‘ट्राफिक प्रहरीले दुर्घटनाको न्यूनीकरणमा भन्दा राजस्व संकलनमा बढी ध्यान दियो’

1.97k
Shares

भक्तपुर ।

प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ट्राफिक प्रहरीले सवारी दुर्घटनाको न्यूनीकरणमा भन्दा राजस्व संकलनमा बढी ध्यान दिइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

सोमबार  सूर्यविनायकमा नेपाल प्रेस सोसाइटीद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सांसद खतिवडाले ट्राफिक प्रहरीले जहाँ पायो त्यही जतिखेर पनि चेकजाँच गर्नु उपयुक्त नभएको बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका  खतिवडाले ट्राफिक प्रहरीले लुकेर बसेर चेक गर्ने र भगाउँदा दुर्घटना हुने गरेको बताउँदै खतिवडाले यो पद्धति तुरुन्त अन्त्य गर्नुपर्नेमा जोड दिए ।

सभापति खतिवडाले यसबारेमा समितिले गृहमन्त्री र प्रहरी प्रमुखसँग छलफल गरिसकेको बताउँदै यसलाई व्यवस्थित रुपले अगि बढाउन समितिले ध्यानाकर्षण गराएको उल्लेख गरे ।ट्राफिक प्रहरीको काम पैसा उठाउने र सरकारलाई बुझाउने होइन नियम उलङ्घन गर्नेलाई कारबाही गर्ने हो भन्दै प्रत्येक सवारी चेक गर्नु उचित नभएको बताए ।

 उनले गाडीमा अवैध सामान आएको भए र नियम उलङ्घन गरेको भए चेक गर्ने नभए दश दश मिटरको दुरीमा चेक गर्दै ड्राइभर र यात्रुसँग पैसा खाने पद्धतिले हैरान यात्रु पनि नआउने र पर्यटक पनि नआउने वातावरण बनेकोले त्यसको अन्त्यका लागि राज्य व्यवस्था समिति पहल गरेको बताए ।

उनले  भने, ‘ट्राफिक प्रहरीले यात्रुहरूलाई जहाँतहीँ रोक्ने, चेक गर्ने, लुकेर बसेर चेकजाँच गर्ने जस्ता क्रियाकलापले दुर्घटनाको जोखिम बढाएको छ, यस्तो पद्धति तत्काल रोक्न आवश्यक छ ।’

सभापति खतिवडाले सरकारले आशाका संकेत देखाउन थालेको भन्दै यो सरकारले संविधान संशोधन र निर्वाचन प्रणालीमा सुधारको पहल गर्नु आवश्यकता रहेको पनि औँल्याए ।