पँधेरोमा बिरुडा धोएर गौरा भित्र्याइदैं

2.91k
Shares

डडेल्धुरा ।
सुदूरपश्चिमेलीहरुको मौलिक लोक पर्व गौरा अन्तर्गत आईतबार पधेरोमा बिरुडा धोएर गौरा भित्र्याउने काम एकै दिन भइरहेको छ । भदौ कृष्ण षष्ठी र सप्तमी तिथी एकैदिन परेकाले बिरुडा धुने र गौराको प्रतिमा बनाएर भित्र्याउने काम एकै दिन हुने स्थानीय संस्कृतिका जानकारहरुले बताएका छन् ।

षष्ठीको दिन पधेरोमा बिरुडा धुने कार्यलाई ‘नानी गौरा’ भनिन्छ भने सप्तमीको दिन गौरा भ्त्रियाउने कार्यलाई ‘ठूली गौरा’ का रुपमा मनाउने परम्परा छ । भदौ कष्ण षष्ठी र सप्तमी तिथी एकैदिन परेकाले आइतबार नानी गौरा र ठूली गौरा मनाइएको हो । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपित डा. टीएन जोशीका अनुसार शनिबार पञ्चमीका दिन विधिवत् भिजाइएका बिरूडालाई षष्ठीका दिन ब्रतालु महिलाहरू गाउँकै पवित्र जलासयमा गएर फाग र माङ्गल गाउँदै धुने काम गर्छन ।

बिरूडा धोई सकेपछि ब्रतालु महिलाहरू गौरा महेश्वरको पूजा अर्चना हुने घरको आँगनस्थित तुलसी मठमा जम्मा भइ बलु नामको एक प्रकारको वनस्पतिको पूजा गर्छन । अमुक्ताभरण सप्तमी पनि आईतबार परेकोले ब्रतालुहरूले गौरा घरमा गौरा भि¥याउने स्थानीय संस्कृतिका जानकार कैलाशकुमार पाण्डेयले बताए ।

उनका अनुसार नानी गौराको दिन वनस्पतिको प्रयोग गरी गौराको प्रतिमूर्ति बनाई पानीको मुहान, धारा तथा तलाउमा लगेर गौराको पूजाआजा गर्ने गरिन्छ । यस्तै ठूली गौराको दिन व्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याउछन । गौरा र महेश्वरको प्रतिमूर्ति स्थापना गरेर फलफूल र बिरुडाले गौरादेवीको पूजा पनि गर्ने गरिन्छ ।

अमुक्ताभरण सप्तमीको दिन ब्रतालु महिलाहरुले बिशेषप्रकारको सप्तमी धागो धारण गर्ने परम्परा छ । सप्तमीकै दिन व्रतालु महिलाहरुले धारण गर्ने विशेष प्रकारको धागो अर्थात् दुबधागो पनि गौरादेवीमा चढाइन्छ । यसका साथै साँझ व्रतालुहरुले कुण्ड स्नान गर्ने चलन छ । आज गौरादेवीमा चढाएको दुबधागोलाई दुर्वाष्टमी अर्थात् अठेवालीका दिन व्रतालु महिलाहरुले धारण गर्दछन् । गौरा पर्वको महत्वपूर्ण दिन मानिने अष्टमी तिथीका दिन ब्रतालु महिलाहरुले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने चलन छ । यसलाई स्थानीय भाषामा अठेवाली भनिन्छ ।

बिरुडा पञ्चमीको दिन गौरा सुरु भएसँगै सुदूरपश्चिममा डेउडा, चैत, धुमारी खेल्न थालिएको छ । यहाँका बस्तीहरुमा गौरा पर्वको रौनक छाएको छ ।