विश्व स्वास्थ्य संगठनद्वारा धुलिखेललाई नेपालकै पहिलो स्वस्थ शहर घोषणा

2.35k
Shares

धुलिखेल ।

धुलिखेल नगरपालिका नेपालको पहिलो स्वस्थ शहर घोषणा भएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख डा.सुभाजी गुडद्वारा मंगलबार धुलिखेल नगरपालिकालाई नेपालको पहिलो स्वस्थ शहर घोषाणा गर्दै ५ हजार अमेरिकी डलर पुरस्कार प्रदान गर्ने निर्णय सार्वजनिक गरेको छ ।

‘विश्व स्वास्थ्य संगठनले धुलिखेल नगरपालिका स्वस्थ शहर घोषणा गरेको छ’–नगर प्रमुख अशोक ब्याञ्जुले भने–‘यो निर्णयले सिंगो नेपाल र काभ्रेपलाञ्चोक जिल्लाबासीका साथै धुलिखेल नगरबासी खुशी छौ । खुशीसँगै अवसर र चुनौती दुबै प्राप्त भएको महसुस गरेका छौं ।’ लगातार २ वर्ष देखि धुलिखेल नगरपालिकाले प्रदान गरेको स्वास्थ्य सेवालाई प्रभावकारी अनुगमन र मुल्यांकन गर्दै विश्व स्वास्थ्य संगठनले ६२.४८ अंक प्रदान गरी दक्षिण पुर्व एशियाको दोश्रो तहको स्वस्थ शहर घोषणा गर्ने निर्णय सार्वजनिक गरेको हो ।

विस्व स्वास्थ संगठनको मापडण्द पुरा गरेर स्वास्थ क्षेत्रको नीतिगत सुधार, दिगो बिकास लक्ष्य, बातावरणीय सुधार, गरिब नागरिकहरुको स्वास्थ्यमा पहुँच, दीर्घरोग र सरुवा रोगको नियमित उपचार, सामुदायीक स्वास्थ्यमा सुधार ल्याउनुका साथै स्थानीय सरकारको प्राथमिक स्वास्थ्य उपचारमा गरेको प्रगतीलाई आधार मानेको छ । धुलिखेल नगरपालिकाले बिश्व स्वास्थ संगठन मार्फत सर्ने र नसर्ने रोग, जेष्ठ नागरिक स्वास्थ्य, दलित र गरिव समुदायको स्वास्थ्यमा दिगो बिकासको स्वास्थ्य लगायत शहरी स्वास्थ्य सुशासनमा काम गर्ने नगर प्रमुख ब्याञ्जुले बताए ।

अपाङ्गता, स्वच्छ खानेपानी, बातावरणीय प्रभाब न्युनिकरण, सुरक्षित र पूर्ण खोप, सामुदायिक स्वास्थ्य लगायतका क्षेत्रमा डिजिटल स्वास्थ्य अभिलेख तयार गरी कार्य गरिरहेको थियो । भारतको पुने शहरले पहिलो तह, थाईल्याण्डको किओङ्ग च शहरले समेत दोश्रो तह प्राप्त गरेका छन् ।

धुलिखेल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले निरन्तरको प्रयासले धुलिखेल नगरपालिकालाई स्वस्थ शहर घोषणा गर्ने महत्वकाँक्षी योजनामा सफल भएको बताए । ‘अब यसको निरन्तरता र पहिलो तहको प्रमाणपत्र प्राप्त पर्ने गरी कार्य प्रारम्भ गरिएको छ’–स्वस्थ्य शाखा प्रमुख सन्दिप केसीले भने–‘धुलिखेल, काभ्रेपलाञ्चोक जिल्ला र नेपालकै लागि यो गौरवको विषय हो ।’