लाखबत्ती बालेर शुरू भयो किड क्विन


काठमाडौं ।

नेप्लिज फेसन होमले वर्षेनी आयोजना गर्दै आएको किड क्विन प्रतियोगिता शनिबार लाखबत्ती बालेर पूजाआजा गरी विश्व शान्ति र सुख समृद्विको कामना गर्दै आरम्भ भएको छ।

नेप्लिज फेसन होमको आयोजनामा हरेक वर्ष हुँदै आएको किड क्विन प्रतियोगिताको १९औं संस्करणमा सामेल प्रतियोगीहरूबाट बंगलामुखी मन्दिरमा लाखबत्ती बालेर पूजाआजा गरी विश्व शान्ति र समृद्धिको कामना गर्दै यो प्रतियोगिता आरम्भ गरिएको हो। प्रतियोगितामा ४० जना प्रतियोगी सामेल छन्।

कार्यक्रम मिस नेवा : कृषा महर्जन र सकिना महर्जन, प्रतियोगिका अभिभावक तथा शिक्षक शिक्षिकाको सहभागिता एवं बगलामुखी सहकारीको सहयोगमा सम्पन्न भएको हो। सहभागीलाई संस्कार सिकाउन र मानिसको जीवनमा धर्मको महत्व दर्शाउन वर्षेनी यसप्रकारको कार्यक्रम आयोजना गरिँदै आएको नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी गराइन्।

उनका अनुसार कला, संस्कृति, भाषा र संस्कार नयाँ पुस्तालाई हस्तान्तरण गर्न यो प्रतियोगिता आयोजना गरिँदै आएको छ। प्रतियोगिताका सहभागीलाई विभिन्न सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिने उनले जानकारी गराइन्। प्रतियोगीहरूलाई अन्तिम प्रतिस्पर्धाका लागि विभिन्न विषयको तालिम र प्रशिक्षण दिइरहेको आयोजकले जानकारी गराएका छन्।

प्रतियोगिता आगामी दशैंपछि जमलस्थित राष्ट्रिय नाचघरमा हुनेछ। प्रतियोगितामा मिस नेवाः ११४३ सकिना महर्जन र सोसियल वेलफेयर एम्बेस्डर चिफ तिमिला महर्जनको कोरियोग्राफी तथा मिस नेवाः ११४१ कृषा महर्जनको संयोजनमा हुनेछ।