संस्कार-संस्कृतिप्रति सद्भाव


आम नागरिकको जनजीवनलाई परम्परागतरुपमा चलिआएका चाडपर्व र जात्राले गज्जबको प्रभाव पारेको हुन्छ । जुनसुकै जाति वा समुदायको रहनसहनलाई राम्ररी नियाल्ने हो भने चाडपर्वले सबैलाई कुनै न कुनै रुपमा प्रभाव पारिरहेको पाउँछौँ। यो नेपाली समाजमा पाइने एउटा महत्वपूर्ण विशेषता हो।

नेपाली समाजमा मात्र नभई विश्वका विभिन्न मानव सभ्यतालाई हेर्ने हो भने त्यहाँको विशेषताअनुसार मनाइने पर्व–संस्कृतिमा मानिसहरु रमाएको देखिन्छ। फेरि ती चाडपर्वलाई ऐतिहासिक कोणबाट हेर्ने हो भने ती सबै समाज विकासको क्रममा आवश्यकताअनुसार मानवले सिर्जना गरेका हुन् । यस दृष्टिले हेर्दा परम्पराअनुसार मनाउँदै आएको संस्कृति मात्र नभई अहिले नौलो परम्पराको रुपमा शुरु गरिएको रहनसहन पनि भविष्यमा संस्कृतिको रुपमा दर्ज हुन जानेछ।

अर्कोतर्फ कुनै पनि संस्कृति, धर्म, संस्कार मानिसलाई समाजमा जोड्नका लागि बनाइएका हुन्। यसले मनुष्यको गरिमालाई उचो बनाएको छ । यस्तो महत्वपूर्ण विषयमा अध्ययन, अनुसन्धान, विमर्श हुनु आवश्यक छ, जसले गर्दा युगसापेक्ष राम्रा संस्कृतिको निरन्तरता दिँदै राष्ट्रिय एकतालाई अझ बलियो बनाउन सकियोस्।

यतिखेर विभिन्न चाडपर्वहरु नजिकिँदै छन्। बुबाको मुख हेर्नका लागि किनमेल शुरु भइसकेको छ। विशेषतः हिन्दुधर्मावलम्बी नारीहरुले मनाउने तीजको माहौलले पनि जनजीवनलाई सुस्तरी छोइसकेको छ। त्यसलगत्तै येँया अर्थात् काठमाडौँको जात्रा वा इन्द्रजात्राको चहलपहल उत्तिकै महत्वपूर्ण मानिन्छ।

त्यसपछि शरद ऋतुसँगै आउने भनेको दशैँ, तिहार र छठ पर्व हो । यसरी एकपछि अर्को गरी आइरहने चाडपर्व, जात्राले मानिसको जनजीवनलाई हरेक पक्षबाट प्रभाव पारेका हुन्छ। तिनले समाजलाई मात्र नभई बजारलाई समेत प्रभावित पारेको हुन्छ। नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले विभिन्न समुदायले मनाउने चाडपर्वप्रति परस्पर सद्भाव र सम्मानको व्यवहार हुनु जरुरी छ।

सबैले मनाउने चाडपर्वमा मानवजीवन सार्थक बनाउन चाहिने संस्कार निहित रहेको हुन्छ। विगतमा राज्यको आडमा आफूहरुले मनाउने अधिकांश मौलिक चाडपर्वहरुलाई हिन्दुकरण गरिएको तथा कतिपयलाई ओझेलमा पारिएकोले मौलिकता गुमेको भन्दै नेपालका आदिवासी जनजातिहरुको ठूलै असन्तुष्टि जनाउँदै आएका थिए। पञ्चायतकालदेखि नै हिन्दुधर्मावलम्बीहरुले मनाउने चाडपर्वलाई मात्रै राज्यले काखी च्यापेर आफ्नो मौलिकतालाई बेवास्ता गरेको भन्ने पनि सुनिदै आएको छ।

नेपालमा संघीय लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य व्यवस्थासहितको समावेशितालाई संविधानको महत्वपूर्ण संरचनाका रुपमा स्थापित गरिएपछि भने केही परिवर्तन देखा परेको छ। विभिन्न समुदायले मनाउने चाडपर्वमा सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्ने, सरकारप्रमुख र राष्ट्रप्रमुखले शुभकामना दिने, संघ, प्रदेश र स्थानीय तहले आ–आफ्नो क्षेत्रमा बाहुल्यता रहेको समुदायले मनाउने चाडपर्वमा बिदा दिने कार्यले गति लिएको छ। यसबारे सञ्चारमाध्यमले समेत केही न केही खोजिनीति गर्न थालेको छ । यसलाई विभिन्न समुदायको आत्मसम्मानको हिसाबले सकारात्मकरुपमा लिन सकिन्छ।

सभ्यता, संस्कृति एकै दिनमा बसेको हुँदैन । नेपालमा बोलिने प्रत्येक भाषामा त्यस समुदायको संस्कृति, संस्कार र ज्ञान लुकेको हुन्छ । ती ज्ञानहरु मानवजातिको समृद्धि र विकासका लागि आवश्यक रहन्छन्। यसले गर्दा राज्यको योजना, नीति र कार्यक्रम संस्कृति बचाउने, भाषा बचाउने र प्रवद्र्धन गर्ने हुनुपर्दछ। यसले राष्ट्रिय एकताको भाव वृद्धि गराउनेछ। चाडपर्व, संस्कृति, संस्कारमा राष्ट्रिय एकता र मनुष्यको भावलाई सम्प्रेषित गर्ने अपूर्व तागत रहेको हुन्छ।

त्यसैले राज्यव्यवस्था अनुकूल संस्कृति, संस्कारको लागि राज्यकोे ध्यान जान जरुरी रहेको छ। लोकतान्त्रिक, गणतान्त्रिक व्यवस्थामा हरेक समुदायले मनाउने गरेका चाडपर्वलाई राज्यले समान दृष्टिले हेनुपर्छ। हरेक संस्कृतिको सम्मान गरी राष्ट्रिय भावनालाई बलियो बनाए मात्र राज्य पनि बलियो हुन्छ।