वृद्धाश्रममा बस्नुपर्ने व्यथा, तीबःको कथा


अध्ययन वा रोजगारी वा दुवैका लागि विदेश जान युवा वर्ग लालयित देखिन्छन्। हरेकजसो तन्नेरीले मन मष्तिस्कमा राम्रो भविष्यका लागि विदेश जाने सपना सजाइरहेका हुन्छन्। घरैपिच्छे विदेश जाने स्थितिले कतै तिनका आमाबुबा वृद्धवृद्धा हुँदै गएपछि वृद्धाश्रममा जानुपर्ने स्थिति निम्तिरहेको त छैन?

साहित्यकार ओमशंकर श्रेष्ठको शब्दमा रवि साय्मीद्वारा निर्मित तथा सरु रञ्जित र समिता रञ्जित श्रेष्ठको प्रस्तुति रहेको नेपाल भाषाको फिल्म तीबः (सहयोग) को कथावस्तु यही प्रश्नमा केन्द्रित गरिएको छ। विद्यार्थी घट्दै गएपछि विद्यालय बन्द गरी तीबः नामक आश्रम सञ्चालन गर्ने निर्णयबाट फिल्मको कथा शुरू हुन्छ। त्यसपछि तीनजना वृद्ध र तीन वृद्धा गरी ६ पात्र घरमा हेरचार गर्ने अरू कोही नभएर त्यस आश्रममा बस्न आउँछन्।

तिनीहरूमध्ये कसैका सन्तान अध्ययनका लागि त कोही कामका लागि विदेश गएका हुन्छन्। फिल्मको पूरै कथावस्तु यही सेरोफेरोमा घुमेको छ। आश्रममा बसेर तिनीहरूले अनुभूत गरेका निरश, रमाइलो र विगतलाई फर्किएर गरिएका गन्थन, हाँसो, प्रेम, र सन्तानका बाध्यता तथा अपेक्षालाई सजीव ढंगले फिल्ममा देखाइएको छ।

फिल्ममा सुशील राजोपाध्याय, आशाकाजी थकु, संघरत्न शाक्य, सरस्वती मानन्धर, मैंया मुनिकार, सुनीता श्रेष्ठ, मनोज महर्जन, श्रृष्टि महर्जन, पुष्करभक्त माथेमालगायत कलाकारको अभिनयले कथावस्तुलाई अझ जीवन्त तुल्याएको छ।

अमर चित्रकारको छायाँकन र सम्पादन तथा भूपेन्द्र बज्राचार्यको पाश्र्व संगीतले चलचित्र भरपुर मनोरञ्जन र दर्शकलाई ध्यान तानिरहन फिल्म सफल भएको छ। ललितपुर महानगरपालिका–१६ वडा कलाकार समितिले कलाकारको सहयोगका लागि हालै विश्वज्योति सिनेमा कम्प्लेक्समा सो फिल्म प्रदर्शन गरेको हो।