सावधान ! तेल कि मन्द विष ?

2.63k
Shares

काठमाडौं ।

तपाईंले शुद्ध तोरीको तेल सम्झिएर खाने तेल तोरीकै हो त ? बजारमा प्रतिलिटर २ सयदेखि ८ सयसम्म मूल्य राखेर बेच्न राखिएको सबै तेलमा शुद्ध तोरीको तेल भनेर लेखिएको पाइन्छ। तेललाई पेलेर निस्कने पदार्थ फरक हुन्छ र ?

नेपालका अधिकांश कम्पनीबाट प्याकेजिङ गरिएको तेलको प्याकेटमा कुन तत्वको को मात्रा कति छ भनेर कतिपयमा भने राखिएको देखिँदैन । यसले पनि तपाईंको भान्सामा दैनिक प्रयोग गरिने तेलभित्र मिसावट रहेको पुष्टि गर्छ । तेल अत्यावश्यक वस्तुभित्र परे पनि सरकारले बजारमा जथाभावी बिक्री हुने तेलको गुणस्तर परीक्षण नगर्नुका साथै मूल्य निर्धारण नहुँदा उपभोक्ता विषाक्त र उच्च मूल्य तिरेर कमसल तथा मिसावट तेल प्रयोग गर्न बाध्य छन्। मिसावटयुक्त तेलमा ट्रान्सफ्याट्टी एसिड अर्थात् हानिकारक चिल्लो पदार्थको मात्र अत्यधिक रहेको र यसले विभिन्न खाले दीर्घ रोग निम्ताउने विज्ञहरुले बताएका छन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेलको वेबसाइटमा राखेको मूल्यअनुसार रानी नामको तोरीको तेल १ लिटरको २ सय रुपियाँ, शान्ति तोरीको तेल ३ सय ६० रुपियाँ रहेको छ । त्यसै गरी बजारमा धारा तोरीको तेल १ लिटर तेलको ३ सय ३०, फेमली तेलको २ सय ३०, पतञ्जली ३ सय २५, बिगुल २ सय २५ र र–ओरिजिन तोरीको तेल ८ सय रुपियाँ रहेको छ । यस्तै, प्रतिलिटर ४ सय र सोभन्दा माथि पर्ने तोरीको तेल पनि बजारमा पाइने गरेको छ । बजारमा एमआरपीभन्दा १० देखि ३० रुपियाँसम्म कमीमा समेत तेल बिक्री भइरहेको छ । जसले उपभोक्ता शुद्ध हो वा अशुद्ध के हो भन्ने दोधारमा पर्ने गरेको देखिन्छ । यस्तै, राजहंस भन्ने सनफ्लो तेल प्रतिलिटर २ सय ४२ पर्छ ।

बजारमा किन्न जाँदा सूर्यमुखी तेलको सिसीमा ठूला–ठूला अक्षरले ‘शतप्रतिशत कोलेस्ट्रोल फ्री’ लेखेको देखेपछि यो नै स्वास्थ्यवद्र्धक रहेछ भन्ने उपभोक्तालाई लाग्न सक्छ। तर, भित्र कस्तो कस्तो पदार्थ मिसाएको छ भन्ने थाहा हुँदैन । यस्तै, प्रकारले ओलिभ, मकै, भटमास, नरिवल, बदामलगायतका तेलहरू पनि आकर्षक बोतलमा देख्न पाइन्छ, जसका कारण उपभोक्ता यो किन्ने कि त्यो किन्ने भनी अन्योलमा पर्छन्। तर, जुन किने पनि तेलमा मिसावट अत्यधिक भेटिन्छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तेलमा भएको मिसावट जाँच गर्नुपर्ने कानुनी अधिकार प्राप्त संस्था हो। तर, बजारमा विभागको उपस्थिति न्यून छ। उपस्थित न्यून हुनु धेरै कारण छन्। उपभोक्तावादीले विभागका उपल्ला निकायका पदाधिकारीलाई कम्पनीले दिने आर्थिक लेनदेन र राजनीतिक उच्च अधिकारीको व्यापारीसँगको साँठगाँठ नै प्रमुख रहेकोे दाबी गर्दछन्।

