रहस्यमा लुकाउँदै तेल भिषाको लिरिकल सङ


काठमाडौं ।

आगामी मंसिर ७ गतेका लागि रिलिज डेट तोकिएको सामाजिक कथाको फिल्म तेल भिषाको रिलिकल भिडियो सङ सोमबार ओएसआर डिजिटल युट्युबबाट सार्वजनिक गरिएको छ।

अमेरिका र नेपालका शानदार दृश्य समावेश गरिएको लिरिकल भिडियो सङमा अमेरिकाबासी नेपालीको सुख दुःखका कथा समेटिएको छ। सुखद् र समृद्ध भविष्यको सपना बुनेर विदेशिएका नेपालीको सुखसँगै दुःखको कथा बुनिएको लिरिकल भिडियो सङमा अभिनेता विपिन कार्कीलाई दुई चरित्रमा देखाइएको छ भने विपिनका साथमा फिल्मका मुख्य कलाकारह पूजा चन्द, वर्षा राउत, ऋचा घिमिरे, बुद्धि तामाङ र सुचित्रा उप्रेतीलाई प्रस्तुत गरिएको छ।

गीतको भिडियोमा आफ्ना छोरा बुहारीको सहयोग र नाति नातिनीको स्याहारका लागि विदेश पुग्ने अभिभावकको भावुक कथा देखाइएको छ। अभिनेता विपिन कार्कीकी हालै निधन भएकी आमा सरस्वती कार्कीप्रति समर्पित लिरिकल भिडियो सङले कलाकारहरूको चरित्र चित्रण जति गरेको छ, त्योभन्दा बढी रहस्यमा लुकाउने प्रयास गरेको ती चरित्रका खास कथा छ।
भावप्रधान गीतमा हर्क साउदको शब्द रचना, कल्याण सिंहको संगीत तथा निशान भट्टराई र समीरा थपलियाको स्वर रहेको छ। फिल्म निर्देशक शंकर घिमिरेले निर्देशन गरेका छन्।

घिमिरेले १२ वर्षपछि निर्देशनमा कमब्याक गरेका हुन्। यसअघि उनले विष, वीरताको चिनो, ब्रेकफेल, तुलसीजस्ता फिल्म निर्देशन गरेका थिए। ऋचा घिमिरे, पूजा चन्दजस्ता कलाकारले पनि लामो समयको अन्तरालपछि यही फिल्मबाट कमव्याक गरेका छन्।

वेलडन क्रियसनको ब्यानरमा नायिका ऋचा घिमिरेद्वारा प्रस्तुत तथा अनिल पाण्डे र शिवराज कार्कीद्वारा निर्देशित फिल्ममा प्रिन्स युवराज कार्की र श्रुति दाहाल कार्यकारी निर्माता रहेका छन्। फिल्ममा निर्देशक शंकर घिमिरेको लेखन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्वाजको संगीत, सुशन प्रजापतिको छायांकन र अजय खड्काको सम्पादन रहेको छ।