चरिकोटमा चार जिल्लाको लाखेनाच (तस्वीरसहित)

1.6k
Shares

दोलखा ।

दोलखा सदरमुकाम चरिकोटमा चार जिल्लाको १० भन्दा बढी लाखेनाच प्रर्दशन गरिएको छ । सांस्कृतिक परम्परा आदान– प्रदान गर्न र पर्यटन प्रर्वद्धनको लागि भीमेश्वर नगरपालिकाको सहयोगमा लालिगुँरास युवा क्लब चरिकोटले लाखेनाच प्रर्दशनी कार्यक्रमको आयोजना गरेको अध्यक्ष प्रबिण श्रेष्ठले बताए ।

विहिवार सदरमुकाम चरिकोटमा दोलखा जिल्लाको चरिकोट, जिरी र लापिलाङ, रामेछापको मन्थली, चिसापानी र भंगेरी, काभ्रेपलाञ्चोकको धुलिखेल, काठमाण्डौको मच्छेगाँउ लगायतबाट १० भन्दा बढी लाखेनाच प्रर्दशन गरिएको थियो ।
लाखेनाच प्रर्दशन कार्यक्रममा दोलखा लगायत छिमेकी जिल्लाबाट सयौ मानिस सहभागि भएका थिए । प्रर्दशनमा आएका सबै लाखेले चरिकोट बजार परिक्रमा गरेपछि सातदोबाटो चोकमा पालैपालो नाच प्रर्दशन गरिएको क्लबका सचिव बिपिन श्रेष्ठले बताए ।

यस अघि सदरमुकाम चरिकोटमा काठमाडौँ मच्छेगाँउको लाखेभने एक दिन प्रर्दशन गरिदै आएको थियो । लालिगुँरास युवा क्लबले चरिकोट गुठीको सहकार्यमा प्रत्येक बर्ष गठेमङ्गलदेखी कृष्ण जन्माष्टमीको भोलीपल्टसम्म चरिकोट बजारमा लाखेनाच प्रर्दशन गर्दै आएको छ । झण्डै डेढसय बर्ष अघि चरिकोट पुरानो बजारमा नेवार समुुदायको वसोबास सुरु भएपछि बिभिन्न पर्व तथा जात्राको सुरुवात भएको हो ।

ऐतिहासीक दोलखा सहरमा प्रर्दशन गरिने लाखेनाचको सिको गर्दै २०१६ सालबाट सदरमुकाम चरिकोटमा समेत लाखेनाच प्रर्दशन सुरु गरिएको चरिकोट गुठीका अध्यक्ष रामदास श्रेष्ठले बताए । भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वरनारायण मानन्धर झण्डै ६५ बर्ष अघिदेखी सुरु भएको लाखेनाचले सदरमुकामको रौनक बढाएको उल्लेख गर्दै सांस्कृतिक विकास र जात्रा– पर्वहरुको संरक्षण, प्रवद्धनमा नगरपालिकाले सहयोग गर्ने बताए ।

सदरमुकाम चरिकोटमा लाखेनाच प्रर्दशन अघि गठेमङ्गल (घण्टाकर्ण) को बेलुका नाट्यस्वीको पुजा गरेर परालको राक्षस बनाई बजार घुमाएर चोकमा जलाउने प्रचलन रहेको छ । घण्टाकर्ण राक्षसले बच्चालाई दुख दिने गरेकोले यसरी गठेमङ्गल (घण्टाकर्ण) को दिन त्यसलाई सबैको अगाडि जलाईएको किंवदन्ती पाईन्छ ।

त्यसरी घण्टाकर्णको दिन परालको राक्षसलाई जलाएपछि भोलिपल्टबाट लाखेनाच प्रर्दशन गरिने र कृष्ण जन्मष्टमीको भोलिपल्ट राति १२ बजे कृष्णले चक्रले हानेर लाखेलाई मारेपछि एक बर्षको लागि लाखेनाच अन्त्य गरिने प्रचलन रहेको लालिगुँरास युवा क्लबका अध्यक्ष श्रेष्ठले बताउछन् ।

क्लबले चरिकोटमा प्रर्दशन गरिने लाखेनाचलाई जिल्लाको जिरी, मैनापोखरी, किर्नेटार, मागादेउराली, सिंगटी, काठमाडौँको मच्छेगाँउ र चितवनमा समेत प्रर्दशनको लागि लगेको र सोहि क्रममा यो बर्ष अन्य जिल्लाको लाखेनाच समेत चरिकोटमा प्रर्दशनको लागि ल्याउने कार्यक्रम बनेको क्लबका सचिव बिपिन श्रेष्ठले बताए ।

चरिकोटमा बिभिन्न जिल्लाको लाखेनाच प्रर्दशन गरिदा सांस्कृतिक आदान– प्रदानसंगै सदरमुकामको आर्थिक विकासमा समेत टेवा पुग्न सक्ने उद्योग बाणिज्य महासंघको पूर्व केन्द्रीय सदस्य रामेश्वर मानन्धर बताउछन् ।