विभाग सुस्त हुँदा व्यवसायीहरूले भटमासको तेललाई तोरी र सनफ्लावरमा मिसावट गरी बिक्री गर्दै आएका छन्। नेपाली व्यापारीहरूले सस्तो मूल्यमा कच्चा पदार्थ खरिद गर्ने गरेका छन्। जसबाट आफ्नो ब्रान्ड राखेर बिक्री गरिन्छ। व्यापारीले सरकारी निकायको अनुगमनमा कमजोरी पत्ता लगाएर उद्योगीहरूले जनताको स्वास्थ्यमा खेलवाड गरी उद्योगले राखेका विज्ञबाट मिसावट गरी तेल बजारमा पठाइन्छ । विभागका सूचना अधिकारी मोहनकृष्ण महर्जन भने अनुगमनमा जाँदा तेलमा खराबी नदेखिएको दाबी गर्नुहुन्छ । तर, बजारमा मूल्यको अन्तराल हेर्दा मिसावट रहेको प्रस्टै देखिन्छ।

विभागका अनुसार कच्चा भटमासको तेल मुख्यतः अर्जेन्टिना, बाज्रिलबाट आयात हुन्छ। कच्चा सनफ्लावर तेल युक्रेन, कच्चा पामोलियन, कच्चा पाम आयल मलेसिया र इन्डोनेसियाबाट आयात हुन्छ। तोरीको तेलमा रिफ्र्यासक्टिभ इन्डेक्स १ दशमलव ४६ देखि १ दशमलव ४६६२ सम्म, स्यापोनिफिकेसन भ्यालु १ सय ६८ देखि १ सय ७७ सम्म, आयोडिन भ्यालु ९६ देखि १ सय १२ सम्म हुनुपर्छ। स्यापोनिफाई नहुने पदार्थ १२ ग्राम प्रतिकिलोग्राम तेलमा नबढेको, एसिड भ्यालु ६ मिलिग्राम पोटासियम हाइड्रोक्साइड प्रतिग्राम तेलमा नबढेको हुनुपर्छ । मिसावट भए/नभएको एसिड भ्यालुबाट पहिचान गर्न सकिन्छ। तर, आधुनिक प्रयोगशाला र सरकारी उदासीनताका कारण उपभोक्ताले मिसावटयुक्त खाने तेल उपभोग गर्न बाध्य छन्।

अधिकांश खाने तेल उद्योगहरू तराईमा छन्। क्षेत्रीय कार्यालयबाट छिटफुट रूपमा अनुगमन भए पनि केन्द्रबाट भने अनुगमन हुँदैन। कम्पनीबाटै तेलको नमुना लिएर परीक्षण गरिएको छैन । केही तेललाई कारबाही गरिए पनि पुनः बिक्रीवितरण गरिरहेका छन्। खाद्यान्नको मूल्यको अनुगमन आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गर्छ। गुणस्तरको निरीक्षण भने खाद्य प्रविधिको क्षेत्राधिकारमा पर्छ। गुणस्तरसम्बन्धी अनुगमन खाद्यको क्षेत्राधिकार भएकाले केन्द्र र क्षेत्रीय कार्यालयबाट प्याकिङ गर्ने ठाउँमा नियमित अनुगन हुनुपर्ने हो। मिसावट गरिरहेको कमसल उत्पादन बेच्न नपाउँदा व्यवसायीले बेलाबेलामा खाने तेलमा कृत्रिम अभावसमेत गराएको इतिहास छ। केही ठूला व्यापारीले भाटमासको तेल आयात गरेर सनफ्लावरको लोगो र नाम राखेर प्याकिङ गर्दै बिक्री गर्दै आएको उपभोक्तावादीले बताएका छन् ।

उता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी राकेश पाण्डेले भने कम्पनीले तोरीकै तेल भए पनि ब्रान्ड, प्रविधिका आधारमा मूल्य निर्धारण गरेको बताउनुहुन्छ। तेल अत्यावश्यक वस्तुभित्र पर्ने र सबैको भन्सामा नभई नहुने पदार्थ हो । तर, सूचना अधिकारी पाण्डेले भने खुला बजारमा मूल्य निर्धारण गर्न नसकिने बताउनुभयो।

