कर्णालीका भूकम्प प्रभावितप्रति सरकार गम्भीर छ : गृहमन्त्री लेखक

752
Shares

काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले जाजरकोट, रुकुम पश्चिम र सल्यानका भूकम्प प्रभावितले चाँडोभन्दा चाँडो लाभ पाउने गरी काम गर्न सरकार गम्भीर रहेको बताएका छन् ।

आइबार राष्ट्रियसभा बैठकमा कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाको स्थलगत अध्ययन, अवलोकन तथा अनुगमन सम्बन्धि प्रतिवेदनमाथि भएको छलफलमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

उनले भने, ‘प्राकृतिक प्रकोपमा सबै तहले आ आफ्नो ठाउँमा काम गर्ने स्थिति बनोस् र सबैले समन्वयात्मक रुपमा काम गरेर चाँडो भन्दा चाँडो परिणाम आओस भनेर स्थानीय, प्रदेश र संघ सरकारलाई संलग्न गराउने गरी कार्यविधि र मापदण्डहरु बनेका छन्,’

भूकम्प पीडितको विवरण संकलन गरी सोको आधारमा राहत र अस्थायी आवास निर्माणका लागि रकम उपलब्ध गराइएको गृहमन्त्री लेखकको भनाइ छ । ‘रुकुम पश्चिममा पहिलो किस्ता प्राप्त गर्ने लाभग्राही परिवारको ३२ हजार ९ सय ९६ छ । जसका लागि रु ८२ करोड ४९ लाख वितरण गरिएको छ । हालसम्म जिल्ला विपद् कोषबाट १६ हजार लाभग्राहीका लागि दोस्रो किस्ता वितरण गर्न स्थानीय विपद् कोषमा रु ४० करोड पठाइसकिएको छ,’ उनले भने ।

जाजकोटमा ४८ हजार ५ सय १६ लाभग्राही मध्ये ४० हजार ४१ परिवारले पहिलो किस्ता प्राप्त गरिसकेका उनले बताए । उक्त प्रयोजनका लागि हालसम्म १ अर्ब १० लाख २५ हजार रकम भुक्तानी भइसकेको भन्दै मन्त्री लेखकले १ हजार ३९ परिवारले दोस्रो किस्ता बापत २ करोड ५७ लाख ७५ हजार भुक्तानी पाइसकेका बताए ।

जाजरकोटमा जिल्ला विपद् व्यवस्थापन कोषबाट हालसम्म एक अर्ब १८ करोड ४० लाख ७५ हजार रकम स्थानीय विपद् व्यवस्थापन कोषमा पठाइसकिएको उनको भनाइ छ । यस्तै सल्यानमा ४ हजार ४ सय १७ भूकम्प प्राविभत लाभग्राहीका लागि ५ करोड ४ लाख २५ हजार रकम पठाइएको उनले बताए ।

‘पछि थपिएका २ हजार ४ सय ६ लाभग्राहीका लागि रकम निकासा प्रक्रियामा रहेको छ । केही पालिकामा सुरुमा समाबिष्ट सबै परिवारले रकम पाउने स्थिति नरहेको भन्दै विस्तृत क्षति मुल्यांकनपछि स्थायी आवास पुनर्निमाणको कार्य अगाडि बढेको छ,’ उनले भए ।

गृहमन्त्री लेखकका अनुसार रुकुम पश्चिममा जोखिममा रहेका बस्ती तथा विस्थापित घरपरिवारहरुलाई स्थानीय तहहरुको समन्वयमा आफन्तकोमा र सुरक्षित आश्रय स्थलमा बसोबास गर्ने प्रबन्ध मिलाइएको थियो ।

‘मनसुनजन्य विपत्तिबाट मुत्यु, बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत वितरण गरिएको छ । जिल्लामा विभिन्न साझेदार संस्थाहरुको समन्वयमा भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि स्थानीय तहमा समुदायसँग परामर्श र छलफल भएको छ । जाजरकोटमा उच्च जोखिममा रहेका चार वटा बस्तीका ५० घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । सल्यानका १० वटै पालिकाका जोखिमयुक्त बस्तीको पहिचान गरिएको छ,’ उनले भने ।

तीन वटै जिल्लाका भूकम्प प्रभावित क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय तहले आफ्ना बार्षिक नीति तथा कार्यक्रम, वार्षिक योजना तथा बजेटमा विशेष प्राथमिकता दिएको गृहमन्त्री लेखकले बताए ।