रावायणको रौद्र रूप


काठमाडौं ।

आगामी २१ गते रिलिज हुने फिल्म रावायणको ट्रेलर राजधानीमा आयोजित एक कार्यक्रमका बीच रिलिज भएको छ।
एक्सनपूर्ण ट्रेलरमा प्रेम र द्वन्द्वको कथा प्रस्तुत गरिएको छ। ट्रेलरमा नायिका पूजा शर्मा पत्रकारको भूमिकामा देखिएकी छन् भने नायक पल शाह रौद्र रूपमा देखिएका छन्।

नायक शाहले दोहोरो भूमिकामा अभिनय गरेको फिल्मको ट्रेलरको अन्तिम दृश्यमा उनको दुवै पात्रको द्वन्द्व दृश्य समावेश गरिएको छ। ट्रेलरअनुसार दुई पात्रको द्वन्द्व पूजाकै कारण हुन्छ। ट्रेलर रिलिजमा आएलगत्तै युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पुग्न सफल भएको थियो। ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक तीन दिनमा १७ लाख बढीले हेरिसकेका छन् भने ५७ बढीले कमेन्ट गरेका छन्।

फिल्मका कथाकार, निर्माता तथा निर्देशक सुदर्शन थापाले फिल्मको नाम झट्ट सुन्दा धार्मिक लागे पनि यो धार्मिक फिल्म नभएको खुलाए। ‘यो फिल्म धार्मिक कथासँग सम्बन्धित छैन। रामायाणमा रामलाई प्राथमिकता दिइएको थियो। हाम्रो रावायणमा रावणलाई प्राथमिकता दिएका छौँ,’ सुदर्शनले खुलाए ‘रावणलाई प्राथमिकता दिँदा फिल्म फरक स्वादको बन्छ भन्ने लागेर हामीले त्यस्तै कथामा फिल्म बनाएका हौँ।’

सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा नायिका पूजा शर्माद्वारा निर्मित फिल्ममा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरि, निकीता चण्डक, अर्जुनजंग शाही, शर्मिला मल्ल, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, प्रकाश शाह, कैलाश रावल, प्रदीप ढकाल, कैलाश रावल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, योगेश भण्डारी, प्रेरणा गिरी, सुहान श्रेष्ठलगायतले अभिनय गरेका छन्।

सुशन पाठक कार्यकारी निर्माता रहेको फिल्मको ओरिजिनल हिन्दी स्क्रिप्ट प्रदीप श्रीवास्तव र राज गौरवको हो। फिल्ममा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन, डा. कृष्णहरि बराल र प्रदीप श्रीवास्तवको शब्द रचना, निरज सिंह र रेवन आरती सिंहको संगीत, नकासा अजिज, कुनाल गान्जावाला र सोनु कक्करको स्वर, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, उमेश चौधरीको कला निर्देशन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन र समीर मियाँको भीएफएक्स रहेको छ।