नारायणगढ सडक विस्तार गति सुस्त, चाईनिज टोली फर्केपछि काम अघि बढ्ने आश

11.37k
Shares

नवलपरासी ।

बुटवल नारायणगढ सडक बिस्तारको काम दुबै तर्फ बराबरीमा पुगेर सुस्ताएको छ । दाउन्ने पूर्व र पश्चिम २ खण्डमा विभाजन गरी सुरु भएको सडक विस्तार तथा निर्माण प्रक्रिया हालसम्म ५२ दशमलव ६ प्रतिसतमै सिमित रहेको छ ।

बुटवल नारायणगढ फोरलेन सडक योजना पश्चिम खण्डका प्रमुख शशांक मिश्रका अनुसार निर्माण कार्य अन्तरगत पश्चिम नवलपरासी क्षेत्रमा करिव ३० किलोमिटर सडकमा पहिलो चरण पिच भएको छ । पश्चिम खण्डमा पर्ने ठूला ९ पुल मध्ये ६ ओटाको काम पूरा भएको बाँकी ३ मा पनि गार्डर राखिसकेको र दाउन्नेतर्फ क्रसच्यानलहरू बनाई सकेको मिश्रले बताए ।

मिश्रले भने दाउन्ने तर्फको १० किलोमिटर र रूपन्देही खण्डमा आउदो महिनाको पहिलो साता चाईनिज टोली फर्किएसंगै बेस तथा सव बेस सहितका कामले सडक निर्माणमा गति लिने छ ।

यसै सम्वन्धमा सोही योजनाका सूचना अधिकारी शरद श्रेष्ठले लण्डन बृजदेखि भुमही सम्म र बडेरा देखि सुनवल पश्चिमसम्मको काम भएको र रूपन्देही खण्डमा बर्षा लागेसँगै खासै काम नभएकोले सडक निर्माणको हाल सम्मको भौतिक प्रगति ५२।६ मै सिमित रहेको बताए ।

बर्दघाट चिसापानी क्षेत्रमा पनि कतै सडक बनाउनै तथा कतै पिच गर्ने काम बाँकी नै रहेकोले यात्रामा कठिनाइ भएको स्थानीयहरू बताउछन् । यता पूर्वी खण्ड सडक योजनाका सूचना अधिकारी शिव खनालले बर्षादका कारण कामको गति बढ्न सकेको छैन तापनि मौसम खुलेका बेला यस अघि बनेर बसेको क्षेत्रमा पिचको काम भईरहेको बताए ।

इन्जिनियर खनालका अनुसार अहिले गैडाकोटको काँग्रेस चोक, बिजय चोक देखि जयश्री नजिक सम्म पिचको काम चलि रहेको छ । खनालले भने अहिले सडकमा छिटपुट काम भई रहेको छ, कामको प्रगति ५२ दशमलव ६ प्रतिसत नै छ, अगस्टको रिपोर्ट आउन बाकी रहेको र दशैँ सम्ममा करिव १० किलो मिटर पिचको काम सकिदा प्रगति बढेको देखिने छ ।

उनका अनुसार कम्पनीले मौसम खुलेको दिन हेरी बाढीले भत्केका ठाउँमा बेस सवबेसको कामलाई मिलाउदै अरूणखोला, दुम्किबास लगायत जङ्गल तर्फको सडक खण्डमा पिच गर्ने गरि काम अघि बढाएको छ ।

हिउँदमाझै पुल, पर्खाल, च्यानल सेक्सन जताततै काम नहुँदा सडकमा मजदुरको उपस्थित नदेखिएको मात्र हो । उनले भने थपिएको म्याद भित्र काम सक्ने गरि निर्माण प्रक्रियामा लाग्न आयोजनाका तर्फबाट निर्माण कम्पनीको मुख्य निकायसम्म दबाब बनाईको हो ।

त्यसो त निर्माण कार्यको जिम्मा लिएको ठेकेदार कम्पनी चाईना स्टेट कन्स्ट्रक्सन ईन्जिनियरिङ कर्पोरेसन लिमिटेड, बेईजिङ्गले पटक पटक म्याद थपाएर पनि काममा भने ढिला सुस्ती गरिनै रहेको छ । यस अघि दोश्रो पटक २०८१ साउन ८ गते सम्मका लागि थपिएको म्याद पनि चाईना कम्पनीले काम नसकि गुजारे पछि आयोजनाले पछिल्लो पटक पुनस् १ वर्ष म्याद थपि दिएको छ ।

यसरी सरकारले पटक पटक निर्माण कम्पनीलाई म्याद थपे पनि सडक यात्रु तथा सवारी चालकहरू कम्पनीको कार्यशैली र कामको गतिले आजित परेको बताउछन् । निर्माणकै क्रममा वर्षा नलाग्दै चाईनिज कम्पनीले लठपत्र काम छाडेको प्रति उनिहरूको आक्रोस छ, समयमा काम गर्न नसक्ने भए जताततै सडक किन बिगारेको, एक तर्फी काम नसकी सहर बजारका नाउँमा दोहोरो पिच गर्न के हतार थियो रु सडक प्रयोगकर्ताको प्रश्नै प्रश्न रहेको छ ।

यस सम्बन्धमा निर्माण व्यवसायी चाईना स्टेटका प्रोजेक्ट म्यानेजर राकेश झा कम्पनीका तर्फबाट आफुहरू केही नबोल्ने सबै कुरा सडक आयोजनाले नै बताउने भन्दै पन्छिएका उनले पछिल्लो अढाई महिना देखि फोन उठाएका छैनन् । यस्तै सन २०२२ को अक्टोबरमा कम्पनीका दक्षिण एसिया निर्देशक एवं नेपाल प्रमुख सुयाङ्गले चाईनाबाट आएका नयाँ टिमका साथ कम्पनी निर्माणमा जुटेको कुरा संघीय सांसद शशांक कोईराला र महेन्द्रध्वज जिसी सहितका जनप्रतिनिधिले निर्माण भएको ढिलाई प्रति राखेको चासोका विषय बताएका थिए ।

यस अघिको कामको ढिलाईका सम्बन्धमा सुयांङ्गले थपिएका रूख बिरुवा हटाउन, विद्युत पोल सार्न देखिएको समस्या र कोभिड नै प्रमुख कारक रहेको भन्दै बचाउ गरेका थिए । यद्यपि उनले जनताका प्रतिनिधिहरू सामु राखेका प्रतिबद्धता अनुसार समयमै काम गरी देखाउन अझै सकेका छैनन् ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओेलीले २०७५ सालको चैतमा आफू प्रधानमन्त्री भएकै बखत बुटवल पुगेर यस राष्ट्रिय गौरव सडक निर्माण कार्यको शिलान्यास गरेका थिए । ठेक्का सम्झौता अनुसार चाईनिज कम्पनीलाई ४२ महिनामै निर्माण सक्ने गरी आयोजनाको काम जिम्मा लगाइएको थियो ।

पूर्वी खण्ड ६४.४२ र पश्चिम खण्ड ४८.५८ गरी कुल १ सय १३ किलो मिटर लामो बुटवल नारायणगढ सडक बिस्तार तथा निर्माणका लागि १६ अर्व ९९ करोड ५२ लाखमा ठेक्का लागेको हो । जस अनुसार निर्माण कम्पनीले जंगल क्षेत्रमा ४ लेन, बजारमा ६ र दाउन्ने खण्डमा ३ लेनको सडक बनाई सम्बन्धित विभागलाई बुझाउनु पर्ने बताइएको छ ।