राष्ट्रिय राजमार्ग चोभार सडकको दुर्दशा: एक किमि क्षेत्रमा १४ ठाउँमा पहिरो

1.69k
Shares

–जुनसुकै बेला ठूलो दुर्घटना हुन सक्ने
–चक्रपथ सुधार आयोजनाले वास्ता गरेन
–दैनिक सवारीसाधन सञ्चालन, निरन्तर पहिरो

काठमाडौं ।

दैनिक सयौं सवारीसाधन आवतजावत हुने राष्ट्रिय राजमार्गको एक किलोमिटर क्षेत्रमा १४ ठाउँमा पहिरो गएको छ। आदिनाथ मन्दिर प्रवेश गर्ने सेतो ढोकादेखि चोभार डाँडासम्मको राष्ट्रिय राजमार्गको उक्त क्षेत्रमा विभिन्न स्थानमा व्यापक रूपमा पहिरो गएको छ।

सो क्षेत्रमा पानी पर्दा दैनिकजसो पहिरो जाने गरेको छ। पहिरोका कारण सवारीसाधन आवागमनमा गम्भीर समस्या परेको छ। सो क्षेत्रमा झन्डै ६ स्थानमा ठूला र ८ स्थानमा साना पहिरो गएको हो।

चक्रपथ सुधार आयोजनाको कार्यक्षेत्रभित्र पर्ने सेतो ढोका–चोभार खण्डको सडकमा आयोजना कार्यालयले पहिरो नियन्त्रण गर्न खासै चासो देखाएको छैन । सडकमा पहिरो जाँदा सडक डिभिजन कार्यालय काठमाडौंले पहिरो पन्छाउने गरेको छ । हाम्रो कार्यक्षेत्रभित्र नपरे पनि पहिरो पन्छाउने काम सडक डिभिजन कार्यालयले जारी राखेको छ । सो क्षेत्रमा घाम लाग्दा सुख्खा र पानी पर्दा लेदोसहितको पहिरो जाने गरेको छ ।

डिभिजन सडक कार्यालय काठमाडौंका सूचना अधिकारी महानन्द जोशीले सो सडक क्षेत्रको पहिरो पन्छाउने काम काठमाडौं सडक डिभिजन कार्यालयले गर्ने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘हाम्रो कार्यक्षेत्रभित्र नपरे पनि कीर्तिपुर नगरपालिकाको सहयोग र आग्रहमा पहिरो पन्छाउन हाम्रै कार्यालयका कर्मचारी परिचालन गरेका छौं ।’

उहाँका अनुसार सो बाटो चक्रपथ सुधार आयोजनाको क्षेत्र अधिकारभित्र पर्छ । हाल सो सडकको विस्तार र मर्मत गर्ने काम आयोजनाकै रहेको सूचना अधिकारी जोशीले बताउनुभयो। आयोजनाले दुई महिना यता दर्जनौंपटक पहिरो गए पनि आयोजनाले पहिरो नियन्त्रण गर्ने विषयमा चासो देखाएको छैन। सो विषयमा जानकारी लिन आयोजना प्रमुख कुमारनाथ ओझासँग सम्पर्क गर्दा मोबाइल उठाउनुभएन। सूचना अधिकारीसँग सम्पर्क गर्न खोज्दा मोबाइल बन्द थियो ।

बल्खु–दक्षिणकाली–कुलेखानी हुँदै वागमती प्रदेशको राजधानी हेटौंडा, बल्खु फर्पिङ हुँदै हेटौंडा र बल्खु हुँदै लामो रुटमा समेत जान सकिने राष्ट्रिय राजमार्गको दुर्दशाको कारण हजारौं यात्रुले दुःख भोग्नुपरेको छ । सो राजमार्ग हुँदै दैनिक सयौं सवारीसाधन सञ्चालन हुने गरेको छ ।

कीर्तिपुर नगरपालिकाका कार्यवाहक प्रमुख शुभलक्ष्मी शाक्य (सुनिता) ले लगातार पहिरो गइरहँदा पनि सम्बन्धित निकायले खासै चासो नदेखाएको बताउनुभयो । सो सडक चक्रपथ सुधार आयोजनाअन्तर्गत परे पनि अधिकांश सुधारको काम डिभिजन सडक कार्यालय काठमाडौंले गरिरहेको जानकारी गराउँदै कार्यवाहक प्रमुख शाक्यले भन्नुभयो– ‘सकेसम्म हाम्रोे नगरपालिकको समन्वयमा डिभिजनले काम जारी राखेको छ ।’

उहाँका अनुसार नगरपालिकाले पहिरो पन्छाउन दैनिक रूपमा चालकसहितको जेसीबी २४ घण्टा तयारी अवस्थामा राखेको छ। तलबाट भन्दा पनि आदिनाथ वन क्षेत्रको माथिल्लो भेगबाट लगातार पहिरो आएको कारण समस्या बढेको नगरपालिकाको भनाइ छ। कार्यवाहक प्रमुख शाक्यले भन्नुभयो– ‘अघिल्लो वर्ष सधैं पहिरो गइरहने ठूलो दुईवटा क्षेत्रमा रिटनिङ वाल लगाएका थियौं, यो वर्षको पहिरोले त्यो पनि भत्काइदियो ।’

पहिरोको कारण सल्ला वनक्षेत्रमा केही रेस्टुरेन्टसहित केही बस्ती उच्च जोखिममा रहेको छ । सो क्षेत्र आदिनाथ सामुदायिक वन उपभोक्ता समितिअन्तर्गत पर्छ । समितिका अध्यक्ष केदार बस्नेतले यो वर्ष धेरै पानी परेको कारण सो वनक्षेत्र उच्च जोखिममा रहेको बाउनुभयो । अध्यक्ष बस्नेतले समितिले पहिरो गइरहेको विषयमा जानकारी दिनबाहेक केही गर्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो– ‘पहिरोको बारेमा सबैलाई जानकारी छ । हामीले पटकपटक आग्रह गरेका छौं ।’

गत वर्ष काठमाडौं सडक डिभिजन कार्यालयले लगाएको पर्खाल यो वर्षको वर्षाले भत्काएको छ । पहिरो नियन्त्रण गर्न नगरपालिकाले निरन्तर प्रयास गरे पनि खासै प्रभावकारी भएको छैन । कार्यालयका सूचना अधिकारी जोशीले कार्यालयकै खर्चमा हालसम्म पहिरो पन्छाउने काम जारी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘पहिरो गइरहेको छ । निरन्तर काम गरिरहेका छौं ।’ कार्यवाहक प्रमुख शाक्यले चालु आर्थिक वर्षमा सो क्षेत्रमा पहिरो नियन्त्रण गर्न कार्ययोजनासहित पत्राचार गरेको जानकारी दिनुभयो। सो क्षेत्रमा पहिरो नियन्त्रण गर्न तत्काल योजना नबनाएर भयानक दुर्घटना हुन सक्ने सरोकारवालाको भनाइ छ।