६५औं वार्षिकोत्सव मनाउँदै परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल



काठमाडौं।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ६५औं वर्ष पार गरेको छ। विक्रम सम्वत २०१६ साल भाद्र १० गते श्री कृष्ण जन्माष्टमीको दिन ४० शैय्याबाट परोपकार संस्थाले स्थापना भएको अस्पतालले आफ्नो स्थापनाको ६५औं वार्षिकोत्सव आज मनाउन लागेको हो।

अस्पतालले २०८०/०८१ मा २२ हजार ३ सय ७९ जनालाई सफलतापूर्वक प्रसुति सेवा उपलव्ध गराउन सफल भएको निर्देशक डा श्रीप्रसाद अधिकारीले जानकारी दिए।

डा अधिकारीले महिला स्वास्थ्य सम्बन्धि मुलुकको एकमात्र केन्द्रिय विशिष्टीकृत अस्पतालले मातृ शिशु स्वास्थ्यको क्षेत्रमा अमुल्य योगदान दिनुका साथै यस विषयको विभिन्न तालिम तथा कार्यक्रमको लागि केन्द्रको रुपमा स्थापित भएको बताए। अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले दिएको जानकारी अनुसार यस्ता छन् विस्तारित तथा नयाँ सेवा।

निःसन्तान तथा आईभीएफ सेवा
२०६८ सालमा संचालित देशकै पहिलो सरकारी आईभीएफ सेवा २०७२ सालको भुकम्पपश्चात स्थगनमा रहेको र आ.व. २०७८-७९ देखि यस सेवालाई स्तरोन्नति गरी पुनः नियमित रुपमा संचालनमा ल्याई हालसम्म ५८ जना सेवाग्राहीलाई सेवा दिई सकिएको छ। गत आ.व.मा जम्मा ९ हजार ११ जना निःसन्तान सम्बन्धि सेवाग्राहीहरुले ओ.पी.डी.बाट सेवालिएको, जसमध्ये २ सय २२ जनामहिलाहरले आई.यू.आई. सेवा र २० जना निःसन्तान सेवाग्राहीहरुले आईभीएफ सेवा लिएका छन्।

साथै प्रादेशिक अस्पताल तथा सङ्घीय अस्पतालहरूका स्वास्थ्यकर्मीहरूलाई आ.यु.आइ. र आई.भि.एफ. सेवा उपलब्ध गराउन २०७९ देखि नै राष्ट्रिय स्वास्थ्यतालिम केन्द्र र परिवार कल्याण महाशाखासँगको समन्वयमा विभिन्न संघीय र र प्रादेशिक अस्पतालहरुका ७ जना स्त्री तथा प्रसुति रोग विशेषज्ञहरु तथा ६ जना नर्सिङ्ग स्टाफ र ६ जना ल्याव टेक्नीसियनहरु लाई आई.यू.आई. सेवाको तालिम उपलब्ध गराईएको छ।

अस्पतालले आईभीएफ सेवाको पनि तालिम संचालन संचालन गर्ने तयारी गरेको छ। त्यसैगरी अस्पतालले आई.भी.एफ. सेवाको गुणस्तर बढाउन हालै इक्सी मेशिन सेवा संचालनमा ल्याईसकिएको छ।

दुई सिफ्टमा ओपीडी

यस अस्पतालमा सम्पुर्ण जनरल ओपीडी सेवा बिहान ९ वजे बाट ३ वजे सम्म सञ्चालनमा रहेकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०८१ श्रावण ६ गतेको निर्देशानुसार जनरल ओपीडी तथा अप्रेसन सेवा समय १ घण्टा वढाई ओपीडी तथा अप्रेसन सेवा ९ वजे देखि ४ वजे सम्म मिति २०८१ साउन १४ गतेबाट सञ्चालन गरिएको छ।

गर्भअवस्थाको शिशुको मुटुको जाँच
गर्भअवस्थाको शिशुको मुटुको जाँच ईको सेवा २०८१ जेष्ठ १ देखि नै संचालनमा आईसकेको छ। भ्रुण सम्बन्धी विकलांग अवस्थाको पहिचानको लागि नेपाल सरकारको नीति तथा कार्यक्रममा समेत सम्बोधन गरेको हुँदा यस अस्पतालमा एनोमोली स्क्यान निरन्तर भइरहेकोमा हाल अस्पतालमा नियमित तवरबाट गर्भअवस्थामा रहेको शिशुको मुटुको जाँच फेटल इको तथा मेटर्नल इको सम्बन्धि सेवा संचालनमा आएको छ। यसले गर्दा अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरुले अन्यत्र निकायमा गई इको सम्बन्धी सेवाको लागि खर्चनु पर्ने समय एवं आर्थिक भार तथा झन्झटिलो अवस्थालाई सम्बोधन गरेको छ।

बंशाणुगत रोगको पहिचान गर्न न्यू बर्न स्क्रिनिङ्
यसैगरी नवजात शिशुको बंशाणुगत रोगको पहिचान गर्न न्यू बर्न स्क्रिनिङ्ग सेवा यसै वर्ष २०८१ श्रावण २९ गते देखि संचालनमा ल्याईएको छ। जसले गर्दा जन्म पश्चात हुने मानसिक सुस्तता, दिर्घरोग एवं नवजात तथा बाल मृत्यूदर घटाउन थप टेवा पुग्ने अपेक्षा गरिएको छ।
एन्टिवडी टेष्ट
यस अस्पतालको रक्तसंचार सेवालाई अझ गुणस्तरीय बनाउन एन्टिवडी टेष्टसमेत संचालनमा ल्याईएको छ जसले गर्दा ब्लड ट्रान्स्फ्यूजन सम्बन्धी हुने जटिलता न्यूनीकरण गर्न मद्दत पुर्याउने छ।