उपभोक्ता हित संरक्षण मञ्च नेपालको महासचिव विष्णुप्रसाद तिमल्सिनाले तेलका नाममा उपभोक्ता ठगिरहेको र यसमा सम्बन्धित निकायलाई भन्दा पनि वास्ता नगरेको बताउनुभयो। उहाँका अनुसार एउटै तेलको मूल्य फरक हुनु गुणस्तरहीनको शंका प्रस्ट देखिन्छ। त्यसै गरी उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले अध्यावश्यक वस्तुमा मूल्य निर्धारण गर्नुपर्नेमा नगरिँदा गुणस्तर र मूल्यमा उपभोक्ता ठगिएको बताउनुभयो । तेलमा मिसावट आएको भन्ने हामीले पनि सुनेका र त्यसलाई बजार अनुगमन गर्नुपर्ने बताउनुभयो ।


क्यान्सरजस्तो प्राणघातक रोग लाग्न सक्ने

प्रा.डा. ध्रुव गैरे
वीर अस्पताल

वाइल्स रेजिन नामक पदार्थ खाने तेलमा मिसाइएको हुन्छ । जुन जंगलमा पाइले विभिन्न वनस्पतिको चोपबाट तयार गरिन्छ । यस्ता पदार्थ तोरी, भटमास, सूर्यमुखी तेलमा मिसावट हुन सक्छ । यसले ग्यास्ट्रिक, पेट खराब, अपच, वाकवाक लाग्ने, मिर्गाैलासँग सम्बन्धित रोग लाग्ने, कलेजोमा असर गर्दै जाने, पखाला लगाउनेजस्ता रोग लाग्न सक्छ ।
यस्ता पदार्थको प्रयोग लामो समयसम्म गर्दा मिर्गाैला फेल हुने, क्यान्सर हुन सक्ने पनि देखिन्छ । नसा झमझम गर्ने, हातखुट्टा निदाउने, रगत र नसा टाँसिएर मष्तिस्कघातसम्म हुने तथा हार्टअट्याक हुने, प्यारालाइसिस हुनेजस्ता रोग देखा पर्दछन् ।


ट्रान्सफ्याट्टी एसिड सेवनले प्रत्येक वर्ष ५४ लाखको मृत्यु

विश्वमा औद्योगिक रूपमा उत्पादित ट्रान्सफ्याट्टी एसिडको सेवनका कारण प्रत्येक वर्ष ५४ लाख मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । ट्रान्सफ्याटको अत्यधिक सेवनले मुटु तथा रक्तनलीसम्बन्धी रोगबाट हुने मृत्युको जोखिमलाई उल्लेखनीय रूपमा बढाउने पनि सो संगठनले जनाएको छ । दक्षिण–पूर्वी एसिया क्षेत्रमा नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणलाई प्राथमिकता दिँदै, विश्व स्वास्थ्य संगठनले अन्य उपायसहित राष्ट्रिय खाद्य सामग्रीबाट ट्रान्सफ्याट्टी एसिड हटाउन राष्ट्रहरूलाई सहयोग गर्दै आएको छ ।

सन् २०२२ सम्म थाइल्यान्ड, भारत र बंगलादेशले खाद्यान्नमा ट्रान्सफ्याट्टी एसिड उन्मूलनका लागि नियमावलीहरु अवलम्बन गरेका थिए । इन्डोनेसियाले पूरक नीतिका लागि पहल गरेको थियो भने श्रीलंकाले सन् २०२३ मा नियमावली जारी गरेको थियो । नेपालले ८ फेब्रुअरीमा ट्रान्सफ्याट्टी एसिडसम्बन्धी कानुन जारी गरेको छ भने त्यसको कार्यान्वयन हुन सकेको छैन् । ट्रान्सफ्याट्टी एसिड उन्मूलन गर्नु भनेको मुटु तथा रक्तनलीसम्बन्धी रोगबाट हुने अकाल मृत्युलाई रोक्नका लागि एक प्रभावकारी उपाय भएको विश्व स्वास्थ्य संगठन, दक्षिण–पूर्वी एसियाका लागि क्षेत्रीय निर्देशक साइमा वाजेदले उल्लेख गर्नुभएको छ ।