमन : केहीलाई सुझाव, केहीलाई कारबाही गर्न सिफारिस

658
Shares

यो पटक पोलिक्लिनिक र ठूला ल्याब निसानामा
–मापदण्ड नपुगेका अस्पताललाई ऐनअनुसार जरिवाना लिने तयारी

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालित अस्पतालको फोहोर व्यवस्थापन अनुमगन शुरू गरेको छ। काममा वातावरण व्यवस्थापन विभागले गएको सोमबारबाट अनुगमन शुरू गरेको हो। तीन दिनमा ६ अस्पताल र पोलिक्लिनिकको अनुमगन गरेको छ।

विभागले यो वर्ष राजधानीमा सञ्चालित पोलिक्लिनिक र नाम चलेका ठूला ल्याबको समेत फोहोर अनुगमन गर्ने तयारी गरेको छ। विभाग प्रमुख सरिता राईले यो वर्ष करिब ६० स्वास्थ्य सेवा प्रदायक निकायको अनुगमन गर्ने जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘गत वर्ष अधिकांश सरकारीसहित ५० वटामा अनुगमन गरेका थियौं, त्यसमध्ये २० वटालाई कारबाही गरेका थियौं ।’ सोमबारबाट शुरू भएको अनुगमनको पहिलो दिन सोमबार कलंकीको नेसनल र सहिद मेमोरियल, मंगलबार बानेश्वरको एएसजी आई केयर र नेपाल स्किन हस्पिटल, कमलपोखरीको हिमाल र डिल्लीबजारको सिद्धी पोलिक्लिनिकमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा सोमबार कलंकीको नेसनल अस्पतालले मापदण्डअनुसार अस्पतालजन्य फोहोर व्यवस्थापन नगरेपछि फोहोर संकलन र ढुवानीमा रोक लगाएको छ।

अनुगमनका क्रममा कमजोरी देखिएका अस्पतालालाई सुझावसहित निर्देशन दिएको छ। अस्पतालजन्य फोहोर व्यवस्थापन भए/नभएको विषयमा अनुगमन गर्न विभागका वातावरण निरीक्षक सृष्टि श्रेष्ठ, फोकल पर्सन सानुमैया महर्जन, विभागका वातावरण इन्जिनियर निशा कोइराला, राजाराम कोइरालासहितको निरीक्षण जारी राखेका छन् ।

वातावरण व्यवस्थापन विभागका वातावरण निरीक्षक श्रेष्ठले स्रोतमा फोहोर वर्गीकरण, वर्गीकरण भएको फोहोर ढुवानी, भण्डार कक्ष र निर्मलीकरण प्रविधिबारे स्थलगत अनुगमन गरेको जानकारी दिनुभयो । टोलीले संक्रमित फोहोरलाई निर्मलीकरण गर्ने विधिको अनुगमन गरेको थियो । टोलीले अस्पतालमा फोहोर निर्मलीकरण गर्न अटोक्लेभ वा अन्य कुनै विधिको प्रयोग भए नभएकोलगायतका विषयमा अनुगमन गरेको थियो । अनुगमनपछि विभागले सबै अस्पताललाई सुझाव र निर्देशन दिनेछ।


फोहोरमैला उत्पादन, निर्मलीकरण फोहोरमैला ऐनअनुसार गर्नुपर्ने, अस्पतालमा फोहोर व्यवस्थापनमा संलग्न कर्मचारीलाई तालिमको व्यवस्था गर्नुपर्ने, अस्पतालको व्यवस्थापन पक्षले नियमित अनुगमन गर्नुपर्ने, हानिकारक र संक्रामक फोहोरलाई अटोक्लेभ गर्नुपर्ने, अस्पतालजन्य फोहोरमैला जथाभावी विसर्जन गर्न नपाइनेलगायतको सुझाव दिने तयारी गरेको छ।

त्यस्तै, अनुगमन भएका सबै अस्पताललाई स्रोतमा फोहोर मिसिन सक्ने, ढुवानी तथा प्रशोधन कार्यमा सहभागी हुने व्यक्तिको सुरक्षा, भण्डारण कक्षको उचित प्रबन्ध र बाहिर निकाल्ने फोहोरमा धारिलो तथा जोखिमयुक्त फोहोर मिसिन सक्ने खतराबाट बचाउन सुझाव दिएका थिए।

अनुगमनका क्रममा स्वास्थ्य संस्थाहरूले स्रोतमा फोहोर वर्गीकरण नगर्नु, वर्गीकरण गरिएको फोहोरको सुरक्षित ढुवानी नहुनु, ढुवानी गरेर भण्डारण कक्षमा लगेपछि मात्र जोखिमयुक्त फोहर वर्गीकरण गर्न थाल्नु, जोखिमयुक्त फोहोर निर्मलीकरण गरेपछि वर्गीकरण नगर्नु, प्रकृतिअनुसार भण्डारण उपयुक्त नहुनु, निर्मलीकरणका साधन तथा उपकरण नहुनु, भएकाहरूको पनि उचित प्रयोग नहुनु अधिकांशमा देखिने कमजोरी हुन् ।

विभागीय प्रमुख राईले अस्पतालजन्य फोहोरलाई व्यवस्थित गर्न अनुगमनलाई तीव्रता दिएको जानकारी दिनुभयो। विभागले गत वर्ष फागुन १ गतेबाट अनुगमन गरेको भियो। यो वर्ष दशैंअगावै सक्ने गरी अनुगमनलाई तीव्र बनाएको छ। गतवर्ष अनुगमन गरेपछि फोहोर संकलनमा रोक लगाएको अस्पतालमा फेरि अनुमगन गरेको थियो।

विभागले गत वर्ष फैफियत देखिएका अस्पतालमा यो वर्ष पु्नः अनुगमन गर्ने र पहिलाकै प्रक्रिया दोहोर्‍याए ५० हजारदेखि १ लाख रुपियाँसम्म जरिवाना लिने र पटकपटक गल्ती दोहोर्‍याए अनुमतिपत्र रद्धसम्मको निर्णय गर्ने तयारी गरेको छ।

‘हामीले गत वर्ष कारबाहीमा परेका अस्पतालको फोहोर व्यवस्थापनको अवस्था र सुधार भएनभएको विषयमा अनुगमन गर्नेछौं, गत वर्षकै जस्तो गल्ती दोहोरिएको फेला पारेमा यो वर्ष कडा कारबाही गर्नेछौं’ –वातावरण निरीक्षक श्रेष्ठले नेपाल समाचारपत्रसँग भन्नुभयो।