पिपल्स च्वाइसको मनोनयन सार्वजनिक

7.14k
Shares

काठमाडौं ।

पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस विधाको मनोनयनमा परेका पाँच जना खेलाडी नाम सार्वजनिक गरिएको छ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार सार्वजनिक गरेको मनोनयन सुचिमा गुलशनसँगै राष्ट्रिय खेल भलिबलकी कविता भट्ट, कबड्डीकी मानमती बिष्ट र फुटबलकी प्रीति राई तथा रग्बीका श्रीराम श्रेष्ठको नाम छ ।

मनोनयनमा पर्ने पाँच मध्ये एक जनालाई यही भदौ २८ गते हुने अवार्ड कार्यक्रममा पल्सर मोटरसाइकलसहित पुरस्कृत गरिने मञ्चले जनाएको छ । पिपल्स च्वाइस विधाको विजेता मञ्चका सदस्य र राष्ट्रिय प्रशिक्षक तथा इ(सेवा र फेसबुक पेजमा खेलप्रेमीले गर्ने मतका आधारमा चयन हुनेछ ।

खेलप्रेमीले इ(सेवामा गरेको मतको मतभार ५० प्रतिसत, फेसबुकमा गरेको मतको भार २५ प्रतिसत तथा खेल पत्रकार र राष्ट्रिय प्रशिक्षकको मतको भार समान १२।५ प्रतिसत हुने मञ्चका महासचिव एवं अवार्डको खेलाडी छनोट समितिका संयोजक प्रज्जवल ओलीले शुक्रबार मनोनयन सार्वजनिक गर्ने क्रममा जानकारी गराए ।

नेपाली खेलकुदकै सबभन्दा ठूलो अवार्डका रुपमा स्थापित पल्सर स्पोर्टस अवार्डमा मञ्चले यसपाली १० विधा समावेश गरेको छ । जसअनुसार वर्षको उत्कृष्ट पुरुष खेलाडी, महिला खेलाडी, युवा खेलाडी, प्रशिक्षक र पिपल्स च्वाइस विधा छन् । यसैगरी पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड र टिम अफ दी इयर विधा पनि अवार्ड कार्यक्रममा समावेश हुनेछन् ।

उत्कृष्ट घोषित हुने पुरुष, महिला, युवा खेलाडी तथा प्रशिक्षकले पुरस्कारस्वरुप पल्सर एनएस २०० मोटरसाइकल प्राप्त गर्नेछन् भने पिपल्स च्वाइस विधाका विजेताले पल्सर एनएस ४०० पाउने मञ्चले जनाएको छ । यसैगरी अन्य विधाका विजेताले जनही १ लाख रुपैयाँ पाउने बताइएको छ । पिपल्स च्वाइस विधाको लागि भोटिङ पार्टनरका रुपमा मञ्चले शुक्रबारै इ(सेवासँग सम्झौता गरेको छ ।