सकियो भैरव- कुमारी जात्रा

2.44k
Shares

दोलखा।

ऐतिहासिक दोलखा सहरमा गाईजात्राको भोलिपल्ट (भदौ ५ गते बुधवार) बाट सुरु भएको भैरव– कुमारी जात्रा सोमबार बिहान सम्पन्न भएको छ । मानिस खाने देवीलाई तान्त्रीक विद्याबाट नियन्त्रण गरेपछि दोलखामा सुरु भएको भैरव– कुमारी जात्रा पाँच दिनसम्म दोलखा बजारको बिभिन्न मठमन्दिर रहेको स्थानमा प्रदर्शन गरिँदै आएको छ । 

दोलखा सहरमा मात्र प्रदर्शन गरिने भैरव– कुमारीको दर्शन र पूजा गर्दा सन्तान प्राप्ति, रोगव्याधि नलाग्ने र सोचेको काम पुराहुने जनविश्वास रहदै आएको स्थानीय ज्ञानेन्द्र प्रधान बताउँछन् । जात्राको अवधिमा मनोकांक्षा पुराहोस भन्दै महिलाहरु ब्रत समेत बस्ने गरेको स्थानीयको भनाई छ । विगतमा गुठीयार दाजु– भाइहरुले हरेक बर्ष पालैपालो जात्रा व्यवस्थापनको लागि आवश्यक पर्ने सामग्रीहरु उपलब्ध गराउनु पर्ने प्रचलन रहे पनि अहिले सबै खर्च र व्यवस्थापन वडा नम्बर– २ ले गर्न थालेको वडा अध्यक्ष स्टालिन श्रेष्ठले बताए ।

जात्राको सुरुवात कैलेदेखि भयो भन्ने एकिन तीथि थाहा नभएपनि दोलखामा किराँत राज्यकालबाटै यो जात्राको सुरुवात भएको जनविश्वास रहेको संस्कृतका अध्यता स्थानीय तीर्थनारायण जोशीले बताए । केही केहीले भने मल्लकालिन राजा हरसिंह देवको पालोबाट भैरव– कुमारी जात्रा सुरु भएको विश्वास गर्दै आएको पनि जोशीले बताए । 

किंवदन्ति अनुसार दोलखा राज्यमा दुङ्गल टोलका सिन्दु र विन्दु नाम गरेका दुई तान्त्रीक दाजुभाइ थिए । उनीहरु दैनिक तामाकोशी नदिमा गएर त्याहाँको जल (सुद्ध पानी) भीमेश्वर मन्दिरमा ल्याई चडाउथे । यो क्रममा तान्त्रीक दाजुभाइले तामाकोशी किनारमा तीन दिदीबैनी खेलीरहेको देखे । तान्त्री दाजुभाइले उनीहरु भगवती भएको थाहा पाएपछि उनीहरुलाई आफ्नो विद्याबाट बसमा पारेर दोलखा बजारमा ल्याए । 

दोलखा बजारमा ल्याएपछि उनीहरुकै चाहना अनुसार जेठी त्रिपुरा सुन्दरी भगवतीलाई दोलखामै, माईली कालिञ्चोक भगवतीलाई गौरीशङ्कर हिमाल देखिने कालिञ्चोकमा र कान्छी बालकुमारी भगवतीलाई जेठी दिदीसंग दोलखामै राखियो ।

जेठी र कान्छी दिदी बैनी आएपछि दोलखामा हरेक दिन मानिस हराउन थाले । मानिस हराउने रहस्य खोज्दै जाँदा चुलबुले स्वभावको बालकुमारीले मानिस खानेगरेको थाहाँ पाएपछि तान्त्रीकले बालकुमारीलाई नियन्त्रणमा लिने उपाए खोजे । यही क्रममा तान्त्रीक भाइ विन्दुले बालकुमारी स्थान (कोविदेउ) मा सिढी सहितको एउटा ठूलो खाल्टो बनाएर बालकुमारीलाई फकाएर उनीसंग लुकामारी खेल्न थाले । 

लुकामारी खेल्दा विन्दुले तान्त्रीक विद्याबाट आफुलाई पिठोको सिक्री बनाएर बाँधे भने बालकुमारीलाई फलामको सिक्रिले बाँधिदिए । अनि आफु पिठोको सिक्रि फुकाएर खाल्डोबाट माथि निक्ली बालकुमारीलाई सोही खाल्डोमा थुनिदिएको किंवदन्ति प्रचलनमा रहेको स्थानीय तीर्थनारायण बताउछन् । 
 
बालकुमारीलाई खाल्डोमा थुनेपछि उनी धेरै रुनलागिन र तान्त्रीकले बर्षमा तीन दिन भैरवलाई अघि लगाएर बजार जान अनुमति दिए । बालकुमारीलाई एक्लै पठाउदा फेरी मानिस खाने डरले भैरवलाई अघि लगाएरमात्र जान दिईएको विश्वास गरिन्छ । सोही अनुसार भैरव– कुमारी जात्रा सुरु भएको जोशीले बताए । 

भैरव भीमेश्वरको प्रतीक (महादेव) हुन् भने कुमारी उनै बालकुमारी हुन् । यो जात्राको क्रममा भैरव– कुमारी सहित १३ जना सेनामेना समेत हुने गरेका छन् । सुरु– सुरुमा तीन दिन प्रदर्शन गरिने यो जात्रा अहिले पाँच दिन प्रदर्शन गर्न लागिएको स्थानीय भरत नारायण श्रेष्ठले बताए । 

किंवदन्ति अनुसार भैरव– कुमारी जात्रा पहिलो दिन भुतले हेर्ने, दोस्रो दिन देवी देवताले हेर्ने, तेस्रो र चौथो दिन आगन्तुकले हेर्ने र पाँचौ दिन दोलखाका स्थानीयले हेर्ने गरिन्छ । तर अहिले भने हरेक दिन स्थानीय तथा आगन्तुक सबैले हेर्ने गरेको जोशीको भनाई छ । भैरव– कुमारी जात्रामा भैरव, कुमारी र अन्य सेनामेना गरी १३ जनानै शिवभक्ति थरका मानिसमात्र नाच्नुपर्ने प्रचलन रहेको जोशीले बताए ।