थापाथली र कुपण्डोलबाट सेवा विस्तार
विस्तारित अस्पताल सेवा अन्तर्गत ओपीडी सेवा बेलुका ३ बजे देखि ६ बजेसम्म सञ्चालनमा रहेकोमा हाल उक्त सेवालाई ४ बजेदेखि ६ वजे सम्म सञ्चालन गरिएको छ। गर्भवती महिलाको वच्चाको मुटु ईको कार्डियोग्राफी तथा आमाको मुटुको ईको कार्डियोग्राफि सेवा मिति २०८१ जेष्ठ १ गते देखि ४ वजे देखी ६ वजे सम्म सञ्चालनमा रहेको छ।

साथै यस विस्तारित ओ पि डि सेवा अन्तर्गत नवजात शिशु तथा वालरोगको विस्तारित ओ. पि. डि. सेवा पनि २०८१ श्रावण २० देखि सञ्चालनमा ल्याईने र विशिष्टिकृत सेवा अन्तर्गत गर्भवती महिलाको वच्चाको मुटु ईको कार्डियोग्राफी तथा आमाको मुटुको ओ. पि. डि. सेवा ४ वजे देखी ६ वजे सम्म सञ्चालनमा ल्याईने जनाइएको छ।

त्यस्तै कुपण्डोलस्थित नवनिर्मित अध्ययन अनुसन्धान तथा सेवा विस्तार भवनबाट २०८१ असार १६ गते देखि आइ.यू.आई. तथा आईभीएफ सेवा उपलब्ध गराउँदै आएको छ। उक्त भवनबाट सुरक्षित गर्भपत सेवा, परिवार नियोजन सेवा समेत संचालनमा ल्याईसकेको छ। त्यस्तै भिडियो एक्सरे, प्रयोगशाला, फार्मेसी लगायतका सेवा समेत सुचारु गरिएको छ। सोही भवनबाट सिमुलेसन ल्याव संचालन गर्ने तयारी समेत गरेको छ।

दुई सिफ्टमा डिस्चार्ज

चिकित्सकहरुलाई तोकिएको समयमै राउण्ड लिने र विरामीहरुलाई समयमै डिस्चार्ज गर्नका लागि निर्देशन दिई दुई सिफ्टमा डिस्चार्ज गर्न व्यवस्था मिलाईएको छ।

शल्यक्रिया व्यवस्थापन

शल्यक्रिया सम्वन्धमा चिकित्सकहरुसंग छलफल गरि विहान ९ वजे अनिवार्य रुपमा अप्रेसन शुरुआत गर्ने र हाल दिनको ३ वजे सम्ममात्र अप्रेसन सेवा भई रहेकोमा मिति २०८१ साउन १५ गते देखी विहान ९ वजे देखि ४ वजे सम्म अप्रसेन शुरु गरिएको छ।

स्वास्थ्य बीमा

यस अस्पतालमा आमा सुरक्षा तथा नवजात शिशुको निःशुल्क उपचार सेवा सञ्चालनमा रहेको हुदा पाठेघर सम्वन्धि विरामीहरु मात्र स्वास्थ्य बीमा कार्यक्रम मार्फत सेवा लिन आउने भएकोले सो सेवाका लागी उपलब्ध हुने ‌औषधिहरुको कमि हुन नदिन स्टोर तथा फार्मेसीको समन्वय गरिएको छ।

भिड व्यवस्थापन

ओपीडीमा विरामीको भिड कम गर्न सञ्चालनमा ल्याईएको अनलाइन टिकेटिङलाई अझै प्रभावकारी वनाउन ओपिडी को प्रत्येक तलामा जानकारीमुलक सुचनाहरु राखिएको छ। स्वयं सेवक मार्फत सेवाग्राहीहरुलाई अनलाइन टिकेटिङला सहजिकरण गरिएको छ।

मानसिक रोग क्लिनिक
मानसिक रोग सम्बन्धी समस्या बढ्दो क्रममा रहेको र गर्भवती तथा सुत्केरी महिलाहरु यस समस्याबाट उच्च जोखिममा रही ज्यान गुमाउनसमेत परेको अवस्थामा मानसिक रोग सम्बन्धी बहिरंग सेवा संचालन भईरहेको छ। अस्पतालले यस सेवाले मातृ तथा नवजात शिशु स्वास्थ्यमा सुदृढिकरण तथा मृत्यूदर घटाउन मद्दत पुर्याउने विश्वास लिइएको छ।

गुनासो सुनुवाई

अस्पतालमा आउने सेवाग्राहीहरुको सहजताको लागि बहिरंग तथा आकस्मिक कक्ष नजिकै सफा पिउनेपानीको लागि वाटर एटिएमको व्यवस्था गरिएको छ। सोधपुछ तथा सहयताकक्षको व्यवस्था गरिएको तथा गुनासो सुन्ने कार्यहरुलाई अझै प्रभावकारी बनाइएको छ।