तीज गीत कस्ता बने !


काठमाडौं ।

गायिका कविता अर्यालको तीजका गीत कस्ता बने बोलको गीत ललितपुरमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालद्वारा आयोजित एक समारोहबीच प्रमुख अतिथि लोकगायक तथा फिल्म निर्देशक नारायण रायमाझी, प्रतिनिधिसभा सदस्य सोबिता गौतमबाट लोकार्पण गरिएको छ।

प्रमुख अतिथि नारायण रायमाझीले तीजका गीतमा पहिले चेलीको कथा आउने गरेको तर अहिलेका गीतमा त्यो मर्म नभेटिएको भन्दै सुध्रिनुपर्नेमा जोड दिए। ‘केही समय अघिसम्म दुर्गेश थापाको गीत आउ“दा विकृति ल्यायो भन्थे, तर अहिले तीभन्दा कस्ता कस्ता गीत आएका छन्। जुन गीत सुन्न पनि अप्ठ्यारो लाग्छ,’ रायमाझीले भने, ‘समाजमा बसिसकेपछि समाजमा पचाउने गीत बनाउनुपर्छ।’

यस्तै, सांसद सोबिता गौतमले पछिल्लोसमय विकृति फैलाउने गीत आइरहेको चर्चा गर्दै समाज बनाउने जिम्मा राजनीतिज्ञको मात्र नभई सबैको दायित्व भएको बताइन्। ‘कला क्षेत्रमा रहेका व्यक्तिले समाज परिवर्तनमा ठुलो भूमिका खेल्छन्। त्यसैले कलाकर्मीले विशेष ध्यान दिनुपर्छ। लोकतन्त्र भन्दैमा मनपरि गर्न पाईंदैन, समाजलाई बिथोल्न पाइंदैन,’ उनको भनाइ थियो, ‘फिल्मलाई नियमन गर्न सेन्सर गर्ने निकाय छन्। यस्तै, गीतसंगीतलाई पनि नियमन गर्ने निकायको आवश्यक महसुस भएको छ।’

कार्यक्रममा आयोजक संस्थाका संस्थापक अध्यक्ष गोविन्द गिरीले पहिले चेलीका बेदना तीजका गीतमा आउने गरेको तर अहिले उत्ताउला र उट्पट्याङ गीतलाई तीज गीतको नाम दिने गरिएको बताए। चलचित्र पत्रकार संघका उपाध्यक्ष कुबेर गिरीले पछिल्लो समय गीतहरू व्यावसायिकतामा बढी केन्द्रित भएकाले विकृति आएको चर्चा गर्दै श्रृष्टाले नै सेन्सर गर्नुपर्ने बताए। गायिका कबिता अर्यालले तीज गीतमा संस्कृति र मौलिकता झल्किनुपर्ने बताइन्।