प्रहरी अधिकारीलाई स्वार्थ भन्दामाथि उठेर काम गर्न महानिरीक्षक कुँवरकाे निर्देशन

1.69k
Shares

बुटवल ।

प्रहरी महानिरीक्षक वसन्त कुंवरले प्रहरी अधिकारीहरूलाई स्वार्थभन्दा माथि उठेर काम गर्न निर्देशन दिएका छन् । संगठनको आन्तरिक सुदृढीकरणलाई पहिलो प्राथमिकता दिइएको बताउँदै उहांले गल्ती गर्ने कुनै पनि तहका व्यक्तिलाई कारबाही हुने स्पष्ट पारे ।

प्रहरी संगठन भित्र अनुचित लेनदनलाई रोक्ने बताउँदै उहांले ‘हरेक प्रहरीको खाता चेक गर्दै छौं । प्रहरी अफिसरको मात्र होइन उनीहरूका आफन्त, साथीभाइको पनि चेक हुन्छ, काम गर्दा सबैले ख्याल गर्नुहोला । उनले छिटै एकजना डिआईजीलाई भ्रष्टाचारको मुद्दामा कारबाहीमा गर्ने समेत बताउनु भयो तर नाम भने खुलाउनु भएन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्दहीको भैरहवामा नवनिर्मित भवनको उद्घघाटन गर्दै महानिरीक्षक कुंवरले प्रहरी अधिकृतहरुलाई आफ्नो कर्तव्यमा ध्यान दिन आग्रह गरे । ‘प्रहरी अधिकृतहरुको पनि सोसल अडिट हुन आवश्यक छ । त्यसकारण हामीले जनतालाई गर्ने बोली र व्यवहारमा पनि परिवर्तन ल्याउन आवश्यक छ ।– यसैगरी धेरै वर्षसम्म एउटै व्यक्ति सरुवा नभई बस्ने प्रवृत्तिले अनियमिततालाई प्रश्रय दिएको बताउँदै उनले यो प्रवृत्ति रोक्नु पर्नेमा जोड दिए ।

प्रहरी कार्यालयका प्रमुखहरुलाई प्रश्न गदै कुँवरले यो र त्यो भनेर तपाईहरु राख्नुहुन्छ । त्यो बिना काम गर्न सक्नुहुन्न । थाहा छैन के हो । नयाँ, फ्रेस मान्छेबाट काम गराउनुस् । त्यो सेटिङ भत्कन्छ । मैले कतिपटक भनेको छु १०–१५ वर्षसम्म एकैठाउँमा बस्ने मान्छे कहिले यो ढोकाबाट त्यो ढोकामा गएको छ, त्यो ढोकाबाट यो ढोकामा गएको छ । यो प्रवृत्ति नष्ट गरौं ।’ प्रहरी संगठनमा कार्य सम्पादन क्षमता बढाउने आफ्नो मुख्य प्राथमिकता रहेको उनले बताए । यसैगरी खुला सीमाना क्षेत्रमा हने राजश्व चुहावटलाई कम गर्नका लागि सक्रिय भएर लाग्न प्रहरी अधिकृतहरुलाई निर्देशन दिए ।


रुपन्देहीको वेलहीयामा एकीकृत सुरक्षा जाँच पोष्टको स्थापना गरेर पनि त्यसको उद्देश्यअनुसार अझै सञ्चालन हुन नसकेको बताउँदै उनले सही कार्यान्वयनका लागि मातहतका निकायलाई आग्रह गरे । राजश्व चुहावट हुने प्वालहरुलाई थुन्नु पर्ने बताउँदै त्यस अनुसार कार्यसम्पादन गर्न निर्देशन दिए ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) कुवेर कडायतले जहाँ व्यवस्थित कार्यालय हुन्छ, त्यहाँ प्रहरीको आत्मबल बढ्छ भन्दै अब जिल्ला प्रहरी कार्यालय रुपन्देहीको जिम्मेवारी थपिएको बताए ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले ट्राफिक प्रहरीबाट सहयोग पाउन नसकेको गुनासो गरे । सडकको क्षमता भन्दा बढी सामान बोक्ने सवारीसाधनलाई जरिवाना मात्र तिराएर सडकको अवस्था सुधार हुन नसक्ने भन्दै उनले भारतीय ट्रकहरुबाट नेपालमा ओभरलोडको समस्या रहेको गुनासो गरे ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले प्रहरी नागरिकको सेवामा अझ दत्तचित्त भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौरले सुविधासम्पन्न भवनले प्रहरीको आत्मबल बढाउने विश्वास व्यक्त गरे ।

सिद्धार्थनगर नगरपालिका–१३ भैरहवामा १४ करोड ९६ लाख ९४ हजारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको भवनहरु निमार्ण भएको डीएसपी ई.रोशन सारु मगरले बताए ।