प्राकृतिक सुन्दरताका साथै धार्मिक र सांस्कृतिक पक्ष समेटिएको ‘देश–देशान्तर‘


काठमाडौँ। 

लामो समय परराष्ट्र सेवामा बिताएका सर्जक राजाराम बर्तौलाले नेपालको प्राकृतिक सुन्दरताका साथै धार्मिक र सांस्कृतिक पक्ष समेटेर लेखेको नियात्रा संग्रह ‘देश–देशान्तर‘ सार्वजनिक भएको छ ।कृष्ण जन्माष्टमीको अवसर पारेर सोमबार राजधानी काठमाडौँमा उक्त नियात्रा सङ्ग्रहको लोकार्पण गरिएको हो।

 लोकार्पण कार्यक्रममा प्रमुख अतिथि प्राडा सुरेन्द्र केसीले डा. तारानाथ शर्माले सुरु गरेको नियात्राको निरन्तरताको क्रममा यो नियात्रा आएको भन्दै खुसी व्यक्त गरे । उनले सर्जकहरुको सृजनामा राजनीतिक भेदभाव हुने गरेको तितो यथार्थ पोख्दै भने– ‘सृजनामा राजनीतिक भेदभाव हुनुहुन्न । सृजनाले मधुरता दियो कि दिएन, त्यो हेर्ने हो । नियात्राले लेखकसँगसँगै पाठकलाई पनि लेखक पुगेको ठाउँको अनुभूति दिन्छ, त्यो नै नियात्राको विशेषता हो । ’

कार्यक्रममा संस्कृतिविद् भक्त राईले अहिले पठन संस्कृति ध्वस्त भएको अवस्थामा पनि केही पुस्तकहरु खोजीखोजी पढ्नै पर्ने जिकिर गर्दै भने– ‘यो पुस्तक पनि खोजीखोजी पढ्नै पर्ने पुस्तकमध्येमै पर्छ । यसमा धार्मिक र सांस्कृतिक अनुष्ठानका विषय पनि उठान भएकोले अनुकरणीय पनि छ । ’

पुस्तकका लेखक बर्तौलाले भोलीको पुस्ताले हाम्रो समाज पहिला कस्तो रहेछ भन्ने जान्न सजिलो होस् भन्ने हेतुले पुस्तक लेखेको बताए । उनले यो पुस्तक लेखक बन्छु भनेर लेखेको नभई आफ्नो अनुभव र भोगाइलाई व्यक्त गर्न लेखेको जिकिर गर्दै भने– ‘यो पुस्तकमा ३६ वटा पृष्ठ अमेरिकाको बारेमा खर्चेको छु । त्यो चाहिँ एक पटक पढ्नलाई मैले आग्रह नै गरे । ती पृष्ठहरुमा मैले अमेरिकाले आफ्नो पहिचान र संस्कृतिलाई कसरी संरक्षण गरेर राखेका छन् भन्ने जानकारी दिएर यहाँ पनि सांस्कृतिक चेत जगाउने प्रयास गरेको छु ।

आफूले लेखक बन्छु भनेर नलेखेको, हिँड्दै गर्दा जे देखेँ त्यही अनुभूति लेखेको कुरा सङ्क्षेपमा व्यक्त गर्नु भएको थियो । यसैगरी, सह। प्रा। प्राज्ञ डा। मधुसुदन गिरी र प्रा।डा सुरेन्द्र केसीले नियात्रा सन्दर्भमा रहेर नियात्राका प्रवृत्ति तथा व्यवहारको महत्त्वपूर्ण टिप्पणी गर्दै शुभकामना मन्तव्य राख्नु भएको थियो । ’ २६ वटा यात्रा विवरण समेटिएको यो पुस्तकमा पशुपतिनाथ मन्दिर र अमेरिकी सपना शीर्षकमा ३६ पृष्ठ लामो एउटा विदेश यात्राको वर्णन छ ।

कार्यक्रममा पुस्तकका प्रकाशक प्राज्ञिक बुक्सका अध्यक्ष बद्रीप्रसाद ढकालले पुस्तकमा लेखकले नियात्राका माध्यमबाट समाजका यथार्थका साथै तिनको वर्तमान अवस्थाको पनि चित्रण गरेको धारणा राखेका थिए ।