गौरा पर्वको मुख्य दिन अठेवाली विधिपूर्वक सम्पन्न 

3.01k
Shares

डडेल्धुरा।

सुदूरपश्चिम प्रदेशको मौलिक लोक पर्व गौराको मुख्य दिन अठेवाली सोमबार धूमधामका साथ विधिपूर्वक मनाइएको छ । 
गौरा पूजनका हिसाबले अठेवालीको दिनलाई महिलाहरूले महत्त्वपूर्ण मान्दछन् । दुबोले गौराको पूजा गरिने भएकाले अठेवालीको दिनलाई दुर्वाष्टमी भनिएको हो। 
अठेवालीको दिन पवित्र धागोबाट निर्माण गरिएको ‘दुवधागो’लाई विधिपूर्वक अभिमन्त्रित गरी व्रतालु महिलाहरुले निरहार बसेर धारण गर्ने परम्परा छ ।
धार्मिक कार्यमा दुवधागो ग्रहण गरेका महिलालाई मात्र पवित्र मानिन्छ । दुवधागो धारण गरेका महिलालाई भातभान्सा गर्ने पहिलो अधिकार रहन्छ । यो चलन परम्परादेखि सुदूरपश्चिममा चल्दै आएको स्थानीय संस्कृतिका जानकार कैलाशकुमार पाण्डेयले बताए । दुवधागो धारण गरेका महिलालाई गौरा पूजन गर्ने पूर्ण अधिकार रहने उनले  जानकारी दिए । 

अठेवालीको दिन व्रतालु महिलाहरूले बिहानै खोला तलाउमा स्नान गरी घाँसबाट निर्मित गौरा देवीको प्रतिमा र काठको महेश्वरको प्रतिमालाई गौरा घरबाट बाहिर आँगनमा ल्याई शृङ्गार गरी सगुन गीत गाउँदै टाउकोमा राखेर नाच्ने गर्दछन । आठ अध्यायमा महेश्वर र गौराको महिमा गानलाई लयबद्ध रुपमा महिलाले गाउने हुनाले यसलाई अठेवाली भन्ने गरिएको सुदूरपश्चिमेली संस्कृति जानकार पाण्डेयले बताए ।

अठेवाली गीत गाउँदा महिलाले एकले अर्काको कान्छी औँला अठ्याएर समाती गोलो घेरा बनाई परम्परागत तरिकाले नृत्य र गीत प्रस्तुत गर्छन् । गौराको पहिलो दिन पाँच अन्न भिजाएर बनाएको बिरुँडा गौरा देवीको पूजाआजा गर्न प्रयोग हुन्छ । अठेवालीका दिन बिरुडालाई घरमा लगेर पकाएर खाने पनि गरिन्छ । पहिले गाउँका प्रतिष्ठित व्यक्तिका घरमा सामूहिक रूपमा बिरुँडा भिजाउने चलन थियो । अहिले बासिन्दाहरूले सुविधाका लागि गौरा मन्दिर, सगोल तथा घरघरमा भिजाउने गरेका छन् ।

हिमालयकी छोरी पार्वतीले भगवान् शिवलाई पति पाउन गौरा देवीको निराहार व्रत बसेको किंवदन्तीका आधारमा गौरा पर्व मनाउने गरिएको हो । पार्वतीले शिव पति पाएझैँ अविवाहित युवतीले शिवझैँ पति पाउँ भनी व्रत बसेर अठेवालीका दिन गौरा देवीको प्रतिमालाई पूजा गर्छन् भने विवाहित व्रतालु महिलाहरुले टाउकोमा गौरा र महेश्वरको प्रतिमा राखेर नचाउने गर्छन् । 

गौरा पर्वमा पुरुषले धुमारी, ढुस्को, ठाडो खेल र डेउडा खेल्ने गर्छन् । धुमारी, ढुस्को र ठाडो खेलमा महाभारत, रामायणसहित धार्मिकग्रन्थमा आधारित कथा र स्थानीय बीरगाथाहरु भन्ने गरिन्छ । बिरुँडा भिजाएर सुरु हुने गौराको विसर्जन नहुँदासम्म महिला र पुरुष सबैले धूमधामसँग मनाउने गर्छन् । 

गौरीको प्रतिमासँगै पहेँलो कपडाले बेरिएको काठको पिर्कालाई शिवको प्रतीक महेश्वर मानेर राख्ने गरिन्छ । अठेवालीपछि गौरीको प्रतिमा राखिएको डालोलाई टाउकोमा राखेर नाच्ने गरिन्छ । गौरा नचाएको बेलामा अन्य महिलाले सगुन गाएर अक्षता र फूलले पूजा गर्छन् । स्थानीय भाषामा गौरीको प्रतिमालाई ‘लली घुमारा’ भनिन्छ ।

अठेवालीका दिन महिला र पुरुष छुट्टाछुट्टै गौरामा रमाउँछन् । पुरुषले गौरा नचाउने स्थान नजिकै धुमारी, ढुस्को, देउडा खेल्ने गर्छन् । धामीझाँक्रीलाई खुसी बनाउन अठेवालीका दिन पुरुषले विशेषगरी देवताका गाथा समेटिएका ठाडो खेलमा रमाउँछन् । महिलाले गौरालाई नचाएपछि साँझतिर डालोभित्र राखिएका फलफूल तथा बिरुडालाई सफा कपडामा दुई पुरुषले आकाशमा फाल्ने गर्छन् । यसलाई फल फड्काउने भनिन्छ । त्यो फल आकाशमा चुम्यो भनेपछि चिताएको मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।