करातेकै सबैभन्दा ठूलो गेममा पदक जित्ने सोच छ : एरिका गुरुङ

188
Shares

सानै उमेरमा कराते खेलमा लागेर १९ वर्षको उमेरमै एसियाली राष्ट्रहरूको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता एसियाली खेलकुदमा नेपाललाई करातेमार्फत् रजत पदक दिलाउने खेलाडी हुन् एरिका गुरुङ । सन् २०२३ को सेप्टेम्बर–अक्टोबरमा चीनको हाङचौमा सम्पन्न १९औं एसियाली खेलकुदअन्तर्गत महिला ६८ केजी प्लस तौल समूहको प्रतिस्पर्धामा उनले रजत पदक जितेकी हुन् । उक्त प्रतिस्पर्धाको फाइनलमा कजास्तानकी सन् २०२० को ओलम्पिक ब्रोन्ज मेडलिस्ट सोफिया बेरुलत्सेभासँग अंकको आधारमा पराजित हुनुअघि उनले क्वार्टरफाइनलमा जापानकी युजुकी सावोलाई गोल्डन स्कोरको आधारमा पराजित गरेकी थिइन् । बितेको २५ वर्षमा एसियाली खेलकुदको व्यक्तिगत इभेन्टमा नेपालले जितेको यो पहिलो रजत पदक हो । यसअघि सन् १९९८ मा सविता राजभण्डारीले तेक्वान्दोमार्फत नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी थिइन् । हाल नेपालटारस्थित एनआर कलेजमा स्नातक तहमा अध्यनरत एरिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै थुप्रै मेडल जितिसकेकी छिन् । मनमैजु डोजोबाट साढे नौ वर्षको उमेरमा खेल्न शुरू गरेकी उनले शुरूमा आफैंले पढेको शुभकामना इंलिश बोर्डिङ स्कुलमा निरज महर्जनसँग कराते सिकेकी हुन् । उनीसँग गरिएको कुराकानीको सारसंक्षेप :

राष्ट्रियस्तरको प्रतियोगिता पहिलो प्रतियोगिता ?
आठ वर्षअघि भएको ५०औं राष्ट्रिय कराते टुर्नामेन्ट मेरो पहिलो राष्ट्रिय प्रतियोगिता हो । त्यसबेला म सानै थिएँ, मलाई राष्ट्रिय प्रतियोगिता कस्तो हुन्छ भन्ने थाहा थिएन । ६८ केजीमाथिको तौल समूहको उक्त खेलमा त्रिभुवन आर्मी क्लबकी खेलाडीसँग नकआउटको आधारमा पराजित भएकी थिएँ ।

राष्ट्रिय प्रतियोगिताको पहिलो मेडल ?
नेपालगन्जमा भएको आठौं बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा कांस्य पदक जितेकी थिए । त्यसपछि वर्षैपिच्छे ललितपुरमा हुने कृष्णप्रसाद भट्टराई राष्ट्रिय कराते प्रतियोगिताको पहिलो संस्करणमा पनि तेस्रो भएँ । यही प्रतियोगिताको दोस्रो र तेस्रो संस्करणमा भने स्वर्ण पदक नै जिते । नवौं बृहत् राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेपछि भने म राष्ट्रिय टिममा परे ।

पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता ?
सन् २०१६ मा नेपालमा भएको १४औं इन्डो–नेपाल इन्टरनेसनल कराते च्याम्पियनसिपको महिला ५५ केजी तौल समूहमा ब्रोन्ज मेडल जितेकी थिएँ । नेपालभित्र भएका अन्तर्राष्ट्रिय प्रतियोगिता धेरै खेलेकी छु । सन् २०२३ को इन्डोनेसियाको जाकार्तामा भएको १०औं सितोरियो एसियन कराते च्याम्पियनसिप खेले । त्योचाहिँ मेरोभन्दा पनि हाम्रो टिमका लागि १९औं एसियाली खेलकुदको तयारी प्रतियोगिताजस्तै बन्यो । अहिलेसम्म त्यसमा कुनै पनि नेपाली खेलाडीले गोल्ड जित्न सकेका थिएनन् । त्यसको व्यक्तिगत इभेन्ट्सतर्फ गोल्ड मेडल र टिमतर्फ ब्रोन्ज मेडल पदक जित्ने म पहिलो नेपाली खेलाडी बनें ।

