कक्षा १२ को नतिजाप्रति अविश्वास, साढे ३७ हजारले दिए पुनर्योगका लागि निवेदन


–०७९ मा १४ हजार ९ सय २, गत वर्ष साढे १५ हजार
–गत वर्षभन्दा १ सय १५ प्रतिशत बढी
–अनलाइनबाट निवेदन दिने व्यवस्था भएपछि संख्या बढेको रापबोर्डको जिकिर
–चित्त नबुझेर निवेदन दिनेको फरीक्षाफल पूरक पछि
–दुई विषय लागेकाको पुनर्योग पूरक परीक्षाअघि

काठमाडौं ।

कक्षा १२ को परीक्षामा एनजी (ननग्रेडेड) ल्याएर पुनर्योगको लागि निवेदन दिने विद्यार्थीको संख्या ह्वात्तै बढेको छ। तीन वर्षको तथ्यांकको तुलनामा यो वर्ष झण्डै १ सय १५ प्रतिशत बढी विद्यार्थीले निवेदन दिएका छन्। तीन वर्षयता १५ हजार हाराहारीमा मात्र निवेदन दिने गरेका थिए।

यो वर्ष झण्डै ३८ हजारले निवेदन दिएका छन्। राष्ट्रिय परीक्षा बोर्डमा पुनर्योगका लागि निवेदन लिने विद्यार्थीको संख्या वि.सं २०७९ सालमा १५ हजार ९ सय २ थियो। गत वर्ष १५ हजार ४ सय ५६ थियो। उक्त संख्या दोब्बरभन्दा बढी भएर ३७ हजार ६ सय ४१ पुगेको छ । तीमध्ये २ विषयमा मात्र एनजी ल्याउने विद्यार्थीको संख्या करिब १६ हजार हाराहारीमा छ।

राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ का परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले घरबाटै पुनर्योगको निवेदन दिन पाएपछि विद्यार्थीकोे संख्या ह्वात्तै बढेको जानकारी दिनुभयो। विद्यार्थीले पुनर्योगको परीक्षाको निवेदन दिन प्रतिविषय अनलाइनमार्फत् ५ सय रुपियाँ तिर्नुपर्ने व्यवस्था छ।

विगतको तुलनामा यो वर्ष धेरै विद्यार्थी अनुत्तीर्ण भएका थिए। त्यही भएर पुनर्योगका लागि निवेदन दिने विद्यार्थीको संख्या बढेको हो। बोर्डले पूरक परीक्षाअगावै अर्थात् भदौ २५ गतेभित्र दुई विषयमा एनजी ल्याउने विद्यार्थीको पुनर्योग परीक्षाको नतिजा प्रकाशित गरिसक्ने जनाएको छ।

परीक्षा नियन्त्रक शर्माले सम्भव भएसम्म २३ गतेभित्र दिुई विषयमा एनजी ल्याउने विद्यार्थीको परीक्षाफल प्रकाशित भइसक्ने जनाउनुभएको छ। बाँकी चित्त नबुझेर निवेदन दिएका विद्यार्थीको हकमा पूरक परीक्षापश्चात् नतिजा प्रकाशित गर्ने जनाउनुभएको छ।

यो वर्षको पूरक परीक्षा २५ र २६ गते छ । दुई विषयमा एनजी ल्याएका विद्यार्थीले मात्र पूरक परीक्षा दिन पाउने व्यवस्था गरेको छ। बोर्डले यसअघि साउन ३१ गते पहिलो चरणको पुनर्योगको नतिजा सार्वजनिक गरेको थियो। दोस्रो चरणको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ। स्रोतका अनुसार रापबोर्डले आज बोर्ड बैठक बोलाएर दोस्रो सूची सार्वजनिक गर्ने तयारी गरेको छ।

चित्त नबुझेर पुनर्योग गर्न दिएका विद्यार्थीको भन्दा पनि एनजी ल्याउने विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गरी परीक्षाफल प्रकाशित गर्न जरुरी भएकाले सोहीअनुसार तयारी गरेको नियन्त्रण शर्माले बताउनुभयो। बोर्डले यही साउन १८ गते कक्षा १२ को नतिजा प्रकाशन गरेको थियो। परीक्षाफल प्रकाशित भएको १० दिनभित्र पुनर्योग परीक्षाको निवेदन दिन सूचना जारी गरेको थियो । यो वर्ष ४ लाख ९१ हजार ४ सय ९७ ले परीक्षा दिएका थिए।

नियमिततर्फ ३ लाख ९० हजार ८ सय ६८सहभागी थिए । तीमध्ये नियमिततर्फ २ लाख ३ हजार ८ सय ४७ विद्यार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ। सहभागीमध्ये ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। परीक्षामा १ लाख ८७ हजार २१ जना अनुत्तीर्ण भएका थिए।

कुल परीक्षार्थीको ४७ दशमलव ९ प्रतिशत विद्यार्थी ननग्रेडेड (एनजी) ल्याएका थिए। नियमिततर्फ ३ लाख ९० हजार ८ सय ६८ विद्यार्थीमध्ये २ लाख ३ हजार ८ सय ४७ विद्यार्थी उत्तीर्ण भएका थिए।