राष्ट्रपति पौडेलसँग ओमानका विदेशमन्त्रीको शिष्टाचार भेटवार्ता


काठमाडौँ ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका ओमानका विदेशमन्त्री  सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीले शिष्टाचार भेट गरेका छन् ।

सो अवसरमा नेपाल र ओमानबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । साथै, उक्त अवसरमा राष्ट्रपति पौडेलले नेपाल र ‌ओमानले आपसी हित र सरोकारका विषयमा संयुक्त राष्ट्र संघ, असंलग्न आन्दोलन र एशियाली सहयोग संवाद लगायत बहुपक्षीय र क्षेत्रीय मञ्चहरूमा सहकार्य गर्दै आइरहेको बताउँदै भविष्यमा पनि यस प्रकारको सहकार्यलाई निरन्तर दिने विश्वास व्यक्त गरेका थिए ।

सोमबार काठमाडौँ आएका विदेशमन्त्री अल्बुसैदीले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए भने परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग दुई पक्षीय भेटवार्ता गरेका थिए ।
उनी आजै भ्रमण सम्पन्न गरेर स्वदेश फर्किदै छन् ।