भविष्यमा के गर्ने सोच छ ?
पढाइ र करातेलाई सँगसँगै अगाडि बढाउँछु र करातेबाट नै केही गर्छु । धेरैभन्दा धेरै प्रतियोगिता खेली ¥याङकिङ बढाएर करातेकै सबैभन्दा ठूलो गेममा मेडल जित्ने सोच छ ।

डिजिटल डिभाइसले खेलाडीलाई कत्तिको सहयोग पु¥याएको छ ?
धेरै नै फाइदाजनक छ, नयाँ कुरा सिक्न पाइन्छ । म अहिले चार पटकमात्र विदेशमा खेल्न गएकी छु । तर, डिजिटल डिभाइसको सहयोगले विदेशी खेलाडीको खेल्ने तरिका, टेक्निक र कमीकमजोरी सबै मोबाइलमार्फत भिडियो हेरेर थाहा पाउँछु । डिजिटल डिभाइसले आफ्नो प्रतिद्वन्द्वीविरुद्ध आफूलाई तयार पार्न निक्कै मद्दत गरेकी छु भने आफ्ना कमीकमजोरी पनि सुधार्न सहयोग पुगेको छ ।

मनपर्ने कराते खेलाडी ?
मलाई आफ्नै गुरुहरू निरज महर्जन, कुशल श्रेष्ठ, सन्तोष श्रेष्ठलगायत केही विदेशी कराते खेलाडी पनि मनपर्छ ।

अरू मनपर्ने खेल ?
फुटबल । सानो बेलादेखि नै बुवा, दाइहरूले फुटबलमा रुचि राख्ने भएकाले म पनि फुटबलतिर आकर्षित भएँ । फुटबल म्याच हेर्ने गर्छु र कहिलेकाहीँ खेल्छु पनि । मेरो बुवा र दाइहरू अर्जेन्टिनाको लियोनल मेसीको फ्यान हुनुहुन्छ । उहाँहरूले मेसीको खेल हेर्नुहुन्छ, म पनि त्यसमा सामेल हुन्छु ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राप्त गरेका उपलब्धि:
सन् २०२४
८औं साउथ एसियन कराते च्याम्पियनसिप (भुटान): व्यक्तिगत र टिम फाइटमा गरी दुईवटा स्वर्ण पदक ।
युएस कराते ओपन च्याम्पियनसिप (टेक्सास, अमेरिका): महिला १८ देखि २१ उमेर समूहको व्यक्तिगत प्रतिस्पर्धामा स्वर्ण र १८ देखि ३४ उमेर समूहको प्रतिस्पर्धामा रजत पदक ।
सन् २०२३
१९औं एसियाली खेलकुद (हाङचौ, चीन):रजत पदक ।
१०औं सितोरियो कराते–डो इन्टरनेसनल च्याम्पियनसिप (जाकार्ता, इन्डोनेसिया): व्यक्तिगत कुमितेतर्फ स्वर्ण र टिम कुमितेतर्फ कास्य पदक ।
सन् २०१९
चौथो इन्टरनेसनल वादोरियो कराते च्याम्पियनसिप (बागलुङ, नेपाल): फ्री–वेट क्याटेगोरीतर्फ स्वर्ण ।
काठमाडौं ओपन इन्टरनेसनल च्याम्पियनसिप: महिला ६७ केजी तौल समूहमा स्वर्ण ।
सन् २०१८
पहिलो एपीएफ ओपन इन्टरनेसनल सोतो कराते च्याम्पियनसिप (नेपाल): ६८ केजी तौल समूहमा स्वर्ण पदक तथा प्रतियोगिताकै उत्कृष्ट महिला खेलाडी घोषित ।
चौथो माउन्ट एभरेस्ट इन्टरनेसनल कराते च्याम्पियनसिप (नेपाल): महिला ६८ केजी तौल समूहमा कास्य पदक ।
सन् २०१७
दोस्रो आईएमए इन्टरनेसनल ओपन कराते च्याम्पियनसिप (नेपाल): महिला टिम कुमितेतर्फ कास्य पदक ।
१५औं इन्डो–नेपाल कराते एन्ड किक बक्सिङ च्याम्पियनसिप (नेपाल):महिला ६५ केजी तौल समूहमा रजत पदक ।
सन् २०१६
१४औं इन्डो–नेपाल इन्टरनेसनल कराते च्याम्पियनसिप (नेपाल): महिला ५५ केजी तौल समूहमा कास्य पदक ।
एरिका गुरुङ
२० वर्ष
स्नातक तह (एनआर कलेज, नेपालटार )