परराष्ट्रमन्त्रीले गराइन् केन्द्रीय समितिलाई भारत भ्रमण सफल भएकाे जानकारी


काठमाडौं ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली कांग्रेसको केन्द्रीय समितिलाई हालैको आफ्नो भारत भ्रमण सफल भएको जानकारी गराएकी छन् ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा राणाले आज बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै आफूले यही भदौ २ देखि ६ गतेसम्म गरेको भारत भ्रमण सफल भएको जानकारी दिएकी हुन् ।

नेपाल र भातरबीचको आपसी सद्भाव अभिवृद्धि गर्न यस भ्रमणले उल्लेखनीय भूमिका निर्वाह गरेको जानकारी दिइन् ।

कांग्रेस केन्द्रीय समितिको आजको बैठकमा उनले यस भ्रमणबाट दुई मुलुकका बीचमा रही आएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई मजबुत तुल्याउन योगदान पुगेको विश्वास आफूले लिएको पनि बताइन् ।

उनले नेपालमा ठूला पार्टी मिलेर बनेको स्थायी प्रकृतिको सरकारलाई भारतले राम्रो ‘रेस्पोन्स’ गरेको आफूले पाएको अनुभव सो बैठकमा सुनाएकी छन् ।

भ्रमणका क्रममा गत सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँ दिल्लीमा शिष्टाचार भेट भएको र त्यस भेटका क्रममा आपसी हित तथा विद्यमान सहकार्यलाई थप विस्तार गर्ने वषयमा विचारको आदानप्रदान भएको उनले जानकारी दिइन्।

त्यस भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भारतका प्रधानमन्त्री मोदीलाई नेपालको राजकीय भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण गरेको र प्रधानमन्त्री मोदीले उपयुक्त समयमा आफू नेपाल आउने बताएको जानकारी मन्त्री डा.राणाले दिए ।

सोही दिन विदेशमन्त्री एस.जयशङ्करसँग भएको भेटवार्तामा आपसी हितका साथै उर्जा, व्यापार तथा पारवहन, कनेक्टिभिटी, लगानी, हवाई मार्ग, पूर्वाधार निर्माण, बाढी तथा डुबान समस्या, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, खेलकूद, सीमा पूर्वाधार लगायतका विषयमा कुराकानी भएको उनले जानकरी गराइन् ।