ओमानका विदेशमन्त्री काठमाडौँमा


काठमाडौँ ।

ओमानका विदेश मन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेकी छन् ।

उनी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको निमन्त्रणामा यही भदौ १० र ११ गते नेपाल भ्रमणमा आएका हुन् । भ्रमणका दौरान दुवै देशका विदेश मन्त्रीहरुबीच नेपाल–ओमान सम्बन्धलाई थप प्रगाढ बनाउने र अन्य विविध विषयमा द्विपक्षीय भेटवार्ता तथा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

ओमानका विदेशमन्त्रीले भ्रमणका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टचार भेट गर्नेछन् । उनी  मंगलबार काठमाडौँबाट प्रस्थान गर्ने कार्यतालिका छ ।